राष्ट्रपतिको काम म्याद थप्ने मात्र

राष्ट्रपतिको काम म्याद थप्ने मात्र


othernewsराष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा दलहबीच सहमति हुन नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले पाँचौँपटक पाँच दिनका लागि पुन: म्याद थप गरेका छन् । राष्ट्रपति यादवले एमाओवादी, काङ्ग्रेस, एमाले तथा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको आग्रहमा पाँच दिनका लागि म्याद थप गरेका हुन् ।
राष्ट्रपतिले यसअघि चौथोपटक थपिएको म्याद सोमबार सकिएको थियो । थप गरिएको सहमतिमा दलहरूबीच कुनै सहमति नभएपछि दलका नेताहरूले मंगलबार बिहान भेट गरी तीनदेखि पाँच दिन म्याद थप गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । राष्ट्रपतिले दलका नेताहरूकै आग्रहअनुसार म्याद थप गरेका हुन् ।
राष्ट्रपति कार्यालयले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनीतिक दलहरूले फेरि पनि थप समय माग गरेको हुँदा मागबमोजिम सम्वत् २०६९ साल पुस ७ गतेसम्म म्याद थप
गरिएको जनाएको छ । सहमतिका लागि नेतालाई मौखिक रूपमा आग्रह गर्दै आएका राष्ट्रपतिले मङ्सिर ८ गते लिखित रूपमा नै राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरेका थिए । तर, दलका नेताहरू अहिलेसम्म आ–आफ्नै अडानमा कायम रहेकाले सहमति हुन सकिरहेको छैन । महिना दिनसम्म सहमति बन्न नसक्दा पनि म्याद मात्र थप गरिएपछि राष्ट्रपतिको काम म्याद थप गर्ने मात्र रहेछ भन्ने सन्देश प्रवाहित हुन पुगेको छ ।

सिटौला सूत्रको खुल्यो रहस्य
झापाका कृष्ण सिटौला रातारात नेपाली राजनीतिको उच्च भूमिकामा पुग्नुको रहस्य खुलेको छ । २०६३ को राजनीतिक परिवर्तनपश्चात् गृह मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी पाउँदा विपक्षी दल तथा सर्वसाधारण नेपाली जनताभन्दा पनि काङ्गे्रसका नेता तथा कार्यकर्ता चकित परेका थिए । चक्र बास्तोला, डा. रामशरण महत, खुमबहादुर खड्का, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिजस्ता नेताहरू हुँदाहुँदै सिटौलाले मौका पाउनुलाई स्वाभाविक रूपमा लिइएको थिएन । तथापि गिरिजाप्रसादको विश्वासपात्र बनेको, प्रचण्डको निकटस्थ रहेको या मित्रराष्ट्र भारतको समेत
विश्वास आर्जन गर्न सकेका कारण सिटौलाले गृह मन्त्रालयसहित विद्रोही माओवादी पक्षसँग वार्ताको जिम्मेवारी पाएको ठानिन्थ्यो । तर, उल्लिखित कारणले मात्र झापाका सिटौला केन्द्रीय राजनीतिको केन्द्रभागमा पुगेका होइन रहेछन्, त्यसनिम्ति उनको आफ्नै सूत्र र शैलीको प्रयोग महत्वपूर्ण रहेछ भन्ने काङ्गे्रसका नेताहरूले अहिले आएर थाहा पाएका छन् । राजनीतिको केन्द्रभागमा रहेका या पार्टीको सर्वोच पदमा रहेका ‘व्यक्तिको महत्वाकाङ्क्षा जगाइदिने, उक्त महत्वाकाङ्क्षा पूरा गरिदिन क्रियाशील हुने र सम्बन्धित व्यक्तिलाई सिटौला नभई आफ्नो मनोकाङ्क्षा पूरा हुँदैन भन्ने मनस्थितिमा पुर्‍याउने’ सूत्र प्रयोग गरेर सिटौलाले प्राविधिक रूपमा भए पनि आफूलाई ‘माथि’ पुर्‍याएको काङ्गे्रसका नेताहरूको ठहर छ । सिटौलाले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कार तथा प्रथम राष्ट्रपतिको सपना देखाएका र आफूले देखाएको सपना पूरा गरिदिने भन्दै उनी आफैं ‘माथि’ पुग्न सफल भएका थिए । यिनै सिटौलाले सुशील कोइरालालाई पनि प्रधानमन्त्री बनाइदिने भन्दै अलमल्याउने प्रयास गरेका छन् । इमानदार र निष्ठावान नेताको खडेरी परेका बेला सुशील कोइरालाजस्ता नेतालाई प्रधानमन्त्री पाउन सक्नु देशवासीकै लागि गौरवकै विषय हुन सक्थ्यो । सुशील कोइराला झापाका कृष्ण सिटौलाले प्रधानमन्त्री बनाउँदा बन्ने र नबनाउँदा नबन्ने व्यक्तित्व पनि होइन । रामचन्द्र पौडेललाई पट्याउन नसकिने देखिएपछि एकताक शेरबहादुर देउवासँग लहस्सिन पुगेका सिटौला आफूबाहेक कसैका प्रति पनि इमानदार नरहेको उनकै व्यवहारले देखाइरहेको छ । तथापि सुशील कोइरालाजस्ता उचाइदार नेताले समेत तिनै सिटौलालाई आफ्नो वरिपरि राख्दा कोइराला स्वयम्को छविमा समेत धक्का पुगिरहेको छ । सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने कुनै व्यक्तिविशेषको नभई काङ्गे्रस पार्टीको सर्वसम्मत निर्णय हो । त्यसैले सिटौलालाई अघि सार्नुपर्ने कुनै कारण र अवस्था पनि देखिन्न । गत वर्षको मङ्सिरमा एमाओवादीसँग अनौपचारिक र गुप्त सम्झौता भएको भन्दै सिटौलाले ‘२०६९ वैशाखमा तपाईंलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने सहमति भएको’ सन्देश सुशील कोइरालालाई दिएका थिए । त्यसपछि जेठ १२ गते प्रधानमन्त्री बनाउने भन्दै सिटौला आफैँ बाबुराम सरकारमा उपप्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेला समयमै बुझेर सुशील कोइरालाले सरकारबाट फर्कन सिटौलालाई बाध्य नपारेको भए अहिले विभिन्न कुनाबाट बाबुरामको विकल्प भन्दै सिटौलाको नेतृत्वमा सहमतीय सरकार गठनको पासा फ्याँकिएको हुन्थ्यो । त्यसबेला सिटौलालाई उपप्रधानमन्त्री बनाइनुको मुख्य कारण पनि बाबुरामकै विकल्पका रूपमा विकास गर्नु थियो । ‘सुशीललाई बनाउने’ भन्दै सिटौलाले पार्टीको महामन्त्री र सरकारमा उपप्रधानमन्त्रीसम्मको पद पड्काइसकेका छन् । एकताका रमेशनाथ पाण्डे नामक एक पात्र यसैगरी खेल्दाखेल्दै विभिन्न उच्च पद प्राप्त गर्न सफल भएका थिए । ०६२ पछि नयाँ रमेशनाथका रूपमा उदाएका सिटौलालाई ठीक ठाउँमा राख्न सकिएन भने काङ्गे्रस, प्रजातन्त्र र स्वयम् सुशील कोइरालाका निम्ति थप प्रतिकूलताको स्थिति उत्पन्न हुनसक्ने सङ्केतहरू देखिएका छन् । सुशील कोइरालालाई देखाएर छिमेकी मित्रराष्ट्र भारतलाई ठग्ने, भारत देखाएर प्रचण्डलाई ठग्ने र प्रचण्ड देखाएर सुशीललाई ठग्ने सिटौलाको भरपर्दा गिरिजाप्रसाद कोइरालाले अन्तिम अवस्थामा अपमानितझैं हुनुपर्‍यो र काङ्गे्रस तथा प्रजातन्त्रले समेत गम्भीर सङ्कटको सामना गर्नुपरेको तर्फ कोइरालाको ध्यान जाने हो भने जटिलता पैदा गरेर आफ्नो स्थान बनाउने झापाका सिटौला झापामै सीमित हुने निश्चित छ ।

