चन्द्र सूर्यअङ्कित झन्डा कसरी भयो नेपालको राष्ट्रिय ध्वजा

चन्द्र सूर्यअङ्कित झन्डा कसरी भयो नेपालको राष्ट्रिय ध्वजा


एकीकरण भएर नयाँ नेपाल अधिराज्यको शिलान्यास भएको थियो । अब यस नयाँ नेपाल अधिराज्यको राजधानी बनाउनाका निमित्त विचार हुँदा गोर्खालाई राजधानी गराउँदा एक त तिबतमा आवतजावत गर्ने मुख्य भएको खासा कुतीको बाटो टाढा पर्ने उसमाथि राजधानी टाढा भएपछि बनिबनाउ भइरहेका काठमाडौं आदि तीन शहर उजाडिने र त्यस्ता शहर गोर्खामा बन्न गाह्रो हुनाले गोर्खालाई राजधानी नबनाई काठमाडौं उपत्यकाका तीन शहरमा एक शहर छान्नुपरेको थियो ।

भक्तपुरमा मुख्य देवता दत्तात्रेय भएका र यिनको स्थापना ज्यादै पछि भएको हुनाले राम्रो मान्यता पाउन सकेका थिएनन् । काठमाडौं उपत्यकाका मुख्य तीन नदीहरूमा पहिले बाग्मतीको, दोस्रो विष्णुमतीको र तेस्रो स्थान मनोहराको थियो । भक्तपुर शहर नगीचै यो नदी पनि शहरबाट टाढा भएको र मनोहराजत्तिको नदी पनि अर्को नभएको, त्यहाँ शिल्पकला र व्यापार पनि नभएको हुनाले यो शहर राजधानी बनाउन उपयुक्त देखिएन ।

ललितपुर शहरमा सिद्धिनरसिंह मल्लदेखि चलेको ठकुराइमा तीन पुस्तादेखि राम्ररी राजवंश चल्न नसकेको हुनाले यो शहर पनि राजधानीका निमित्त उपयोगी देखिएन । बाग्मती र विष्णुमतीका बीचमा रहेको काठमाडौं शहर नेपालको सबभन्दा पुरानो शहर भएको र हिन्दुस्थानभरमा पनि प्रख्यात भएको पशुपतिको मूर्ति र सुवर्णाच्छादित भव्य मन्दिर पनि यहाँ भएको हुनाले यसै शहरलाई राजधानी गराउने ठहर भक्तपुर दखल भएकै समयमा गरिएको थियो ।

तर, काठमाडौंमा बनिरहेका अघिल्ला र पछिल्ला दुई राजदरबारमा राजा प्रताप मल्लले बनाएका मोहनचोक दरबार उनका उत्तराधिकारीकै समयदेखि अफाप सिद्ध भई राजा जयप्रकाश मल्ल रहेको पछिल्लो पनि कुनै राजालाई पनि नफापेको हुनाले यिनै दरबारहरू रहेका ठाउँनेर तेस्रो राजदरबार बनाउने काम श्री ५ पृथ्वीनारायण शाहले भक्तपुर दखल हुनेबित्तिकै शुरू गराएका थिए । प्रताप मल्लले बनाएका मूलढोकामा रक्षक भएर हनुमानको मूर्ति रहेको हुनाले यस मूलढोकालाई छोड्न नसकी नासलचोकदेखि आग्नेयपट्टि रहेको भण्डारखाल बगैंचाको केही भाग लिएर पूर्व–पश्चिम लम्बाई भएको जमीनबाट ३५ मिटर उचाइ र पूरा नौ तला भएको वसन्तपुर नामक राजपूतशैलीको, नेपाली काष्ठकलाले सुशोभित भव्य राजदरबार श्री ५ पृथ्वीनारायण शाहले बनाउन लगाएका थिए ।

यस राजदरबारमा नुवाकोट र लामीडाँडा इलाकाबाट आएका अग्राख र चाँपका काठ, कीर्तिपुरका डकर्मी, ललितपुरका सिकर्मी र लोकर्मी (लोहकर्मी) र भक्तपुरबाट आएको पँचामाटो उपयोग गरिएको देखिन्छ । हुन त राजपूतानाका मैदानतिर बनेका राजदरबारहरूभन्दा यो राजदरबार सानू थियो । तर, श्री ५ पृथ्वीनारायण शाह ठूला दरबारमा रहन नचाहने हुनाले उनले आफ्ना इच्छाअनुसारको राजदरबार बनाएर तयार गराएका थिए । राजदरबार बनेर तयार भएपछि शुभमुहूर्तमा २१ मार्च, १७७० का दिन आफ्नी महारानी नरेन्द्रलक्ष्मी, युवराज प्रतापसिंह शाह, यिनकी महारानी राजेन्द्र लक्ष्मी र महाराजकुमार बहादुर शाहका साथ श्री ५ पृथ्वीनारायण शाहले यस राजदरबारमा प्रवेश गरे ।

राजाका निमित्त राजदरबारमा सिंहासन रहनु अनिवार्य हुनाले गोर्खाको राजसिंहासन यसै राजदरबारमा ल्याएर राखियो र यस मितिदेखि नेपाल अधिराज्यको राजधानी काठमाडौं शहर बनेर आएको छ । राजाका साथ रहने अनिवार्य वस्तुहरूमा सेतो चमर, सेतो छाता (मैनकपडाको) र राजध्वज हुन्छन् । चमर र छातामा विशेष चिह्न नहुनाले आकारप्रकार बदलिन सक्तछन् । तर, राजध्वजका रङ्ग, चिह्न र आकारप्रकार हत्तपत्त बदलिँदैनन् । राजध्वज जति स्थिर रह्यो । राजवंश उति स्थिर रहन्छ भन्ने धारणा हिन्दू राजवंशमा चलिआएको छ । श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरका पछिल्ला मल्लवंशका पहिला राजा स्थिति मल्लले तयार गरेको हिन्दूजातिका जातीय रङ्ग रातो भएको तूलको माथिल्ला पताकामा चन्द्रविम्बको र तल्ला पताकामा सूर्यविम्बको आकृति भएको तीनकुने दुई पताका भएका राजध्वजलाई आफ्ना राजध्वजका रूपमा अपनाए ।

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)