नगरौँ बेकारको बहसमा समय नास

नगरौँ बेकारको बहसमा समय नास



– रसना ढकाल

बेला–बेलामा हाम्रा नेताज्यूहरूबाट आउने विवास्पद वक्तव्यहरूका कारण तात्न पुग्ने सामाजिक सञ्जाल यतिबेला एक बैंकर महिलाको वक्तव्यबाट तरङ्गित भइरहेको छ । मेघा बैंककी सीईओ रविना देशराजबाट ८ मार्चको सन्दर्भ पारेर फेसबुकमा लेखिएका शब्द ‘…पुरुषले गर्ने दोस्रो–तेस्रो विवाहलाई समाजले स्वीकार गर्छ, तर त्यही ठाउँमा महिलाले गरिन् भने किन स्वीकार गरिँदैन ?…’ का कारण उनी अहिले चर्चामा छिन् । उनको यो वक्तव्यबाट समाजलगायत सामाजिक सञ्जाल तरङ्गित भएको छ । यसलाई दुई कोणबाट हेरौँ, पहिलो– रविनाले महिला अधिकारको सवाललाई कसरी बुझेकी छिन्, अर्को– नेपालभूमिको सीमाभित्र रहेका जो–कोही नेपालीलाई पूर्ण वाक स्वतन्त्रता छ । हरेक नेपालीले स्वतन्त्रतापूर्वक आफ्नो विचार राख्न पाउनुपर्छ भनेर संविधानले पनि प्रस्ट भनिसकेको छ भने यसमा दिमाग खियाउनु निरर्थक हुन पुग्छ ।

पहिचान, सम्मान, समानता र सुरक्षा हरेक व्यक्तिको मर्यादासँग जोडिएको हुन्छ । सामान्यतया जो–कोही पनि माथिका ती चार कुरा पाउन लालायित हुन्छन् । आज नेपालमा भइरहेका वर्गीय आन्दोलनहरू पनि यसैको खोजीका लागि भइरहेका हुन् भन्दा दुईमत आउँदैन । किनकि हरेक व्यक्तिको चाहना उसको मर्यादासँग जोडिएको हुन्छ । त्यसैभित्र उसले पहिचान, सम्मान, समानता र सुरक्षा खोज्छ । नेपालको महिला आन्दोलनले खोजेको मूलभूत कुरा पनि यही नै हो । तर, विडम्बना ! पहिचानको अभियानमा लागेका महिलालाई यस्ता प्रकारका शब्दहरू बेला–बेलामा आइदिँदा आन्दोलनमा प्रश्नचिह्नको साथै हामीले आन्दोलनलाई कसरी लिएका छौँ र कुन तरिकाले बुझेका छौँ भन्ने ठूलो प्रश्न खडा हुन्छ । व्यक्तिलाई पूर्ण रूपमा वाक स्वतन्त्रता छ, उसले आफ्नो विचार सहज तरिकाले राख्न पाउनुपर्छ र राखेकै पनि छन् । अनेक विचारबाट एक महान् विचार निस्कन्छ भन्ने कुरालाई पनि हामीले आत्मसात् गरेका छौँ । हुन त महिला आन्दोलनको शुरुवाती अवस्थामा कहीँ–कतैबाट यसप्रकारका अधिकारका कुरा आएका थिए, तर तिनी बिस्तारै सेलाउँदै गए ।

अर्कोतिर महिला आन्दोलनले खोजेको समानता रक्सीको बोतलमा होइन अथवा दुई या तीनवटा श्रीमान् राख्न पाऊँ भनेर खोजको समानता होइन । महिलालाई मानवको जस्तो व्यवहार गर दानवको जस्तो नगर भन्न खोजिएको हो । महिलामाथि लादिएका हानिकारक परम्परागत धारणालाई चिर भन्न खोजिएको हो । यही भनिरहँदा महिला सवालका पहिचान, सम्मान तथा समानता र सुरक्षाका कुराहरू आउँछन् । यसलाई गलत तरिकाले नबुझौँ । हाम्रो मानसिकतालाई फराकिलो पार्नु जरुरी हुन्छ ।

पुरुष हुँदैमा ऊ दोस्रो विवाह गर्ने श्रेणीमा पर्छ भन्नु पनि गलत हो । यदि कसैले दोस्रो विवाह गरेको छ भने कारण खोज्नुपर्छ । किन गऱ्यो त उसले दोस्रो विवाह ? हामीकहाँ महिलाले गरेको गल्तीमा कारण खोज्ने र पुरुषले गरेको गल्तीमा कारण नहेरी अपराधीको श्रेणीमा राखिदिने यस्तै मानसिकताको कारण आज महिला आन्दोलनले बाटो बिराइरहेको छ ।