जनताको निक्षेपमा व्यापारीको मस्ती
एकै व्यक्ति बैंक, बिमा कम्पनी र उद्योगको मालिक
जनताको पैसामा उद्योग–व्यवसाय गर्ने र कारणवश क्षति पुगेमा जनताकै पैसाबाट असुलउपर गरी लिने धन्दा अपराध हो कि व्यवसाय, अब प्रश्न उठेको छ । सरकार तथा नियमक निकाय नेपाल राष्ट्र बैंक व्यापारीहरूप्रति ‘नतमस्तक’ भएका कारण यसप्रकारको ठगी धन्दा गर्नेहरूले मस्तीको मौका पाइरहेका छन् । नेपालमा लामो समयदेखि एउटै व्यक्ति बैंकमालिक, उद्योग व्यवसायको लगानीकर्ता र बिमा कम्पनी सञ्चालक रहँदै आएका छन्् । उद्योगी घरनाका नाममा प्रख्यात रहेको र सरकारले आर्थिक अपराधअन्तर्गतको कालोसूचीमा राखेका व्यक्तिहरूको लगानी यी तीनवटै क्षेत्रमा प्रसस्तै रहेको छ । यस्ता व्यापारीहरूले आफ्नो व्यवसायमा कृत्रिम क्षति देखाएर बिमा कम्पनीबाट मोटो रकम असुलिरहेका छन् ।
बिमा कम्पनी तथा बैंकमा सर्वसाधारणले पैसा जम्मा गर्ने गर्छन् । तर, जनताले जम्मा गरेको पैसामा नेपालमा व्यवसाय गरिरहेका तथा व्यापारको नाममा अन्य धन्दामा संलग्न रहेका व्यक्तिहरूले मस्ती गरिरहँदा पनि सरकार तमासे मात्र बनेको छ । उसले कसैलाई कारबाही गर्न सकेको छैन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि नेपालमा एकै व्यक्तिले धेरै क्षेत्रमा लगानी गरिरहेको बताउँछन् । ‘बैंक तथा इन्स्योरेन्समा समेत लगानी गर्नु नेपालका उद्योगीका लागि पहिलो ध्येय बन्ने गरेकाले एउटै ग्रुपले धेरैतिर होल्ड गरिरहेको देखिन्छ,’ ज्ञवालीको भनाइ थियो, ‘साना–ठूला सबै व्यापारीले बैंक तथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन्,’
उनले थपे, ‘एकै व्यक्तिले धेरैतिर लगानी गर्न पाउने–नपाउने भन्ने कुनै नीतिनियम नभएकोले यस्तो देखिएको छ ।’ उनले यसबारेमा निकैतिरबाट कुरा उठे पनि केही गर्न नसकिएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव राजन खनालले पनि एकै व्यक्तिले धेरैतिर लगानी गरेको र यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उठेको बताए । एकै व्यक्तिले बैंक, इन्स्योरेन्स तथा उद्योगमा लगानी गर्दा सबैतिर प्रभावमा पारेर आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने भएकोले धेरैले सबैतिर लगानी गरेको देखिन्छ । ‘अहिले त्यस्तै देखिएको छ,’ उनले भने, ‘सर्वसाधारणको रकममा सीमित व्यापारीले फाइदा उठाइरहेको देखिन्छ ।’
यसरी जनताको पैसामा मस्ती गर्ने ठगी धन्दाका सबभन्दा ठूला खलनायकका रूपमा राजेन्द्र खेतान देखिएका छन् । उनले खेतान समूहका नाममा जनताको पैसामा मस्ती गरिरहेका छन् । खेतान कर छलीमा पनि अगाडि नै रहेका छन् । उनको बियर कम्पनीले कर छलेपछि सरकारले दुई वर्षअघि दश करोड तिराएको थियो । तर, उनको कम्पनीले ९० करोडभन्दा बढी कर तिर्नुपर्ने अवस्था रहेको बताइन्छ ।
नेकपा मालेलाई मोटो रकम चढाएर सभासद्समेत बनेका राजेन्द्र खेतानले लक्ष्मी बैंकमा लगानी गरेका छन् । उनले बैंक अफ काठमाडौंमा करोडौँको सेकेन्डरी सेयर किनेर आफ्नो लगानी भित्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कुनै पनि एउटा बैंकमा १५ प्रतिशतभन्दा सेयर छ भने अन्य बैंकमा एक प्रतिशतभन्दा बढी लगानी गर्न पाइँदैन । तर, खेतानलाई त्यो नियमले छोएको छैन । खेतान प्राइम लाइफ र एभरेस्ट इन्स्योरेन्सका पनि मालिक हुन् । उनले ती दुबै इन्स्योरेन्सबाट सङ्कलन भएको जनताको पैसामा रजाइँ गरिरहेका छन् । खेतानले केही समयअघि बनेपास्थित मायोज चाउचाउको कारखानामा आगलागी भएको भनी नक्कली क्षतिको विवरण बनाएर आफ्नै इन्स्योरेन्स कम्पनीबाट चार करोडभन्दा बढी रकम लिएका थिए । यसमा राजेन्द्रसँगै प्रेमप्रकाश खेतान, गोपीकृष्ण सिकरिया, कुमारकिशोर विष्ट, नारायण बजाजलगायतका व्यापारी पनि सहभागी भएका छन् ।
यस्तै, त्रिवेणी ग्रुप, अग्रवाल समूह, माडवारी समूह, एनबी ग्रुप, चौधरी ग्रुप, दुगड, केडिया, ज्योतिलगायतका व्यापारी घरनाहरू रहेका छन् । यी ग्रुपमा आबद्ध व्यापारीमा चौधरीबाहेक सबैले बैंकबाहेक इन्स्योरेन्समा समेत लगानी गरेका छन् । नेपालमा सरकारी लगानीका जम्मा तीनवटा बैंक छन् । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पूर्ण लगानी छ भने नेपाल बैंकमा लगभग ५० प्रतिशत र कृषि विकास बैंकमा त्यसभन्दा केही कम र बाँकी निजी क्षेत्रको लगानी छ ।
नेपालमा कृषि विकास, बैंक अफ एसिया लिमिटेड, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन, सिभिल, कमर्ज एन्ड टुरिजम बैंक नेपाल, डीसीबीएल, एभरेस्ट, हिमालयन, जनता बैंक, नेपाल लिमिटेड, किस्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, लुम्बिनी, माछापुच्छ«े बैंक लिमिटेड, मेघा, नबिल बैंक, नेपाल बंगलादेश, नेपाल क्रेडिट एन्ड कमर्ज, नेपाल इन्डष्ट्रियल एन्ड कमर्स बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, एनएमबी, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, सानिमा, सिद्धार्थ, स्ट्यान्डर चार्टर्ड तथा सनराइज गरी ३२ वटा बैंक रहेका छन् । त्यस्तै ९० को हाराहारीमा विकास बैंक र फाइनान्स कम्पनीहरू नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यी सबै वित्तीय निकायको नेतृत्वमा साना ठूला व्यापारीकै हालिमुहाली छ ।
यसैगरी प्राइम लाइफ, गुराँस, एलआइसी, एभरेस्ट, एनबी, एसिएन लाइफ, एसिएन इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, प्र्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सगरमाथा इन्स्योरेन्स, एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत २० वटा इन्स्योरेन्स कम्पनी छन् । त्यसमा आठवटाले जीवनबिमा र बाँकी भौतिक वस्तुहरूको बिमा गर्छन् । यी इन्स्योरेन्स कम्पनीमा उद्योगी–व्यापारीहरूले लगानी गरेका छन् । तर, चौधरी ग्रुपले अहिलेसम्म इन्स्योरेन्स कम्पनीमा लगानी गरेको देखिएको छैन । अन्यले भने व्यापार, बैंक तथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् । उनीहरू उद्योगको नाफा, बैंकबाट आएको फाइदा तथा कृत्रिम क्षतिका नाममा इन्स्योरेन्सबाट रकम लिने कार्यमा उद्यत् रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सनराइज बैंकमा लगानी गर्नेहरूले गुराँस लाइफ इन्स्योरेन्समा लगानी गरेका छन् । यसमा दुगड ग्रुपको हालिमुहाली छ भने अग्रपङ्क्तिमा मोतिलाल दुगड, मालचन्द दुगड, ज्योतिकुमार बेगनी, हिमबहादुर रावल, दीपक नेपाल, विशाल ततेरलगायतका रहेका छन् । त्यस्तै तोलामार दुगड, अनिलकुमार सिंह, सरोज दुगड, कृष्ण अग्रवाल, सुरेन्द्र दुगडको पनि लगानी रहेको छ । यो समूहले पनि विभिन्न समयमा आफ्ना उद्योगमा कृत्रिम आगलागी गराएर गुराँस लाइफ इन्स्योरेन्सबाट भारी मात्रामा नगद लगेको इन्स्योरेन्सका एक कर्मचारीले जानकारी दिए ।
सिटी सेन्टर, बिग सिनेमा, विश्वकर्मा सिमेन्टजस्ता ठूला उद्योगहरूका सञ्चालकहरूले बंैक अफ एसियामा लगानी गरेका छन् । यही ग्रुपले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि लगानी गरेका छन् । विशेषगरी बंैक अफ एसिया तथा नेपाल लाइफ इन्स्योरेन्समा त्रिवेणी ग्रुपको लगानी छ । यसको नेतृत्व पुरुषोत्तमलाल संघाईले गरेका छन् । संघाईले नेपालका विभिन्न उद्योगमा पनि हात हालेका छन् । त्यस्तै गोविन्दलाल संघाई, रामअवतार अग्रवाल, रमेश गुप्ता, कमलेशकुमार अग्रवाल, प्रकाश मुन्दारा, हरिशचन्द्र सुवेदीलगायतले लगानी गरेका छन् । यी सबै नेपालका व्यापारी हुन् । उनीहरूले बंैक अफ एसियासँगै अन्य बैंकहरूमा पनि लगानी गरेका छन् ।
एनबी बैंक, एनसीसी बैंक र एनबी इन्स्योरेन्स पनि एउटै ग्रुपका व्यापारीहरूले लगानी गरेका छन् । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड एनबी गु्रपका संस्थापक स्वर्गीय एनबी श्रेष्ठले स्थापना गरेका हुन् । यस ग्रुपले पनि विभिन्न उद्योग, व्यापारिक कम्पनी, वित्तीय संस्थाहरू नेपाल बंगलादेश बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., नेपाल श्रीलंका मर्चेन्ट बैंक लि., नेपाल बंगलादेश फाइनान्स एन्ड लिमिटेड कम्पनी, हरिसिद्धि इँटा तथा टायल कारखाना र नेसनल हाइड्रोपावर कम्पनीलगायतमा लगानी गरेका छन् । जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, गौरीशंकर चौधरी, जेन श्रेष्ठ, मोहनबहादुर बस्नेत, इन्द्रबहादुर थापा, गोविन्दबहादुर तिवारीलगायतका व्यापारीहरू यसका लगानीकर्ता हुन् । उनीहरूमध्ये जितबहादुर र लक्ष्मीबहादुर श्रेष्ठ कालोसूचीमा परेका व्यापारी पनि हुन् । संयोग नै मान्नुपर्छ यस ग्रुपले सञ्चालन गरेको उद्योग सफल भएको देखिएको छैन ।
सिद्धार्थ बैंक पनि केडिया अर्गनाइजेसन तथा सिद्धार्थ ग्रुपको प्रमुख लगानीमा सञ्चालित छ । यस ग्रुपले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड पनि सञ्चालन गरेका छन् । यसमा केडिया ग्रुपका कार्यकारी निर्देशक मनोजकुमार केडिया, सिद्धार्थ ग्रुपका निर्देशक जगदीशकुमार अग्रवालको प्रमुख लगानी छ, त्यस्तै पवनकुमार अग्रवाल, शम्भुनाथ गौतमको पनि लगानी छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, जनार्दनदेव पन्त, दिव्यकुमार अधिकारीलगायतको लगानी छ । यस इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने व्यापारीहरूले पनि सिद्धार्थ बैंक, हिमालयन बैंक तथा विभिन्न प्रकारका ड्राइफुड उत्पादन कम्पनी, फाइनान्स कम्पनीलगायतमा लगानी गरेका छन् ।
सेन्चुरी बैंकमा व्यापारीहरू कुसन प्रधान, विसन शाक्य, रवि केसी, प्रफुल्लकुमार काफ्ले, राजेन्द्रप्रसाद श्रेष्ठलगायतको लगानी छ । सिभिल बैंकमा उद्योगी इच्छाराज तामाङ, प्रकाश तयाललगायतको लगानी छ । नेपाल एन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले बैंक अफ काठमाडौंमा लगानी गरेका छन् । बैंकमा रामनाथ ढुङ्गेल, गोविन्दप्रसाद शर्मा, नरेन्द्रकुमार बस्नेतलगायतका छन् । हिमालयन बैंकमा खेतान समूहको पनि केही प्रतिशत लगानी छ, त्यस्तै मनोजबहादुर श्रेष्ठ, विजय श्रेष्ठलगायतका व्यापारीहरूको पनि लगानी छ हिमालयन बैंकमा । ग्रान्ड बैंक नेपाल लिमिटेडमा अग्रवाल समूहको वर्चस्व रहेको छ । जगदीश अग्रवाल, सुविप गुरुङ कोने, जगदीश अग्रवाल अग्रपङ्क्तिका लगानीकर्ता हुन् । चौधरी ग्रुपले नबिल बैंकमा लगानी गरेको छ । प्रदीपमान वैद्य समूहले सेन्चुरी बैंकमा लगानी गरेको छ । यी बैंकहरूका लगानीकर्ताहरूले पनि विभिन्न इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड पनि उद्योगीहरूले नै सञ्चालन गरेका हुन् । इन्स्योरेन्समा कृष्णप्रसाद आचार्य, राजीवविक्रम शाह, भरत बस्नेत, अनमोल सिंह, कृष्णप्रसाद मल्ली, प्रेरणाराज्यलक्ष्मी सिंह, सञ्जयबहादुर शाहलगायतको लगानी रहेको छ । यसका लगानीकर्ताहरूले पनि होटल तथा बैंक र फाइनान्समा लगानी गरेका छन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उद्योगीहरूले नै चलाएका छन् । लिमिटेडको अध्यक्षमा रामबाबु पन्त छन् भने अन्यमा आशीषकुमार आग्रवाल, महेशकुमार अग्रवाल, हेमन्त नाथलगायतका छन् ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बैंकर, व्यापारी, सरकारका पूर्वकर्मचारी मिलेर सञ्चालन गरिएको छ भने विजयकुमार सराबगी, दिनेशलाल श्रेष्ठ, श्यामसुन्दर रोङगत, दीपकुमार श्रेष्ठ, सुरेश चाचन, रविकुमार गुप्ता, राजेशकुमार श्रेष्ठलगायतले लगानी गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड सरकारी तथा निजी क्षेत्रका व्यापारीको लगानीमा सञ्चालित छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड भारत र नेपालका उद्योगपतिहरूले सञ्चालन गरेका छन् ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालका विशिष्ट उद्योगपति, व्यापारिक समूहका साथै विदेशी लगानीकर्ताहरूको समेत संलग्नतामा सञ्चालित छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, साल्ट टे«डिङ लिमिटेड, गोल्छा अर्गनाइजेसन, ज्योति ग्रुप, एमसी ग्रुप, नेसनल फाइनान्स कम्पनी लिमिटेड, नेपाल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनलगायतको लगानीमा सञ्चालिन यस ग्रुपमा आबद्ध व्यापारीहरूले विभिन्न बंैक तथा हाइड्रोपावरलगायतका क्षेत्रमा लगानी गरेका छन् । यसमा रामकृष्ण मानन्धर, पद्म ज्योति, अशोक तोडी, कृष्टिकुमार जोशी, लोकमान्य गोल्छा, ज्ञानेन्द्रलाल श्रेष्ठ अग्रपङ्क्तिका लगानीकर्ताहरू हुन् ।
नेको इन्स्योरेन्स लिमिटेड विदेशी लगानीमा सञ्चालित इन्स्योरेन्स हो । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै बैंकर तथा उद्योगपतिले चलाएका छन् । इन्स्योरेन्सका अनुसार वीरेन्द्रकुमार संघाई निर्देशक त्रिवेणी ग्रुप, विशाल अग्रवाल विशाल ग्रुपका निर्देशक, श्रवण अग्रवाल माडवारी सेवा समिति तथा राजेश मित्तल क्राफ्टका अध्यक्षलगायतका व्यापारीहरूको लगानी छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड हवाई तथा होटललगायतका क्षेत्रका व्यक्तिहरूको लगानी छ । त्यस्तै अन्य व्यवसायमा आबद्ध गौरव अग्रवाल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रदीपजंग पाण्डे, किरणशंकर अमात्य, आईपी कर्मचार्यलगायतका उद्योगीको लगानी रहेको छ । पाण्डेको सिटिजन्स बैंकमा पनि लगानी रहेको छ ।
यसरी एकै व्यक्ति, ग्रुप वा ग्रुपमा आबद्ध व्यक्तिहरूको परिवारले बैंक, इन्स्योरेन्स तथा अन्य व्यापारिक कम्पनीहरूमा लगानी गर्न नदिने हो भने मात्र सर्वसाधारणको रकम सुरक्षित हुने देखिन्छ । त्यसैले सरकारले यसबारे तत्कालै कानुन बनाएर लागू गर्नुपर्ने देखिएको छ ।

निजी विमान चढ्ने उद्यमी परिवारको दाम्पत्यजीवन सङ्कटमा
नेपालमा निजी विमान प्रयोग गर्ने प्रथम व्यक्ति उद्यमी विनोद चौधरी भएका छन् । चौधरीले विशेष सुविधाजनक सोह्र सिट भएको बिजनेस जेट विमान केही अघि खरिद गरी भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर भाडामा लिई राखेका छन् । विमानको बाहिरपट्टि विनोद चौधरी जनाउने गरी अङ्गे्रजीको बीसी अक्षर लेखिएको छ । उनले उक्त विजनेस जेट विमान नेपालमा भने अहिलेसम्म ल्याएका छैनन् र विमान लिएर नेपाल नआउनुको कारण बुझ्न सकिएको छैन । जे होस्, विनोद चौधरी निजी जेट विमान प्रयोग गर्ने प्रथम नेपाली भने बनेका छन् । स्मरणीय छ, नेपालका ठूला करदातामध्ये चौधरीको नाम अग्रणी रहेको छ । तर, ०५८ मा राजदरबार हत्याकाण्डअघिसम्म भने विनोद चौधरी राष्ट्रिय वाणिज्य बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेका थिए । चौधरीले त्यसलाई आफूविरुद्धको षड्यन्त्र भएको बताउने गरेका छन् । राजा वीरेन्द्रको वंशनास हुनु र चौधरीको उन्नति अप्रत्यासित ढङ्गले हुनुलाई कतिपयले अनौठो संयोग मानेका छन् । चौधरीका आलोचकहरूले राजा वीरेन्द्र र रानी ऐश्वर्यले चौधरीमार्फत गरेको लगानीको जेठ १९, २०५८ पछि चौधरी आफैं मालिक बन्ने अवस्था आएकोले उनी अचानक चुलिएको टिप्पणी गर्ने गरेका छन् । तर, त्यसको कुनै प्रामाणिक आधारहरू फेला परेका छैनन् । र, विनोद चौधरीले त्यसलाई अस्वीकार गरेका छन् । आफ्नो बद्नाम गर्न चाहने र ईष्र्या गर्नेहरूले यसप्रकारको प्रचार गरेको चौधरीको भनाइ छ । उद्योग र व्यापारको विभिन्न विधामा संलग्न विनोद चौधरीको वाइवाइ चाउचाउ नेपाल र भारतमा निकै लोकप्रिय मानिन्छ । तर, चाउचाउ मात्र बेचेर उनी निजी जेट प्रयोग गर्ने हैसियतमा पुगेका भने होइनन् । चौधरीका अन्य विभिन्न उद्योग–व्यवसाय पनि छन् ।
यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार विनोद चौधरीको छोरा निर्वाण चौधरीको वैवाहिक सम्बन्धमा सङ्कट उत्पन्न भएको छ । भारतका ख्यातिप्राप्त उद्यमी लक्ष्मी मित्तलकी भितिजीसँग प्रणयसूत्रमा बाँधिएका निर्वाण पत्नीका कारण निकै तनावमा रहेका र अहिले उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको बुझिएको छ । निर्वाणको तर्फबाट बहुचर्चित अधिवक्ता शम्भु थापाले मुद्दा हेरिरहनुभएको बताइएको छ । पति–पत्नीबीच तनावको कारण आर्थिक भएको र ठूलो खर्च गर्ने बानी परेकी मित्तलपुत्रीलाई पाल्न निर्वाणलाई मुस्किल पर्न थालेपछि दुईबीचको सम्बन्धमा दरार पैदा भएको चौधरीको पारिवारिक सूत्रले जनाएको छ । करिब तीन वर्षअघि निर्वाण चौधरीको विवाह भव्यतापूर्वक भारतको पर्यटकीय सहर गोवामा गरिएको थियो । नेपाल र भारतमा आयोजित शृङ्खलाबद्ध भोजमा करोडौँ रुपैयाँ खर्च भएको थियो । वैवाहिक समारोह र भोजभतेर भव्य गर्दैमा पारिवारिक जीवन पनि भव्यतापूर्वक चल्छ भन्ने सोच्नु गलत भएको प्रमाण निर्वाण चौधरीले दिएका छन् ।

