खोलाखर्कमा बस पुगेपछि…

खोलाखर्कमा बस पुगेपछि…



– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

जिल्लाको एक विकट गाउँमा पहिलोपटक यात्रुवाहक बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । अरनिको राजमार्गको सुकुटेबाट यामुनाडाँडा हु्ँदै सुनखानीको खोलाखर्कमा बस पुगेपछि स्थानीय हर्षित भएका हुन् ।

सुकुटे–कालिका–सिंयाले–सिम्पानी–यामुनाडाँडा–बाघखोर–कात्तिके हुँदै सुनखानीको खोलाखर्कमा यात्रुवाहक बस पुगेको हो । गाउँमा पहिलोपटक आइपुगेको बसलाई स्वागत गर्दै यामुनाडाँडाका पूर्व गाविस अध्यक्ष रामबहादुर खड्काले उद्घाटन गरे । गाउँको बाघखोरदेखि खोलाखर्कसम्मको सडक मर्मत तथा स्तारोन्नति गरेपछि विकट गाउँमा बस पुगेको सुनकोशी गाउँपालिका–४ का वडाअध्यक्ष देवेन्द्र खड्काले जानकारी दिए ।

‘सडक यातायातबाट निरीक्षण भएको छ,’ वडाअध्यक्ष खड्काले भने, ‘भाडा निर्धारण गरेर यो साताबाट यातायात सञ्चालनमा आउँछ ।’ उनले काठमाण्डौंबाट दिनमा एउटा र गाउँबाट एउटा बस सञ्चालन हुने जानकारी दिए । गाउँपालिकाको वडा नं. ४ र ५ को बजेटबाट सडक स्तारोन्नति गरेपछि यातायात सञ्चालन हुन सकेको हो । अरनिको राजमार्गको सुकुटेदेखि खोलाखर्कसम्म २० किलोमिटर दुरी पर्छ ।

‘यातायात सञ्चालन नहुँदा यहाँका स्थानीयलाई सामग्री ढुवानीका साथै बजार आवतजावतमा निकै समस्या थियो,’ स्थानीय देवान लामाले भने, स्थानीय देवान लामाले भने, ‘बस सञ्चालन भएपछि निकै सहज हुनेछ ।’ उनले स्थानीयलाई बजार पुगेर आउनका लागि सिंगो दिन खर्चिनुपर्ने भएपछि बाटो मर्मत् गरि यातायात सञ्चालनका लागि मेहनत गरेको बताए । सडकको नयाँ ट्रयाक खोल्नका लागि स्थानीय समाजसेवी कुमार बस्नेत, हरेराम खड्का, मिलन बम्जनको सक्रियताले बस गाउँसम्म पुगेको स्थानीय बताउँछन् । सुकुटेदेखि यामुनाडाँडा हुँदै खोलाखर्कसम्म ठाडै उकालो पर्छ । ‘नुन किन्नकै लागि पसिना चुहाउँदै हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ वडाअध्यक्ष देबेन्द्रले भने ।