दोश्रो राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसीप पोखरामा

दोश्रो राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसीप पोखरामा


दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनशिप–२०७४ पोखरामा सुरु भएको छ । प्रतियोगितामा २० जिल्लाका करिब १ सय जना खेलाडीले सहभागिता जनाउने नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन् ।

पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड पार्क विश्वकै दोश्रो नमुना पार्क रहेको उल्लेख गर्दै अध्यक्ष खनालले नेपाली खेलाडीको उत्पादन र प्रवद्र्धन गर्न संघले आफ्ना कार्यक्रमहरुलाई अझै शसक्त ढङ्गबाट अगाडि बढाउने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगिताबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै उनीहरुलाई आगामी दिनमा अन्तर्राष्ट्रिय सहभागिता समेत गराइने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यस क्षेत्रको खेलकुद पर्यटनमा स्केटबोर्ड निर्माणले सहयोग पुगेको बताए । उनले पोखरालाई खेलकुद पर्यटनको शहर बनाउने हो भने यस तर्फ लगानी बढाउनु पर्ने कुरामा जोड दिए । उनले यस प्रतियोगिताले स्केटबोर्ड खेलको महत्वलाई थप उजागर गर्ने र पोखरामा थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

संघका उपाध्यक्ष चुडामणी खनालले प्रतियोगितामा पुरुष तर्फ १४ वर्ष भन्दा माथि १४ वर्षमुनि तथा महिला गरि तीन क्याटोगरी हुने बताए । उपाध्यक्ष खनालले संघले खेलाडीको उत्पादन, प्रोत्साहन संगै प्रशिक्षकको उत्पादन र क्षमता बृद्धि गर्दै लैजाने र त्यसका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरिएको बताए ।

संघका सचिब रामचन्द्र कोइरालाले प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख खर्च लाग्ने जानकारी दिए । सचिब कोइरालाका अनुसार हरेका क्याटोगरिमा बिजेता प्रथम, द्वितियले नगद क्रमश ५ हजार, २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केटबोर्ड पाउने छन । तृतिय हुनेलाई स्केटबोर्ड प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद लगायत अन्य संस्थाहरुले सहयोग गरेको उनले जानकारी दिए ।