डीआईजी बढुवामा आईजीपीलाई सकस
नेपाल प्रहरीमा नयाँ डीआईजीहरूको छनोट महानिरीक्षक कुवेरसिंह रानाका लागि फलामको च्यूरा चपाउनुसरह बनेको छ । यसअघिका बढुवाहरूमा नगदको प्रलोभनमा परी वरिष्ठभन्दा कनिष्टलाई प्राथमिकतामा राख्ने गृहमन्त्री विजयकुमार गच्छदारले यसपालिचाहिँ पुराना एसएसपीहरूबाट ‘झर्ने’ भएपछि सक्षमहरूलाई पाखा लगाएर वरिष्ठको नाममा बद्नाम र अक्षमहरूलाई डीआईजीपी बनाउने अड्डी लिएकोले आईजीपी राना सकसमा परेका हुन् । बरियतालाई मात्र आधार बनाएर बढुवा गर्दा कुनै न कुनै प्रकारको घोटाला र अनियमिततामा मुछिएर कारबाही भोगी बद्नाम भएका श्याम खड्का, रविप्रताप राणा, ज्ञानोद वैद्य, मनोहर रिमाल, पूर्णसिंह खड्का, पे्रमबहादुर चन्द र रामकुमार खनालमध्ये पाँचजना पर्नेछन् । तर, यी पाँचमध्ये जो–कसैलाई बढुवा गरे पनि प्रहरी सङ्गठन धराशायी बन्ने सम्भावना रहेको बताइन्छ । यसपालि डीआईजी बनेकाहरूमध्येबाट नै भावी महानिरीक्षक बन्ने भएकोले पनि प्रहरी नेतृत्वले बढुवालाई गम्भीरतापूर्वक लिएको बुझिन्छ । प्रहरी सङ्गठनमा एसएसपीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, देवेन्द्र सुवेदी र बमबहादुर कार्कीलाई कार्यक्षमताका दृष्टिले अब्बल मानिन्छ । उल्लिखित पाँच प्रहरी अधिकृतलाई पाखा लगाउँदै बरियतालाई मात्र आधार बनाएर पुरानालाई बढुवा गरियो भने प्रहरी सङ्गठनको इतिहासमा सर्वाधिक दुर्भाग्यपूर्ण घटना हुने ठानिन्छ । गृहसचिव नवीन घिमिरे र आईजीपी राना सक्षम अधिकृतहरूलाई डीआईजी बनाएर भावी नेतृत्वको ढोका खोल्ने पक्षमा दृढतापूर्वक उभिएकोले प्रहरी सङ्गठन तहसनहस तुल्याउने गृहमन्त्रीको आकाङ्क्षा अहिलेसम्म पूरा हुन सकेको छैन । त्यसैले प्रधानमन्त्री स्वयम्ले हस्तक्षेप गरेर भए पनि प्रहरी सङ्गठनको भविष्य जोगाउन आवश्यक देखिएको छ ।

