काङ्ग्रेस नेता खड्काको अन्त्यष्टि भोलि

काङ्ग्रेस नेता खड्काको अन्त्यष्टि भोलि


नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ सम्ममा नयाँ दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । पार्टी स्रोतका अनुसार दिल्लीबाट काठमाडौं आउने नियमित हवाई उडानबाट नेता खड्काको शव ल्याउने र भोली मात्र अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ ।

काङ्ग्रेसले खड्काको पार्थिव शरीरलाई पार्टी सानेपास्थित केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने बताएको छ । भोली आइतबार बिहानदेखि अन्त्यष्टि गर्नुअघिसम्म पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारण सबैले श्रद्धाञ्जली दिन पार्टी कार्यालयमै ब्यवस्था गरिएको कांग्रेस नेताहरूले बताएका छन् । भोलि ३ बजे पशुपति आर्यघाटमा नेता खड्काको अन्त्यष्टि गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

नेता खड्काको शुक्रबार साँझ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी मृगौला, छाती र नशासम्बन्धी समस्याबाट पीडित थिए । पारिवारिक स्रोतका अनुसार एक सातादेखि खड्काको मृगौलाले काम गर्न छोडेको थियो । साढे दुई वर्षअघि दिल्लीकै अपोलो अस्पतालमा नेता खड्कको मृगौला फेरिएको थियो ।

काङ्ग्रेसमा दृढ, कर्मवीर र स्पष्ट नेताको परिचय बनाएका खड्काले नेपालको राजनीतिमा फरक पहिचान बनाएर देशप्रेमी नेपालीको मन जितेका छन् । काङ्ग्रेसको १३औं महाधिशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा जितेका नेता खड्का पटक–पटक मन्त्री भएका छन् । उनलाई विभिन्न आरोप लगाएर भ्रष्टाचार मुद्दामा फसाइए पनि उनको लोकप्रियतामा कमी आएको छैन । खड्काको निधन भएपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता, कार्यकर्ताले गहिरो समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरू असङ्ख्य देखिएका छन् ।