राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन सम्वन्धमा जानकारी मागेको छ । राखेपले आगामी २०७४ चैत १४ गते काठमाडौंमा हुने एन्फाको केन्द्रीय कार्य समितिको निर्वाचन स्थगित भएको सम्वन्धि एन्फासंग जानकारी मागेको हो । खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापाले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ परिषदको सचिवालय र संघसंस्था समन्वय शाखामा पठाईएको छ ।
राखेपले विभिन्न सञ्चारमाध्यम एवं पत्रपत्रिकामा एन्फाको निर्वाचन स्थगित भएको प्रकाशित समाचार र एन्फाबाट राष्ट्रिय दैनिक पत्रपत्रिकामा जारी सूचना मार्फत परिषद्लाई जानकारी प्राप्त हुन आएको हुँदा सो विषय उपर परिषद्को ध्यानाकर्षण भएको एन्फालाई पत्राचार गरेको पत्रमा उल्लेख गरेको छ ।
साथै त्यस संघबाट राष्ट्रिय दैनिक पत्र पत्रिकामा ‘१६ औं एन्फा कंग्रेस (साधारण सभा) बैठक तथा एन्फा कार्यकारिणी समितिको निर्वाचन स्थगित भएको प्रकाशित सूचना’ अनुसार भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष समेतले श्री उच्च अदालत पाटन, ललितपुरमा दायर गर्नु भएको रिट निवेदन अनुसार मिति २०७४-१२-०८ गतेका दिन उक्त अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म मिति २०७४ चैत १४ गते हुने कार्यकारिणी समितिको निर्वाचन नगर्नु, नगराउनु भनि आदेश जारी भए बमोजिम निर्वाचन स्थगित गरिएको बुझिन आएको हुँदा सो सम्बन्धमा के भएको हो ? परिषद्लाई किन जानकारी नगराउनु भएको हो ? भन्दै अविलम्व स्पष्ट जानकारी गराउन एन्फालाई निर्देशन दिएको छ ।
त्यस्तै सम्मानित अदालतबाट भएको आदेशको समेत सम्मान हुने गरी यथाशीघ्र विवाद समाधान गरी १६ औं एन्फा कंग्रेस (साधारण सभा) बैठक तथा एन्फा कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया