हेर्दाहेर्दै…

हेर्दाहेर्दै…


महिला हिंसाविरुद्धको १६दिने अभियान विभिन्न कार्यक्रमबीच सकिएको छ । हेर्दाहेर्दै आँखैअगाडि १६दिने अभियानले यसरी फड्को मार्‍यो कि यो कुनै निश्चित क्षेत्रका व्यक्तिहरूको मात्र नभएर सबै क्षेत्रको सरोकारको विषय बन्न पुग्यो । नेपालमा यो कार्यक्रमको सुरुवात कसरी भयो भन्ने कुरा सम्झिँदा अहिले पनि मन रोमाञ्चित भएर आउँछ । सन् १९९९ को कुरा हो, महिलाको राजनीतिक सहभागितासम्बन्धी कार्यक्रममा भाग लिन दिदीहरू दुर्गा घिमिरे, सलोनी सिंहलगायत हामी केही फिलिपिन्स गएका थियौँ । कार्यक्रममा युनिफेमकी दक्षिण एसियाली संयोजक चाँदनी जोशीले विश्वव्यापी रूपमा महिलामाथि हुने हिंसाविरुद्ध १६ दिनसम्म अभियानकै रूपमा विभिन्न कार्यक्रम गर्न लागिएको बताउँदा सहभागीहरूले ताली बजाएका थिए । त्यतिबेला उहाँले भन्नुभएको थियो– यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुनेछ । संयुक्त राष्ट्र सङ्घले विशेष नारा तोके पनि आ–आफ्नो देशमा त्यसलाई सान्दर्भिक बनाएर गर्नुहोला । त्यो कुरा हाम्रा लागि मात्र नभएर सबै मुलुकका सहभागीहरूका लागि भन्नुभएको थियो उहाँले । कार्यक्रम सुरु भएकै साँझ हामीसँग भन्नुभो– नेपालमा पनि यो अभियानको सुरुवात राम्रोसँग गर्नुपर्छ । अक्टुबरमा युनिफेमको दक्षिण एसियाली कार्यक्रम छ काठमाडौंमा, त्यतिबेलै ‘कटन रेजर’ गर्नुपर्छ । मिडिया, प्रहरी, कानुनी सहयोग केन्द्रहरूदेखि सर्वसाधारण र सम्बन्धित नीति निर्माण तहका व्यक्तिका अगाडि यसको सुरुवात गर्ने भन्दै उहाँले त्यसको संयोजनको जिम्मा मलाई दिनुभो । जीवनमा कहिल्यै नगरेको काम कसरी गर्ने होला ? युवा मानसिकतामा एउटा ठूलो जिम्मेवारी लिएर फर्किएकी थिएँ म त्यतिबेला । इमानदारीपूर्वक भन्नुपर्दा कार्यक्रमको महत्वबारे धेरै कुरा बुझ्दैनबुझी पहिलो भेटमै चाँदनी जोशीजस्तो व्यक्तित्वको मप्रतिको विश्वासलाई जोगाउनका लागि बडो मिहिनेतका साथ मिडियालगायत विभिन्न क्षेत्रका मानिस जुटाउने काम गरेकी थिएँ । सानो नाटकसहित थापाथलीको ब्लु स्टार होटेलमा गरिएको उक्त कार्यक्रम त्यतिबेलाको सन्दर्भमा अनौठो मानिएको थियो । पहिलो वर्ष नेपालमा १६ दिने अभियान सञ्चालन गर्दा साथीकी तात्कालीन अध्यक्ष प्रमदा शाह, माधुरी सिंहलगायतको महत्वपूर्ण योगदान छ । आश्रय गृहमा रहेका केही पीडितहरूलाई समेत कार्यक्रममा सहभागी गराउनका लागि प्रमदाकै सहयोगका कारण सम्भव भएको थियो ।
हेर्दाहेर्दै यो १३ वर्षको बीचमा धेरै परिवर्तन आएको छ । त्यतिबेला हामीलाई मिडियामा पीडितको आवाज ल्याउन निकै गाह्रो थियो । सञ्चारमाध्यमहरू आफैंमा अहिलेझैं संवेदनशील पनि थिएनन्, कतै पीडितको नाम आउने, कतै फोटो आउने गरेकाले केही समस्या पनि उत्पन्न भएका थिए । तर, अहिले मिडियाको अवस्था त्यस्तो छैन न त पीडितहरूको धारणा बाहिर ल्याउन नै गाह्रो छ । महिलामाथि हुने हिंसाको कुरा गर्दा त्यतिबेला धेरैजसो घटना शारीरिक हिंसासँग सम्बन्धित हुने गर्थे । कुटपिट, दाइजोका कारण जलाइने, मुहारमा तेजाब खन्याउने, बोक्सीको आरोप, बलात्कार, चेलिबेटी बेचबिखन, बहुविवाहजस्ता कुराहरू बढी बाहिर आउने गर्थे । यी सबै कुराका अलावा अहिले हिंसाका अन्य रूप पनि देखिएका छन् । समयक्रममा हिंसाका अनेक रूपहरू थपिएका