‘स्थानीय र संसदीय निर्वाचन एउटै मितिमा हुन सक्दैन’
आगामी निर्वाचन र स्थानीय निकायको निर्वाचन एउटै मितिमा हुन नसक्ने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले स्पष्ट पारेका छन् । स्थानीय निकायको निर्वाचनको चर्चा चलिरहेको र सरकारले निर्वाचनको महिना पनि तोकिसकेको अवस्थामा गुरुङले प्राविधिक रूपमा एउटै मितिमा दुईवटा निर्वाचन नहुने ठोकुवा गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राविधिक र बजेटको हिसावले एउटै मितिमा दुईवटा निर्वाचन हुन नसक्ने तर संसदीय वा संविधानसभाको निर्वाचनपछि स्थानीय निकायको निर्वाचन गर्न सकिने बताए । उनले तिथि, मिति र विधि दिएमा आगामी वैशाखमा चुनाव गर्न सम्भव हुने बताएका छन् । तत्काल राजनीतिक सहमति, ऐनकानुन संशोधन र मिति तोक्न राजनीतिक दलहरू सहमत नभएकाले मात्रै समस्या उत्पन्न भएको उनको भनाइ छ ।
निर्वाचन आयोगले एक करोड आठ लाख नागरिकता लिएका नागरिकसँग प्रत्यक्ष सम्पर्क गरिसकेको जनाएको छ । मौसमको दृष्टिकोणले पनि वैशाखमा निर्वाचन गर्नु उपयुक्त हुने भएकाले पनि तत्काल संवैधानिक जटिलता हटाउन र राजनीतिक सहमति गरी निर्वाचनको दिन तोक्नुपर्ने आयुक्त गुरुङको भनाइ छ । उनले निर्वाचन हुने मितिको एक सय २० दिन अगावै कानुनी अड्चनको अन्त्य गरिए निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताए । एक सय २० दिन अर्थात् चार महिना समय दिएमा एक महिना विदेशी पर्यवेक्षकसँगको समन्वयमा लाग्ने उनको भनाइ छ । निर्वाचन आयोगले अब हुने निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरेको छ । अहिलेसम्म नेपालमा राम्रोसँग निर्वाचन नभएको अवस्थामा विद्युतीय मेसिनले गर्दा आगामी निर्वाचन अहिलेसम्मकै राम्रो हुने उनको दाबी छ । राजनीतिक सहमतिको आधारमा विदेशमा बस्ने नेपालीले पनि निर्वाचनमा भाग लिन पाउने उनको भनाइ छ । उनले निर्वाचन हुने मिति ७५ दिनमात्रै बाँकी छँदासम्म मतदाता नामावलीमा नाम भर्ने काम जारी राख्ने जानकारी दिएका छन् ।
गुरुङले निर्वाचन नै लोकतन्त्रको अनिवार्य सर्त भएकाले त्यसमा लाग्न र गाउँगाउँमा आफ्नो पार्टीका व्यक्तिलाई मतदाता नामावलीमा नाम लेखाउनका लागि सहयोग गर्न राजनीतिक दललाई आग्रह गरेका छन् ।
निर्वाचन आयुक्त गुरुङले जनचेतना कार्यक्रमका लागि आयोग मात्रै पर्याप्त नहुने भएकाले यसमा सबैको सहयोग अपरिहार्य भएको भन्दै निर्वाचन अत्यन्त संवेदनशील र प्राविधिक विषय भएकाले सबै पूर्ण जिम्मेवारीका साथ लाग्नुपर्ने बताएका छन् ।
– छविलाल बगाले