हाम्रो मानसिकताको पहिलो प्रहार भनेकै सोच हो । किनकि त्यहाँ पितृसत्ता चलाएर बसेको मानसिकताले कमजोर वर्गलाई थिचेको छ, त्यो अझै पनि पूर्ण रूपमा बाहिर निस्कन सकेको छैन । त्यो पितृसत्ताले लैङ्गिक दृष्टिकोण पैदा गऱ्यो जसले महिला र पुरुष भनी कामको बाँडफाँडका साथै हिंसा जन्माउने बाटो पनि सिकाइदियो । त्यो बाटोमा पुरुष मात्र होइन महिला पनि हिँडेका छन् । गल्ती जसबाट पनि हुन सक्छ चाहे त्यो महिला होस् या पुरुष ।

अब कुरा गरौँ दोस्रो विवाहको, यहाँ दोस्रो विवाह गर्ने प्रायः पुरुष नै हुन्छन् महिलाले दोस्रो विवाह गरेको कमै मात्रामा सुन्नमा पाइन्छ । तर, यति भनिरहँदा पुरुष हुँदैमा ऊ दोस्रो विवाह गर्ने श्रेणीमा पर्छ भन्नु पनि गलत हो । यदि कसैले दोस्रो विवाह गरेको छ भने कारण खोज्नुपर्छ । किन गऱ्यो त उसले दोस्रो विवाह ? हामीकहाँ महिलाले गरेको गल्तीमा कारण खोज्ने र पुरुषले गरेको गल्तीमा कारण नहेरी अपराधीको श्रेणीमा राखिदिने यस्तै मानसिकताको कारण आज महिला आन्दोलनले बाटो बिराइरहेको छ ।

महिला आन्दोलनको अगुवाइ गरिरहेका महिलालाई यस्तो प्रकारको आक्षेप आइरहेको छ भने अर्कोतिर सबै पुरुषले दोस्रो विवाह गर्छन् भन्ने पनि हुँदैन । कति त मेरो सन्तान नै मेरा खुसी हुन् भनेर आफनो सम्पूर्ण जीवन बच्चाप्रति समर्पित गरी बिताएका व्यक्तिहरू पनि हामीकहाँ छन् । फेरि बच्चाहरूले आफ्नो बाबु एक्लै भएको कारण देखाई बुबालाई साथी चाहिन्छ भनेर बाबुको बिहे गराइदिएका सन्तति पनि हाम्रो समाजमा छन् । फरक–फरक व्यवहारले बनेको हाम्रो समाजलाई व्यक्ति आफूले कसरी सन्तुलनमा ल्याउने भन्ने कुरा आफूभित्र भर पर्ने हुन्छ । विवाह भन्ने कुरा नितान्त व्यक्तिगत हुन्छ, त्यो सामाजिक सरोकारको विषय पक्कै पनि हुनुहुँदैन । यस्ता गलत हर्कत महिलाबाट पनि भएका छन् । हामीसँग यस्ता धेरै उदाहरण छन् जो विवाह भएको एक महिनामै घर र माइतीमा विवाद ल्याएर प्रहरी प्रशासन पुगी ‘दाइजो नल्याएको भन्दै कुटपिट गरे’ या यस्तै केही अभियोग लगाउँदै उजुरी हालेर सम्बन्धविच्छेदका लागि अदालतमा फिरादपत्रसमेत लेख्न पुगेका छन् । घरकी बुढीआमा र बाबालाई तातो–चिसो गरेर ख्वाउने बुहारी चाहिएको थियो न कि धेरै दाइजो ल्याउने बुहारीको लोभ तिनमा थियो । झुटो कसुर लगाएर तनाव मात्र उनीले दिइरहेकी हुन्छिन् । यस्ता थुप्रै घटना छन् । अब ती घटना पनि हामीले खोज्नुपर्छ ।

हामीले बुझेसम्म पहिलो पत्नी हुँदाहुँदै दोस्रो विवाह गर्नेलाई समाजले पक्कै पनि स्वीकार गर्दैन । यदि उसले दोस्रो विवाह गर्नुपऱ्यो भने पहिलो पत्नीसँग पारपाचुके हुनुपर्छ । अनि मात्र अर्को विवाह गर्न पाउँछ । व्यक्तिभन्दा ठूलो कानुन हो । कहीँकतै कानुनको उल्लङ्घन भयो भने सबै सजायको भागीदार हुनुपर्छ । हाम्रो समाजमा पुरुषले गर्ने दोस्रो विवाहमा पनि त्यही नै हुन्छ ।

