ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दाबी समेत गर्नुभएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिनुभएको थियो । उहाले भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिँदै अव बङ्गलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने बताउनुभएको छ । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
‘हामीले भारतसँग पिटिए सम्झौता गरिसकेका छौँ, अब चीन र बंगलादेशसँग पनि हामी पिटिए गर्ने तयारीमा छौँ, यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौँ,’ मन्त्री पुनले भन्नुभयो ।
उहाँले दीगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राख्नुभएको थियो ।
मन्त्री पुनले नविकरणीय उर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति भएको बताउनुभयो । वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको भन्दै उर्जा क्षेत्रमा लगानी गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
सदस्य राष्ट्रहरुको घनिष्ट सम्बन्धमा जोड दिंदै मन्त्री पुनले विद्युतलाई आर्थिक विकाससँग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तरआबद्धता आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पुनले भेटे म्यानमार र पाकिस्तानी समकक्षी

उर्जामन्त्री पुनले म्यानमारका उर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसँग भेटवार्ता गर्नुभएको छ । मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काकाअनुसार भेटमा पाकिस्तानी उर्जामन्त्रीले आफ्नो देशको उर्जा क्षेत्रको अवस्थाका बारेमा उर्जामन्त्री पुनलाई जानकारी गराउनु भएको थियो । पाकिस्तानी उर्जामन्त्री नविकरणीय उर्जामा जोड दिन र स्मार्ट विलिङ सिस्टममा जान मन्त्री पुनलाई सुझाव दिनुभएको थियो ।
विमस्टेक उर्जा फोरमको अध्यक्षता गरिरहेको म्यानमारका उर्जामन्त्री जयर अंगसँगको भेटमा मन्त्री पुनले फोरमको तेस्रो बैठकको अध्यक्षता नेपालले गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको थियो । उहाँले त्यसको अवसरमा नेपाल भ्रमण गर्न समेत निम्तो दिनुभएको छ ।
प्रतिक्रिया