सञ्जालद्वारा आक्रमणको भत्र्सना
नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका मध्यमाञ्चल उपाध्यक्ष दामोदरप्रसाद दवाडीद्वारा सञ्चालित पुष्पाञ्जली छापाखानामा अज्ञात समूहद्वारा गरिएको तोडफोडको सञ्जालले भत्र्सना गरेको छ । नयाँ विकल्प साप्ताहिकका प्रकाशक/सम्पादक समेत रहेका दवाडीको कार्यालयमा गत बिहिबार अपरिचित व्यक्तिहरूको समूहले तोडफोड गर्दा कम्प्युटरलगायतका सामानहरुमा क्षति पुगेको थियो । सञ्जालले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै शारीरिक, मानसिक र भौतिक रुपबाट क्षति पुर्‍याउने गरी भएको आक्रमणबारे छानबिन गरी आक्रमणकारी पत्ता लगाएर कारबाही गर्न माग गरेको छ ।

महायज्ञबाट पौने पाँच करोड सङ्कलन
पोखरास्थित भारती भवन उच्च माविमा क्याम्पस सञ्चालानार्थ आवश्यक अर्थ–सङ्कलनका लागि आयोजित ज्ञान महायज्ञमा करिव ४ करोड ७५ लाख दान–सहयोग सङ्कलन भएको छ । २ करोड रकम सङ्कलन गर्ने उद्देश्य राखिएको महायज्ञमा दोब्बरभन्दा बढी रकम उठेपछि आयोजक तथा स्थानीयवासीमा हर्ष छाएको छ । गत मङ्सिर २४ देखि पुस १ गतेसम्म आयोजित महायज्ञमा युवा पण्डित दीनबन्धु पोखरेलले धार्मिक प्रवचन दिनुभएको थियो । ज्ञान महायज्ञमार्फत् समाजमा शान्ति र समृद्धिको चेतना छर्ने अभियानका अभियन्ता पण्डित पोखरेलको मनमोहक एवम् ज्ञानवद्र्धक प्रवचनबाट सम्मोहित भएर दाताहरुले मनग्गे अर्थदान गरेका बताइएको छ ।
– हेमराज लम्साल

लुम्बिनी एक्स्पोमा हेलिकोप्टर सवारी र अस्ट्रिच मुख्य आकर्षण
रूपन्देही व्यापार सङ्घको आयोजनामा आगामी शुक्रबार (पुस ६) देखि १७ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका अवसरमा हेलिकोप्टरबाट यात्रा गर्ने व्यवस्था मिलाइने भएको छ । मेलामा सहभागी हुन आउने दर्शकलाई आकर्षित गर्न र धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गराउन मेला आयोजकले हेलिकोप्टर यात्राको व्यवस्था मिलाउने भएको हो । मेला अवलोकन गर्न आउने दर्शकलाई हेलिकोप्टरबाट यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरू बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाको सिद्धबाबा धाम, अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक जितगढी किल्ला, बुटवल मणिमुकुन्द सेन, हिलपार्क, मुक्तिनाथ धाम, वसन्तपुरलगायतको अवलोकन गराइने जानकारी आयोजकले दिएका छन् ।
त्यस्तै, उड्न नसक्ने प्रजातिको विश्वकै अग्लो चरा अस्ट्रिच पनि प्रदर्शन गरिने भएकोले मेलामा यो प्रमुख आकर्षणको विषय बन्ने अनुमान गरिएको छ । उड्न नसक्ने प्रजातिमा सबैभन्दा ठूलो मानिएको उक्त चरा प्रतिघन्टा ८० किलोमिटरको गतिमा दौडन सक्छ ।
मेला आयोजक मूल समितिका संयोजक एवम् सङ्घका अध्यक्ष टंक पोखरेलका अनुसार मेलामा सहभागिताका लागि उद्योगी–व्यवसायी उत्साहित भएका छन् । मेलामा सहभागी हुने कृषिजन्य उत्पादन, दैनिक उपभोग्य वस्तु तथा सेवा, इलेक्ट्रिकल्स, सूचना प्रविधि, बैंक तथा वित्तीय संस्था, हस्तकला, गार्मेन्ट, अटोमोबाइल्सलगायतका स्टलहरूको छुट्टाछुट्टै पेभेलियन बनाइने भएको छ । मेलामा साढे पाँच सय स्टल रहने भएकाले यसको व्यवस्थापनमा मुख्य ध्यान दिइएको बताइएको छ ।
– चन्द्रकान्त खनाल

