भारतमा मोदी उदाएपछि नेपालमा केपी-लहर

भारतमा मोदी उदाएपछि नेपालमा केपी-लहर


– राजेन्द्रप्रसाद पाठक

इ.सं. १९४७ मा भारत अङ्ग्रेज साम्राज्यबाट जब स्वतन्त्र भयो सोही समयदेखि भारतीय काङ्ग्रेसले झन्डै एकलौटी ढङ्गबाट शासनसत्ता सम्हाल्दै आएको थियो । यदाकदा छिटफुट मात्रै अन्य पार्टीले नगन्य अवसर पाएका थिए, त्यो पनि कोलेसन पार्टनरका हैसियतमा मात्र । विगत तीन वर्षयता आएर मात्र भाजपाको एकलौटी सरकार गठन भएको हो । भारतमा भाजपाको एकलौटी सरकार आउँदै गर्दा हालका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नै भाजपाको प्रोजेक्टेड प्रधानमन्त्री थिए । त्यसैले भारतीय केन्द्रीय चुनाव मोदीमय भएको थियो । विगत लामो समयदेखि भारत सरकारको साँचो–ताला सम्हाल्दै आएको कांग्रेस सरकारको रवैयाले जनता हैरान भइसकेका थिए । करोडौँ गरिबको बसोवास भएको साथै करोडौँको सङ्ख्यामा बेरोजगारी उल्झनले सताइएको देशमा स्वतन्त्रतासँगै कति आशाभरोसा पलाए होलान् र कति निमोठिए होलान् । भारतीय जनताले आशा र विश्वासचाहिँ गुमाइसकेका रहेनछन् । यदि भारतीय जनताको आशा र विश्वासले स्थान छोडेको हुन्थ्यो भने भारतले लोकतन्त्रसमेत गुमाइसकेको हुने थियो सायद ।

एउटा लामो राजनीतिक पर्खाइ र अन्तरालले मोदीजस्तो आशा र भरोसाको केन्द्र जन्मायो । जब गुजरात मोदीको व्यवस्थापनले विकसित हुँदै थियो त्यस्तो बेला भाजपाले मोदीलाई आफ्नो पार्टीको ‘प्रोजेक्टेड प्राइमिनिस्टर’का रूपमा उम्मेदवार बनाएर अघिसार्नु नै आज समृद्ध भारतको परिकल्पनाले साकार रूप लिन थाल्नुको एक कारण हो । जब भारत मोदीमय भयो, साथै भाजपा गठबन्धनले पूर्ण बहुमत ल्यायो, तब विगतको सत्तारुढ कङ्ग्रेस पार्टीले झिनो प्रतिपक्षका रूपमा खुम्चनुपऱ्यो । मोदीको उदयले भारतीय राजनीतिमा मात्रै तरङ्ग पैदा गरेन विश्व समुदायमा नै भुइँचालो ल्याउन सफल भयो । यसरी संसारभरिको ध्यान भारतमाथि केन्द्रित भयो । भारतमा मोदीले सत्ता परिवर्तनको मात्र खेल खेलेनन्, जनताले आशा गरेअनुरूपका योजनासमेत ल्याएर मग्न तुल्याइदिएका छन् । भारतीय युवा जमातको ढुकढुकी बन्न सफल भएका मोदीले आफ्नो छोटो कार्यकालभित्रै सम्पन्न गर्न सफल भएका योजनाहरू निकै छन् । जस्तो कि,

१. जन–धन योजना, जुन योजनाले झन्डै एकतीस दशमलव एकतीस करोड जनता लाभान्वित भएका छन् । जसका कारण भारतको बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्न जनतालाई प्रेरित गरेको छ । बैंकिङ प्रक्रियामा जानका लागि लगाइएको झन्झटबाट जनता मुक्त भएका छन् ।

२. जीएसटी, यसअन्तर्गत एक देश, एक ट्याक्स, एक मार्केट प्रणाली लागू भएको छ । यसले राजस्वमा हुने चुहावटका साथै देशभित्र र बाहिर हुने आर्थिक अपचलनलाई अन्त्य गरेको छ ।

३. उज्ज्वला योजना, जसका कारण दुई करोड परिवारले धुवाँ आउने चुलोबाट खाना बनाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । ग्यासको सिलिन्डर वितरण गर्ने काम सरकारले सम्पन्न गरेको छ ।

४. स्वच्छ भारत अभियान, यसबाट देशको ६८ प्रतिशत गाउँ खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । यसले करोडौँ महिला तथा बालबालिकालाई प्रत्यक्ष राहत पुगेको छ ।

५. सौभाग्य योजना, यसका कारण देशको अठार हजार ६ सय गाउँमा बिजुलीबत्तीको बन्दोबस्त सरकारबाट सम्पन्न भएको छ ।

