हातपातको शिकार वडाध्यक्षको मृत्यु, बलात्कार अभियोगमा वडासदस्य पक्राउ

हातपातको शिकार वडाध्यक्षको मृत्यु, बलात्कार अभियोगमा वडासदस्य पक्राउ


आफ्नै वडावासी एक व्यक्तिबाट कुटपिट गरिएका पाँचथरको हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि तिम्सिनाको मृत्यु भएको हो ।

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि सोही गाउँका भीमबहादुर योक्पाङले वडाध्यक्ष तिम्सिनामाथि हातपात गरेका थिए । गत विहिबार उक्त घटना भएलगत्तै तिम्सिनाले योक्पाङविरुद्ध प्रहरीमा सार्वजनिक अपराधसम्बन्धी जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको राससले जनाएको छ ।

योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले पुष्टि गरेका छन् । झापा लैजाँदै गर्दा वडाध्यक्षको शुक्रबार मृत्यु भएको हो ।

यसैगरी, पाँचथरकै फालेलुङ गाउँपालिका–६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज शनिबार पक्राउ गरेको हो ।

पक्राउ गरिएका गुरुङविरुद्ध जबर्जस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।