छन्, समयमा आएको परिवर्तनसँगै हिंसाका स्वरूपमा पनि परिवर्तन आएको देखिन्छ । पहिला–पहिला चेतनाको अभावले हिंसा भएको ठानिन्थ्यो, अहिले मानिसहरूमा सचेतना वृद्धिसँगै मानसिक हिंसाका अनेक रूप बढ्दै गएका छन् । द्रुत गतिले अगाडि बढ्दै गरेको प्रविधिले पनि महिलामाथि हिंसाका रूप थपिएका छन् । प्रविधिका कारण पुरुषमा पनि हिंसा बढेको हुन सक्छ तर धेरैजसो महिलासँगै सम्बन्धित घटनाहरू सार्वजनिक भएकाले यसो भन्न सकिएको हो । इमेल, इन्टरनेट, फेसबुक, मोबाइल… यी प्रविधिका राम्रा पक्ष धेरै हुँदाहुँदै पनि तिनको दुरुपयोगका कारण विभिन्न प्रकारका हिंसामा वृद्धि भएको छ । हिजोका दिनमा बाबुआमाले धर्मका लागि छोरीहरूको बालविवाह गरिदिने चलन थियो, अहिले बाबुआमामा बालविवाह गर्नुहुन्न भन्ने सचेतता आएको छ तर मोबाइलको सहज पहुँचका कारण किशोरकिशोरी आफैं भागेर विवाह गर्न थालेका छन् । मोबाइलमा हुने गरेको सम्पर्क र त्यसले बढाएको निकटताका कारण चेलिबेटी बेचबिखन पनि सहज रूपमा बढेको छ । हिजोका दिनमा केटी बेच्ने दलाललाई गाउँघरमा पुगेर युवतीको खोजी गरी बेच्न लैजानका लागि विवाहको नाटकसमेत गर्नुपथ्र्यो, तर अहिले मोबाइल नम्बर पत्ता लगाएर कुराकानी गर्दै नजिक बनाएर आफूतिर आकर्षित गरी प्रेमका नाममा सीमा कटाउन सहज भएको छ । ‘तिम्रो स्वर त यति मीठो छ मान्छे कति राम्री हौली, म तिमीलाई भेट्न आतुर छु’ भन्दै एसएमएस लेखेपछि केटी आफैं दलाललाई भेट्न आएको र बेचिएको घटना मध्यपश्चिममा केही समयअघि चर्चामा आएको थियो । कति घटना त सार्वजनिक हुन पनि सकेका छैनन् । कतिपय अवस्थामा सम्बन्ध राम्रो हुँदा फेस बुकको पासवर्ड आदानप्रदान गर्ने अनि सम्बन्ध बिग्रिएपछि सोही पासवर्ड प्रयोग गरेर अश्लील सामग्री अपलोड गर्ने या केटीसाथीको फेसबुकबाट अरूलाई जे पायो त्यही सन्देश पठाउने घटनाहरू पनि थुप्रै छन् ।
गाउँ होस् या सहर यसबीचमा आएको परिवर्तनचाहिँ के हो भने मानिसहरू हिंसाबारे बोल्न थालेका छन् । महिला मात्रै होइन पुरुषहरूले पनि महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन थालेका छन् । अहिले जताततै महिला हिंसाको कुरा गर्दा हिंसा बढेकोजस्तो पनि लाग्छ । तर, वास्तवमा हिंसा बढेकोभन्दा पनि यस विषयमा रिपोर्ट गर्ने क्रममा वृद्धि भएको मान्न सकिन्छ । मानिसहरू बोल्न थाले, प्रहरीचौकी या मिडियासम्म घटनाहरू आउन थाले, यस विषयमा खुलेर चर्चा, परिचर्चा र अन्तक्रियाहरू हुन थाल्यो । प्रहरी स्वयम्ले पनि घरेलु या अन्य हिंसाविरुद्ध विभिन्न कार्यक्रम गरी सचेतना फैलाएको अवस्था छ । केही दिनअघि मात्रै पनि नेपाल प्रहरीको महानगरीय विभागले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा सार्वजनिक यातायातमा हुने हिंसाबारे गम्भीर रूपमा कुरा उठेको छ । यो विषयमा ट्राफिक प्रमुख डीआइजी उपेन्द्रकान्त अर्यालले सार्वजनिक यातायातमा हुने हिंसालाई निषेध गर्न ड्राइभरलगायतका सम्बद्ध पक्षसँग शृङ्खलाबद्ध रूपमा कुराकानी गरी यसको कार्यान्वयनलाई अगाडि बढाउने बताउनुभएको छ । जसका कारण उनीहरूले आफ्नो सवारीसाधनमा यात्रा गर्ने यात्रुका लागि आचारसंहिता लागू गर्न सकून् । यो काम व्यवहारमै लागू भयो भने यो वर्षको १६ दिने कार्यक्रमले हिंसाविरुद्धको अभियानमा अर्को इँटा थपेको हुनेछ ।