६. सडक निर्माण योजना, जसअन्तर्गत २४ हजार ६ सय किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

७. आतङ्कवादीमाथि कारबाही, सर्जिकल स्ट्राइकअन्तर्गत पाँच सय ७६ आतङ्कवादीमाथि कारबाही भएको छ ।

८. भ्रष्टाचार उन्मूलन, जसका कारण ३९ हजार करोडको बेनामी सम्पत्तिमाथि सरकार हाबी भएको छ ।

९. नोटबन्दी योजना, यस योजनाले भ्रष्टाचार, अनाचार र राजस्व नतिरेर अवैध रूपमा लुकाइछिपाई राखेको सम्पत्तिलाई बाहिर ल्याई देशमा भएको धनको एकीकरणलाई विकेन्द्रित तुल्याउने काम भएको छ ।

यी कार्यबाट आगामी चुनावमा समेत भारत मोदीमय हुने सुनिश्चित मान्न थालिएको छ । मोदीका यी कामको चर्चा यहाँ गरिनुको तात्पर्य देश र जनताको हितमा के गर्नुपर्छ भन्ने छिमेकबाट नेपालले पनि सिक्नु र अनुकरण गर्न सकोस् भन्ने नै हो ।

कम्युनिस्टभित्र पनि अत्यन्त कल्पनाशील र उच्च मनोबल भएका अब्बल व्यक्तित्वका रूपमा केपी शर्मा ओलीको राजनीतिक उदय भएसँगै नेकपा एमालेले केपीकै नेतृत्व स्वीकार गर्नु र केपीले नै कम्युनिस्ट गठबन्धनको नेतृत्व गरेर चुनावअगावै प्रोजेक्टेड प्रधानमन्त्री घोषणा हुन सक्नु उनको अर्को सफलता मान्न सकिन्छ । नेपालभरि नै छरिएर रहेको कम्युनिस्ट शक्तिलाई एकाकार मात्र होइन केही समय अगाडिसम्म नै एमालेलाई विश्वास नगर्ने मधेसी दलहरूसमेत उनीमाथि विश्वस्त रहनु केपीको महत्वपूर्ण राजनीतिक चातुर्यता हो ।

जसरी भारतमा बेलायतीहरूमाथि शुरु भएको भारत छोडो आन्दोलन सफल भएर भारत स्वतन्त्र भयो त्यसको ठीक तीन वर्ष नबित्दै नेपालमा उनै बेलायतीहरूको आडमा टिक्न सफल भएको राणातन्त्र समाप्त भएर नेपालमा समेत प्रजातन्त्र आएको थियो । तर, त्यो त्यति लामो समयका लागि टिकाउ हुन भने सकेन । राजा महेन्द्रको चतुर खेलले तीस वर्षसम्म पञ्चायती व्यवस्था लागू हुन सफल भयो । पञ्चायतको शुरु हुनुअगावै र प्रजातन्त्र पुनस्र्थापनापश्चात् झन्डै एकछत्र राज गर्न सफल भएको नेपाली काङ्ग्रेस पार्टीसमेत भारतीय काङ्ग्रेस पार्टीको प्रतिछायाजस्तै साबित भएको छ । किनकि जब–जब भारतमा भारतीय कङ्ग्रेस कमजोर भएको छ तब–तब नेपाली काङ्ग्रेस यता कमजोर साबित भएको छ । धेरैपल्ट नेपाली जनताको विश्वास जित्न सफल नेपाली काङ्ग्रेस पार्टीले तीनपल्टसम्म बहुमत हासिल गर्न सफल भएर पनि जनताको इच्छा पूरा गर्न भने असफल भएकै कारण देशमा कम्युनिस्ट गठबन्धन सफल भएको हो भन्ने धेरैको अनुमान छ ।