पुरुषले अर्को विवाह गऱ्यो भन्दैमा महिलाले पनि गर्न पाउनुपर्छ भन्ने खालका सवाल हाम्रो मानसपटलमा घुमिरहेको हुन्छ । कसैमाथि औँला तेर्स्याउनुपूर्व उसले किन दोस्रो विवाह गऱ्यो त, कारण खोज्नुपर्छ । यो समाजमा पुरुष मात्रै होइन महिलाले पनि दोस्रो विवाह गरेका छन् । आफ्नो श्रीमानको आँखा छलेर कति परपुरुषको संसर्गमा गएका पनि थुप्रै घटना हाम्रो समाजमा छन् ।

कानुनमा प्रस्ट रूपमा नै लेखिएको छ–
मुलुकी ऐन २०२० को भाग ४ को बिहेवारी महल १७ मा बहुविवाहलाई प्रतिबन्ध लगाएको छ । कस्तो–कस्तो क्षणमा लोग्नेले अर्को विवाह गर्न पाउने, स्वास्नीलाई यौनसम्बन्धी कुनै सरुवा रोग भै निको नहुने भएमा…
स्वास्नी निको नहुने गरी बौलाएमा…
स्वास्नीको कारणबाट सन्तान नहुने मेडिकल बोर्डबाट प्रमाणित भएमा…
स्वास्नी हिँडडुल गर्न नसक्ने कुँजी भएमा…
स्वास्नी आँखा देख्ने नभएमा…
स्वास्नीले अंश लिई छुट्टै बसेमा…

तर, यति हुँदाहुँदै लोग्नेले विवाह गर्दा स्वास्नी निको नहुने गरी बौलाएको र अंश लिई भिन्न बसेकोमा बाहेक अन्य अवस्थामा स्वास्नीको सहमति लिनुपर्नेछ । यदि यसको विपरीत गरेमा १ वर्षदेखि ३ वर्षको कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसमेत जरिवाना हुनेछ । पुरुषको हकमा दोस्रो विवाह गर्न कानुनमा यस्तो व्यवस्था गरिएको छ ।

हामीलाई यही समाजमा बस्नु छ । हिजो हामीले देखेको परिवार–परिवारबीचमा रहेको सौहार्द वातावरणसहितको माया र प्रेम अहिले आएर हेर्दा ठीक उल्टो हेर्न पाउँछौँ । आफूभन्दा ठूलो व्यक्ति देख्नेबित्तिकै बसेको स्थानबाट उठेर सम्मान दिने हाम्रो चलन हो । त्यो भनेको त सभ्यता हो, त्यसलाई हिंसाको घेराभित्र राख्न मिल्दैन । मैले जस्तो व्यवहार अरूलाई गर्छु त्यस्तै व्यवहार अरूबाट पाउँछु । आज आएर कहीँ–कतै घर–परिवारमा मात्र सानाले ठूलालाई अदवका साथ आदर दर्शाउने चलन देख्न पाइन्छ ।

पुरुषले दोस्रो विवाह गर्न पाउने महिलाले किन गर्न नपाउने भन्ने बहसमा जानुपूर्व सबैले बुझ्नुपर्ने हुन्छ कि विवाह भनेको कसैको नितान्त व्यक्तिगत कुरा र उसको अधिकारको विषय हो । यसमा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन । पुरुषले अर्को विवाह गऱ्यो भन्दैमा महिलाले पनि गर्न पाउनुपर्छ भन्ने खालका सवाल हाम्रो मानसपटलमा घुमिरहेको हुन्छ । कसैमाथि औँला तेर्स्याउनुपूर्व उसले किन दोस्रो विवाह गऱ्यो त, कारण खोज्नुपर्छ । यो समाजमा पुरुष मात्रै होइन महिलाले पनि दोस्रो विवाह गरेका छन् । आफ्नो श्रीमानको आँखा छलेर कति परपुरुषको संसर्गमा गएका पनि थुप्रै घटना हाम्रो समाजमा छन् । तर, यो कसैको व्यक्तिगत कुरा हो । व्यक्ति आकर्षित हुने नै विपरीतमा हो । अहिले समय परिवर्तन भएर समलिङ्गी, द्विलिङ्गीको कुरा पनि आइरहेको छ । जब कानुनले नै यो मान्यता दिएछ भने तपाईं–हामीले टाउको दुखाएर केही फाइदा हुनेवाला छैन ।

[email protected]