मानविकी डिनबाट ऐतिहासिक निर्णयको अपेक्षा
नेपालको उच्च शैक्षिक जगत्मा प्राज्ञिक व्यक्तित्वका रूपमा परिचित वरिष्ठ मानवशास्त्री एवम् नवनियुक्त मानविकी डिन प्रा.डा. चिन्तामणि पोखरेलबाट सात दिनभित्र ऐतिहासिक घोषणा हुने विश्वास नागरिक समाजले लिएको छ । विश्वविद्यालयमा पढाउने सबैले पीएचडी गर्नुपर्छ भन्ने सोच राख्ने उहाँबाट तिनीहरूका लागि दुईवर्षे पीएचडी कार्यक्रम तुरुन्त सुरु हुने, विश्वविद्यालयमा दक्ष जनशक्तिको अभाव हुँदै गएकोले रिटायर्ड प्रा.डा.लाई पनि सुपरभाइजरका रूपमा राख्न सकिने र बढीभन्दा बढी प्राध्यापकलाई वृत्ति विकास कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने र सुपरभाइजरलाई बढी जिम्मेवार तुल्याइनेजस्ता निर्णयको सम्भावना रहेको सो घोषणामा पर्ने विश्वास एकातिर नागरिक समाजले लिएको छ भने अर्कोतिर मानवतावाद, परोपकारिता, प्रजातान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वास नै डा. पोखरेलका जीवनशैली हुन् भन्ने नागरिक समाजको विश्वास छ ।

लुम्बिनीको विकासमा श्रीलङ्काले दर्शायो रुचि
लुम्बिनीको प्रवद्र्धन र विकासका लागि श्रीलङ्कन सरकारले हाल दिइरहेको सहयोगलाई जारी राख्दै आवश्यकताअनुसार त्यसमा वृद्धि गर्दै लैजाने बताएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका क्रममा श्रीलङ्काली संसद्का सभामुख चमल राजापाक्षले सो कुराको जानकारी गराएका हुन् । लुम्बिनीस्थित श्रीलङ्कन मन्दिरमा थेरावाद बुद्धिष्ट इन्स्टिच्युटको उद्घाटन गर्न गत साता उनी लुम्बिनी आएका हुन् । सो अवसरमा राजापाक्षले श्रीलङ्काली र नेपाली जनताबीच बुद्धिजम नाता रहेको उल्लेख गर्दै नेपाल र श्रीलङ्कन जनता तथा दुईदेशीय ऐतिहासिक सम्बन्ध अझै प्रगाढ बनाउन श्रीलङ्का सरकार सधैं अग्रसर रहेको पनि बताए । थेरावाद बुद्धिष्ट इन्स्टिच्युटको उद्घाटन सत्रमा नेपालका १० जना बालबालिकालाई भिक्षु पनि बनाइएको थियो ।
यसैबीच, लुम्बिनी विकास कोषको क्षेत्रभित्र रहेको श्रीलङ्कन सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित श्रीलङ्कन गेस्टहाउस छिट्टै सञ्चालनमा ल्याउने पनि राजापाक्षले जानकारी दिएका छन् ।

नेपाली सेनाले बनाएको सडक प्रधानमन्त्रीबाट उद्घाटन
नेपाली सेनाद्वारा निर्माणाधीन नाग्मा–गमगढी सडक (कर्णाली राजमार्ग)को उद्घाटन भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले गत आइतबार एक समारोहबीच सार्वजनिक यातायातको शुभारम्भ गर्नुभयो । कालिकोटको नाग्मागाडबाट जुम्ला जिल्ला हुँदै मुगुको गमगढीसम्मकोे ९३ किलोमिटर सडक निर्माणकार्य नेपाली सेनाले आर्थिक वर्ष ०६४/६५ चैतबाट सुरु गरेको थियो । यस सडक आयोजना कालिकोट जिल्लाको करिब १३ हजार फिट उचाइमा पर्ने घुच्चीको लेकलाई छलेर एक लाख १५ हजार फिट उचाइबाट ताल्चा विमानस्थल हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पुग्छ । यस आयोजनाको कुल लागत एक अर्ब ५८ करोड रहेकोमा सेनाबाट हालसम्म ५४ करोड रकम खर्च भएको बताइएको छ ।
यस राजमार्गले नेपाली भाषाको उद्गमस्थल, ऐतिहासिक सिंजा उपत्यका र रारा तालजस्तो पर्यटकीय महत्व बोकेको क्षेत्र तथा मुगुको सदरमुकाम गमगढीलाई राष्ट्रको यातायात सञ्जालमा जोड्ने काम गर्छ । निर्माण सम्पन्न भएपश्चात् नेपालकै अति दुर्गम तथा मानव विकासमा पछाडि परेको मुगुका बासिन्दाले गाँस, बास, स्वास्थ्य र शिक्षाको सुलभता र विकासको अनुभव गर्न पाउने छन् भने मुगुका साथै हुम्ला, जुम्ला र डोल्पामा उत्पादित विभिन्न कृषि तथा निकासीजन्य वनपैदावार वस्तुहरूले पनि सुगम रूपमा बजारसम्म पुग्ने मौका पाई आयआर्जनमा टेवा पुग्ने दाबी गरिएको छ ।

महानिरीक्षकले सुरु गरे ‘टेलिफोन सम्पर्क’
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले तल्लो दर्जाका प्रहरीसँग प्रत्यक्ष सम्पर्कमा रहेर उनीहरूका समस्या बुझ्ने क्रम सुरु गरेका छन् । यसका लागि उनले टेलिफोनलाई माध्यम बनाएका छन् भने प्रत्येक महिनाको मसान्तमा उनले मुलुकका विभिन्न स्थानमा कार्यरत प्रहरी हवल्दार तथा प्रहरी जवानको समस्या तथा गुनासा आफ्नै कार्यकक्षमा बसेर सुन्नेछन् । यसको प्रारम्भ गर्दै गत शनिबार महानिरीक्षक रानाले विभिन्न प्रहरी कार्यालय तथा दुर्गम स्थानमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूसँग फोनमा कुरा गरेका थिए । सो क्रममा महानिरीक्षक रानाले उनीहरूका समस्या फोनबाट नै सुनी निर्धक्क भएर कार्य सम्पादन गर्नसमेत आग्रह गरे । प्रहरी हवल्दार तथा प्रहरी जवानहरू प्रत्यक्ष रूपमा सधैंजसो जनताका माझ पुग्ने हुनाले ‘प्रहरी जनताको साथी हो’ भन्ने भावनाको अनुभूति दिलाउन उनीहरूको व्यवहार निकै हदसम्म प्रभावकारी हुने कुरा सो अवसरमा महानिरीक्षक रानाले सम्झाउने कोसिस गरेका थिए ।
महानिरीक्षकसँग टेलिफोनमा सीधा कुरा गर्न पाएको मौकामा प्रहरी हवल्दार तथा जवानहरूले आफ्नो पायक पर्ने क्षेत्रमा सरुवा जान, सरुवा, बढुवा तथा सेवा–सुविधाको उपलब्ध गराउन, परिवारसँगै बस्न, एउटै पेसामा रहेका प्रहरी कर्मचारी एकै स्थानमा जान पाउने व्यवस्था गर्न अनुरोध गरेका थिए । स्मरण रहोस्, प्रधानमन्त्री बाबुराम भट्टराईले पनि आमनागरिकसँग प्रत्यक्ष सम्पर्क गर्ने भन्दै रोडियो नेपालमार्फत महिनामा एकपटक टेलिफोन वार्ता गर्दै आएका छन् ।

