हिन्दुत्व र ‘राजावादी’

हिन्दुत्व र ‘राजावादी’


– स्वयम्भूनाथ कार्की

पुरानो राष्ट्रिय गान बन्द गरेयता नेपालले धेरै आरोह–अवरोह व्यहोरेको छ । नयाँ नेपाल यति त्रस्त छ कि कसैले राजा पनि नभनिदेओस् भन्ने कामना गर्दछ । पूर्व नजोडी राजा भनेको अपराधमा (?) पक्राउ गरेर अब यसो भन्दिनँ भनेर कागज गराइएका घटनाहरू छ्याउछ्याप्ती छन् । तर, यस कालखण्डमा लगातार बलियो भने कोही देखिएन । पाखा लाग्न स्वीकार गरेर पाखा लागेका राजा भने जति समय बित्दै गयो त्यति बलिया देखिँदै छन् । कुनै बेला राजसंस्था काँधमा बोकेर आफूलाई गाह्रो भएको भन्नेहरू निरन्तर ओरालो लाग्दै छन् । बाढीपीडितलाई सहयोग गर्न गएको पाखा लगाइएका राजालाई त्यसै अपराधमा जेल हाल्थे भनेर कुर्लिने बाबुराम अहिले बबुरा भइसकेका छन् ।

पहिले पनि कुटिलतापूर्वक राजालाई हिन्दुत्वसँग मात्र जोडेर आफ्नो आश्रमको पसल चलाउने ‘बाबा’, ‘स्वामी’ आदि देखिएका थिए, अझै पनि देखिँदै छन् । तर, जुन बेलादेखि उनीहरूको मुखारबिन्दबाट गणतन्त्रको समर्थन र राजसंस्थाको विरोध फुत्कियो हाल बेहाल हुँदै छ । हिन्दुत्वको रथमा सवार भएर राजसंस्था उदाउँछ भन्ने आसले राजसंस्थासँग आस्थावान विशेषतः राजावादी यस्ता पसले स्वामीहरूको लोलोपोतोमा फस्ने गर्दछन् । राजसंस्था हिन्दुत्वको आधारमा होइन हिन्दुत्वलगायत मुलुकका सबै संस्कृति परम्पराहरू नेपालको अस्तित्वमा आधारित छन् । अनि नेपाललाई नेपालकै रूपमा एउटै मालाका फूलझैँ उनेर त्यही राजसंस्थाले राखेको थियो । यो कुरा कसैलाई तीतो लागे पनि असत्य साबित गर्ने सकिँदैन ।

राजसंस्थाप्रति आस्थावान सबै राजावादी होइनन् । नेपालको एकताको सूत्र राजसंस्था भन्ने मान्नेहरूमा राजावादी हुन सक्लान्, तर सबै राजावादी होइनन् । तर, राजसंस्थालाई केवल हिन्दूको मात्र पेवा ठान्नेहरू भने निश्चित रूपमा राजावादी हुन् । राजसंस्था पाखा लाग्नुमा यस्तै राजावादीहरूको यही दम्भ पनि प्रमुख कारक थियो भन्न जिब्रो चपाउनुपर्दैन ।

राजसंस्थालाई पाखा लगाएदेखि नै नेपालको अखण्डता र नेपाली–नेपालीबीचको सौहार्दता खजमजिएको कुरा आउँदै छ । यो कुरा कुनै राजावादीको मुखले भन्दा ज्यादा मुलुकका हालीमुहाली पाएकाहरूले नै गर्दै छन् । लुकेर, खस्याकखुसुक्क वा अनौपचारिक रूपमा होइन औपचारिक रूपमै, सम्बोधनमै भन्ने गरिएको छ । अर्थात् आस्थाले मात्र होइन व्यावहारिक रूपले नै प्रमाणित भइसकेको नेपालको एकताको सूत्र वा ‘सयौँ फूलका थुङ्गा’को ‘एउटै माला’को धागो अर्को पाउन सकिएको छैन । यो बेलामा ‘राजावादी’ खालका आस्थावादीको राजालाई हिन्दुत्वसँग मात्र जोड्ने प्रयत्न मुलुककै निमित्त प्रत्युत्पादक हुँदै छ ।

