मकाउ तेक्वान्दो अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

मकाउ तेक्वान्दो अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई


तेक्वान्दो खेलको विकास र विस्तारको लागि विशेष योगदान दिएवापत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी पूर्णबहादुर श्रेष्ठले विशेष जिम्मेवारी पाएका छन् । राष्ट्रिय तेक्वान्दो संघ नेपालले चैत्र १६ गते एक विशेष कार्यक्रमको आयोजना गर्दै श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो ।

स्वयम्भूस्थित सानो भ¥याङमा आयोजित कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोईरालाले श्रेष्ठलाई मकाउको अध्यक्षमा चयन गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा अध्यक्ष कोईरालाले श्रेष्ठलाई उक्त जिम्मेवारी दुई वर्षको लागि दिइएको र दुई वर्षपछि निर्वाचन गर्नुपर्ने जानकारी गराए । सो अवसरमा वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा संघका उपाध्यक्ष ध्रुबवहादुर गुरुङ, महासचिव राजकुमार कार्की, राखेपका कानुन शाखाका प्रमुख नारायणराज अर्याल लगायत अन्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आफुलाई मकाउको तेक्वान्दो संघको अध्यक्षमा चयन गरेपछि श्रेष्ठले संघलाई धन्यवाद दिदै आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोको विकास र विस्तारमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै संघको विधान बमोजिम मकाउमा तेक्वान्दोको विकास विस्तारमा दत्तचित्र भएर लाग्ने बताए ।

पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी पूर्णबहादुर श्रेष्ठले २०४७ सालमा प्रथम डान ब्ल्याकबेल्ट लिएका थिए । सोहि साल नेपाली सेनामा प्रबेश गरेका श्रेष्ठले चार वर्ष सेनामा खेलाडी र प्रशिक्षकको भूमिका निभाएका थिए । सो चार बर्षको अवधिमा श्रेष्ठले आफ्नो गण ‘देवीदत्त गण’ लाई किङ्स ब्यानर प्रतियोगितामा तेक्वान्दोमा सर्वोकृष्ट बनाउन सफल भएका थिए । श्रेष्ठको यो योगदानको कदर गर्दै देवीदत्त गणले उनलाई युएनमा पठाएको थियो ।

त्यस्तै श्रेष्ठले तेक्वान्दो विकास विद्यालयवाट मात्रै सम्भव भएको कुरालाई आत्मसात गर्दै दुई दसक पहिले नै बाबा बोर्डिङ स्कुल र दीपिका बोर्डिङमा संस्थापक तेक्वान्दो प्रशिक्षकको रुपमा कार्य गरेका थिए ।

श्रेष्ठलाई ह्वाइट बेल्टदेखि ब्ल्याकबेल्ट बनाउन वरिष्ठ तेक्वान्दो प्रशिक्षकद्वय शेरबहादुर गुरुङ र ध्रुवबहादुर गुरुङले विशेष भूमिका निभाएका थिए । श्रेष्ठ तत्कालीन समयमा तेक्वान्दोका उत्कृष्ट खेलाडी थिए ।