१६ हजार प्रभावितलाई निःशुल्क कानूनी परामर्श

१६ हजार प्रभावितलाई निःशुल्क कानूनी परामर्श


राष्ट्र निर्माण मञ्चले भूकम्प प्रभावित छ जिल्लाका १६ हजार प्रभावितलाई निःशुल्क कानूनी परामर्श तथा शिक्षा उपलब्ध गराएको छ ।

मञ्चले आयोजना गरेको कार्यक्रममा करीव दुई वर्षमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र गोरखाका प्रभावितलाई शिक्षा दिएर २० प्रतिशतलाई लाभग्राही सूचीमा समावेश गरेको जानकारी दिएको छ ।

मञ्चले गरेको प्रभावितमाथि गरेको अध्ययनानुसार प्रभावितले अनुदान सम्झौता नगरेको र पहिलो किस्ता प्राप्त गरेर दोस्रो किस्ता नपाएको र तिनमा बैंकिङ प्रणालीसम्बन्धी ज्ञान छैन । मञ्चका अनुसार सहुलियत तथा सामूहिक दुवै किसिमको ऋण प्रभावितले पाउन सकेका छैनन् भने गरीबीका कारण पीडित परिवारभित्र घरेलु हिंसा हुने गरेको देखिएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी युवराज भुसालले देशका ३२ जिल्लामा करीव एक लाख घर निर्माण भइसकेको र अब चार लाख बन्ने क्रममा रहेको जानकारी दिए । उनका अनुसार देशभर ७५३ सम्पदा क्षति भएकामा १०० सम्पदा निर्माण भइसकेको तथा केही कानूनी जटिलताले पीडितलाई रकम दिन नसकिएको र सम्पदाका काम अगाडि बढ्न सकेको छैन ।

मञ्चका अध्यक्ष निर्मल उप्रेतीले आगामी दिनमा दोलखा र सोलुखुम्बुमा पनि कानूनी क्लिनिक सञ्चालन गरिने जानकारी दिँदै जनप्रतिनिधिलाई केही कानूनी अज्ञान देखिएका विषयमा परामर्श उपलब्ध गराइने योजना रहेको बताए ।