कम्युनिस्टभित्र पनि अत्यन्त कल्पनाशील र उच्च मनोबल भएका अब्बल व्यक्तित्वका रूपमा केपी शर्मा ओलीको राजनीतिक उदय भएसँगै नेकपा एमालेले केपीकै नेतृत्व स्वीकार गर्नु र केपीले नै कम्युनिस्ट गठबन्धनको नेतृत्व गरेर चुनावअगावै प्रोजेक्टेड प्रधानमन्त्री घोषणा हुन सक्नु उनको अर्को सफलता मान्न सकिन्छ । नेपालभरि नै छरिएर रहेको कम्युनिस्ट शक्तिलाई एकाकार मात्र होइन केही समय अगाडिसम्म नै एमालेलाई विश्वास नगर्ने मधेसी दलहरूसमेत उनीमाथि विश्वस्त रहनु केपीको महत्वपूर्ण राजनीतिक चातुर्यता हो । बोलीले सबैलाई सन्तुलनमा राख्दै युवाहरूको मन जित्न सक्नु ओलीको सबैभन्दा ठुलो खुबी मान्न सकिन्छ । अझ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवापत्नीको राजनीतिक, संवैधानिक र सुरक्षाका पदका व्यापारले चरम रूप लिएको र सिङ्गोे नेपाली काङ्ग्रेस पार्टी त्यसको मूकदर्शक भएर होस्टेमा हैँसे गर्दै तिनै आरजु म्याडमको साडीको फेरो समाएर वैतरणी तर्ने सपना र कल्पना बुन्दै अघि बढ्ने सोचको निर्माणले पनि कांग्रेसलाई निकै नै पछि पारेको हो भन्ने बुझाइ धेरैको अझै छँदै छ ।

समग्रमा काङ्ग्रेस नातावाद, कृपावाद र नगदनारायणभन्दा पर जान सकेन भन्ने अर्को आरोप जनसमुदायमा छँदै छ । राजदूत नियुक्तिदेखि विभिन्न मन्त्रालयको महत्वपूर्ण निर्णयमा समेत देउवापत्नी आरजुको प्रत्यक्ष सहभागिता हुने गर्दथ्यो भन्नेहरूको खण्डन कतैबाट हुन सकेको छैन । अर्काथरीले आरजु युरोपियन युनियनको रकम लिएर आईएनजीओको नाममा क्रिश्चियन धर्मको संरक्षण गर्दै आएको आरोपले समेत काङ्ग्रेसलाई धक्का लागेको हो भन्नेहरूको समेत कमी छैन । उनका विभिन्न छद्मभेषी व्यवहारका साथै फुटाऊ, कमाऊ र राज गर भन्ने राणाकालीन शैलीको सोच र त्यसको व्यावहारिक रूपान्तरणसमेत अर्को कारण थियो भन्नेहरू पनि प्रशस्तै छन् । त्यति मात्र नभई पार्टीभित्रको गुटले सिफारिस गरेकाहरूलाई मात्र दिइएको चुनावी टिकटले जनताको प्रतिनिधित्व गर्नेहरूसम्म पहुँच राख्न नसकेको गुनासो गर्नेहरूको समेत कमी नरहेको भनाइ यत्रतत्रै भेटिन्छ ।

माथि उल्लेखित सबै विषय पुष्टि गर्ने यथेष्ट कारण नहुन पनि सक्दछन् । तर, युगान्तकारी राजनीतिक परिवर्तनका कारण पलाएको जनचाहना काङ्ग्रेसी काम गराइले समयमै सम्पन्न हुन नसक्ने बोध भने जनतामा भएकै हो । लामो समयसम्म पाएको जनविश्वास कहीँ कतै काङ्ग्रेसले चुकाएकै हो भन्नेमा दुईमत नरहला । भलै भोलिका दिनमा सो पार्टीले जनताको मन जित्न गर्ने प्रयत्नहरू बढी नै प्रजातान्त्रिक होलान्, तर पथभ्रष्ट भएको अवस्था वा बेलाइनबाट लाइनमा ल्याउनका लागि साम, दान, दण्ड, भेदको रणनीतिलाई लागू गर्नैपर्छ । यसका लागि केपी कामरेड सफल हुनुहुनेछ भन्ने जनविश्वासले नेपालीमा डेरा जमाएको छ । भारत सरकारको पाँचबुँदे सहकार्यको प्रस्तावसहितको राजकीय भ्रमणको निमन्त्रणाले आगामी दिनमा नेपाल–भारत दुईदेशीय सम्बन्धमा नयाँ आयामसहितको सकारात्मक सन्देशले जनस्तरमा रहेको तिक्ततालाई मेटाएर लैजानेछ र पुनः नेपाल–भारतबीच सहभ्रातृत्व र सहअस्तित्वको अनुभूति गराउनेछ भन्ने विश्वासका साथ नेपालको प्रधानमन्त्रीको आसन्न भारत भ्रमण अत्यन्त सौहार्दपूर्ण र सफल रहने अपेक्षा गर्न सकिन्छ । केपी र मोदीको सहकार्यले नेपाल र भारत दक्षिण एसियाकै नमुना देश बनोस् । आशा गरौँ जनताले फेरि पनि निराशाको भारी बोक्नुपर्ने छैन । भारतमा मोदी र नेपालमा केपीको उदयले विश्वलगायत सिङ्गो दक्षिण एसिया नै तरङ्गित भएको बेला यही तरङ्गले नै देश र जनताको रूपरङ बदल्न सकोस् भनी कामना गरौँ ।