परम्परादेखि विभिन्न वंशका राजाहरूले पारम्पारिक समन्वय कायम राखे । सांस्कृतिक समन्वय कायम राखे । धार्मिक समन्वय कायम राखे । नेपालले आफ्नो इतिहास परम्परामा पहिलोपल्ट गणतन्त्र चाख्दै छ । कपिलवस्तुको गणराज्य र यो गणतन्त्रमा धेरै भिन्नता छ । किनभने सिद्धार्थ गौतमका पिता शुद्धोधन कपिलवस्तु गणराज्यका ‘राजा’ थिए । जे होस्, गणतन्त्र नेपालको सबैभन्दा नौलो स्वाद हो । यो स्वादले परापूर्वकालदेखि कायम पारम्पारिक समन्वय पारम्पारिक सङ्घर्ष भएको छ । सांस्कृतिक समन्वय सांस्कृतिक सङ्घर्ष भएको छ । धार्मिक समन्वय धार्मिक सङ्घर्ष भएको छ । यसका लक्षणहरू देखा पर्दै छन्, कतै ‘गाई’को रूपमा कतै आन्तरिक उपनिवेशको नारामा ।

राजसंस्थाप्रति आस्थावान सबै राजावादी होइनन् । नेपालको एकताको सूत्र राजसंस्था भन्ने मान्नेहरूमा राजावादी हुन सक्लान्, तर सबै राजावादी होइनन् । तर, राजसंस्थालाई केवल हिन्दूको मात्र पेवा ठान्नेहरू भने निश्चित रूपमा राजावादी हुन् । राजसंस्था पाखा लाग्नुमा यस्तै राजावादीहरूको यही दम्भ पनि प्रमुख कारक थियो भन्न जिब्रो चपाउनुपर्दैन । राजसंस्थाप्रति आस्थावानहरूले धेरै खेप्नुपर्ने अवस्था पनि नेपालमा आएको थियो । विशेषतः राजावादीहरूले घोर उपेक्षा, कारबाही आदि भोग्नुपर्ने दिनहरूमा पनि आफ्नो आस्था बचाउनेहरू पनि थिए । त्यसै गरेर रातारात आफूलाई गणतन्त्रवादीमा सामेल गर्नेहरू पनि थिए । लोकमानले आस्था परिवर्तन गरेर पद हत्याउन सफल त भए, तर उनले खाएको गणतन्त्रको लातमा पुरानो राजावादीको छाप थिएन भनेर भन्न सकिने अवस्था छैन ।

राजसंस्था हिन्दुत्वको आधारमा होइन हिन्दुत्वलगायत मुलुकका सबै संस्कृति परम्पराहरू नेपालको अस्तित्वमा आधारित छन् । अनि नेपाललाई नेपालकै रूपमा एउटै मालाका फूलझैँ उनेर त्यही राजसंस्थाले राखेको थियो ।

सबै किसिमका नेपाली कसरी एक एकाइ भएका थिए भन्ने कुरा कसैले कसैलाई बताउनैपर्दैन । यो आफैंले भोगेको कुरा हो । त्यो भावनात्मक एकता यत्रो लगानी यत्रो प्रयत्नले पनि टुट्न सकेको छैन । केही अपवादबाहेक सबै नेपालीमा देश दुख्छ । भन्नेले त यहाँसम्म भन्छन् कि राजसंस्थाले अरू परम्परा संस्कृति समाप्त पार्न खोजेको थियो । तर, यो कुराको खोक्रोपन साबित गर्न त्यो परम्परा, संस्कृतिको अहिलेसम्मको निरन्तरता नै पर्याप्त छ । कुनै अर्को अपराधको दण्ड दिइएकोमा त्यसलाई परम्परा संस्कृति सिध्याउन गरिएको दमन भन्ने हो भने कुरा बेग्लै हो ।

विदेशी षड्यन्त्रकारीहरू विगतमा नेपाल एक संस्कृतिको मात्र थियो । राजा एक धर्मका मात्र थिए भन्ने प्रचारमा लिप्त छन । गाउँगाउँ बस्तीबस्ती आपसी घृणा फैलाउन तल्लीन छन् । राजावादीहरू त्यसै षड्यन्त्रलाई मलजल गर्दै छन् राजा केवल हिन्दूको मात्र हो भन्ने भ्रम पर्ने गरेर केवल धार्मिक भ्रमण गराएर । नागरिक बनाइएका भनिएका राजाले केवल धार्मिक क्रियाकलाप मात्र गर्न आवश्यक छैन । गद्दीको आकाङ्क्षी नभए सामान्य नागरिक हुन् र सबै सामान्य नागरिकलाई राजनीतिकलगायतका सबै क्रियाकलाप गर्ने अधिकार छ । गद्दी पुनः प्राप्त गर्ने आकाङ्क्षा भए त झन् बिनाराजनीतिक क्रियाकलाप यो सम्भव नै छैन । वर्तमान नेपालको हालिमुहाली पाएकाहरूको जीवनी हेर्ने हो भने पनि ‘वीरभोग्या बसुन्धरा’ देखिन्छ । सबैको साझा संस्था थियो नेपालको राजसंस्था, त्यससँग जोडेर केवल एकको पेवा बनाउने काम ठीक होइन कसैको निमित्त पनि ।