भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी भारतको तेश्रो सबैभन्दा ठूलो नागरिक पुरस्कार ‘पद्मभूषण’बाट सम्मानित भएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट धोनीले उक्त सम्मान ग्रहण गरेका हुन् । धोनीसँगै अन्य ४४ जनालाई पनि पद्मभूषणबाट सम्मानित गरिएको छ ।
सम्मान तथा पुरस्कार वितरण समारोहमा उपराष्ट्रपति बैंकया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहको उपस्थिति रहेको थियो । सम्मान ग्रहण गर्न धोनी लेफ्टिनेन्ट कर्नलको युनिफर्ममा पत्नी साक्षीसंगै राष्ट्रपति भवन पुगेका थिए । स्मरण रहोस्, १ नोभेम्बर २०११ मा प्रादेशिक सेनाले धोनीलाई लेफ्टिनेन्ट कर्नलको मनार्थ पदवी दिएको थियो ।
२ अप्रिल २०११ मा भारतलाई विश्वकप क्रिकेट उपाधि दिलाउन धोनीले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मुम्बईको वानखेडे स्टेडियममा भएको फाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दा धोनीले महत्वपूर्ण ९१ रनको अविजित पारी खेलेका थिए । धोनीले आफ्नो पारीको अन्तिम बलमा छक्का प्रहार गर्दै भारतलाई दोश्रो पटक विश्वकपको उपाधि जिताएका थिए । उक्त खेलमा उनी ‘म्यान अफ दि म्याच समेत बनेका थिए ।
भारतीय क्रिकेट टीमले आजभन्दा ७ बर्ष अगाडि २ अप्रिलमा विश्वकप क्रिकेटको उपाधि जितेको थियो । सोहि दिनलाई मध्यनजर गर्दै धोनीलाई पद्य भूषणवाट सम्मानित गरिएको हो ।
यो भन्दाअघि धोनीले राजीव गान्धी खेलरत्न पुरस्कार, पद्मश्री, आइसीसी वान डे प्लेयर अफ द इयरको पुरस्कार हासिल गरिसकेका छन् ।
प्रतिक्रिया