महामनालाई बुझ्न तीन भाषामा एउटै पुस्तक
छिमेकी मित्रराष्ट्र भारतमा जन्मेर यस प्रायद्वीपमै सुधार र जागरणको अगुवाइ गर्नुहुने महामना मदनमोहन मालवीयका बारेमा एक गहकिलो पुस्तक हालै सार्वजनिक भएको छ । काशी हिन्दू विश्वविद्यालयका संस्थापक मालवीयजीले आफ्नो एउटै जीवनकालमा अनेक भूमिका निर्वाह गरेर मानिसले चाह्यो भने कतिसम्म गर्न सक्छन् भन्ने कुराको सजीव दृष्टान्त प्रस्तुत गर्नुभएको थियो र प्रकाशित पुस्तकले मालवीयजीको बहुआयामिक व्यक्तित्व तथा उहाँका योगदानबारे सुस्पष्ट गरेको छ । भारतीय राष्ट्रिय कङ्गे्रसको अध्यक्षका रूपमा चार कार्यकाल पूरा गर्नुभएका मालवीयजीले भारतको स्वतन्त्रतासङ्ग्राममा अगुवाको भूमिका निर्वाह गर्नुभएको थियो भने पत्रकारिताका माध्यमबाट समाजमा जागरण ल्याउन पनि उहाँको अतुलनीय योगदान थियो । वकालतमा समेत संलग्न मालवीयजीले पूर्वीय मूल्य, मान्यता र धर्म–संस्कृतिको जागरणका लागि दर्शाउनुभएको प्रतिबद्धता सदा स्मरणयोग्य छ । महामना मदनमोहन मालवीयजीको एक सय पचासौँ जन्मजयन्तीको अवसरमा ‘महामना मदनमोहन मालवीय स्मृतिपुष्प’ पुस्तकका रूपमा सार्वजनिक भएको छ । नेपाली, हिन्दी र अङ्गे्रजी तीन भाषाको एउटै पुस्तकमा नेपाल र भारतका ख्यातिप्राप्त विद्वान् तथा व्यक्तित्वहरूको लेख–रचना समाविष्ट छ । पुस्तकमा डा. कर्ण सिंह, चक्रप्रसाद बास्तोला, केभी राजन, अङ्गुरबाबा जोशी, डा. मोहनप्रसाद लोहनी, डा. सूर्यलाल अमात्य, पीएल जैसवाल, डा. स्वामी प्रपन्नाचार्य, मदनमणि दीक्षित, कमल दीक्षित, बलदेव मजगैयाँ, दीनबन्धु अर्याल, योगप्रसाद उपाध्याय, डा. मोहनमान सैंजु, ढुण्डीराज शास्त्री, महेशकुमार उपाध्याय, कमल कोइराला, विश्वबन्धु थापा, त्रिलोकनाथ चतुर्वेदी, सीताराम त्रिपाठी, अखिलेश्वरप्रसाद सिंह, डा. चूडामणि बन्धु, डा. हरेकृष्ण साहलगायतका व्यक्तित्वको लेख–रचना सङ्ग्रहित छन् । योगाचार्य जीएन सरस्वतीको विशेष सक्रियतामा प्रकाशित पुस्तकको सम्पादन जीवनचन्द्र कोइराला र डा. सञ्जीता बर्माले गर्नुभएको हो भने भारतीय राजदूतावास काठमाडौंको पनि पुस्तक प्रकाशनमा विशेष सहयोग रहेको छ । गोगाचार्य जीएन सरस्वती ‘महामना मालवीय मिसन’ नेपालका अध्यक्ष हुनुहुन्छ र उहाँले महामनालाई नेपालमा अमर बनाउन विशिष्ट भूमिका निर्वाह गर्दै आउनुभएको छ । कुल ४५६ पृष्ठको पुस्तकमा केही ऐतिहासिक तस्बिर पनि समाविष्ट छन् । पुस्तकमा नेपालका महामहिम राष्ट्रपति रामवरण यादव, भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, भारतका गृहमन्त्री सुशीलकुमार शिंदे, मणिपुरका सांसद थोक्चोम मेइन्या, उत्तर प्रदेशका पूर्वगभर्नर रोमेश भण्डारी, भारतका पूर्वमन्त्री डा. भीष्मनारायण सिंह, नेपालस्थित भारतीय राजदूत जयन्त प्रसादलगायत विशिष्ट व्यक्तित्वहरूको शुभकामना सन्देश समाविष्ट छ ।
समग्रमा पुस्तक एक सङ्ग्रहणीय सामग्री बन्न पुगेको छ । त्यसनिम्ति, योगाचार्य जीएन सरस्वती, पुस्तकका लेखक तथा सम्पादक बधाईको पात्र बन्नुभएको छ ।

बढ्दै छन् आईटीईसी कार्यक्रममार्फत दक्षता हासिल गर्ने नेपाली
भारतीय राजदूतावासले गत साता काठमाडौंमा मौलना आजाद तथा भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस आयोजना गर्‍यो । भारतीय सांस्कृतिक केन्द्रको सहयोगमा आयोजित उक्त कार्यक्रमका भारतका प्रथम शिक्षामन्त्री तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का संस्थापक मौलना अबुल कलाम आजादको १ सय २४औँ जन्मजयन्ती मनाइएको थियो भने शिक्षामन्त्री दीनानाथ शर्माले प्रमुख अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेपाल सरकारका वरिष्ठ प्रशासकहरू तथा भारतीय शैक्षिक संस्थाका दीक्षितहरूको समेत उपस्थिति रहेको कार्यक्रममा भारतीय संस्कृति केन्द्रका विद्यार्थीले सुमधुर प्रस्तुति गरेका थिए । भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’बाट सन् १९९२ मा मरणोपरान्त विभूषित आजादको जन्मदिवस राष्ट्रिय शिक्षा दिवसको रूपमा भारतभरि मनाइन्छ ।
भारतको शिक्षामन्त्रीका रूपमा मौलना आजादले भारतीय प्राविधिक शिक्षालय तथा राष्ट्रमा उच्च शिक्षाको विकास र अनुगमन गर्ने एक महत्वपूर्ण निकाय विश्वविद्यालय अनुदान आयोगको जग बसालेका थिए । भारत बढ्दो विश्वविद्यालय र कलेजसहित सिकाइको केन्द्र बन्न सफल हुनुको पछाडि मौलना आजादजस्ता महत्वपूर्ण व्यक्तिहरूको प्रयास रहेको भन्दै छिमेकी भारतले उनको कामको ठूलो कदर गर्दै आएको छ । विज्ञान, प्रविधि, परम्परागत कला, मानविकी आदि विविध विषयमार्फत ज्ञान वितरणका लागि यी विश्वविद्यालय तथा उच्च शिक्षा एवम् अनुसन्धान प्रतिष्ठानहरूको महत्वपूर्ण योगदान रहेको छ भने नेपालजस्ता मित्रवत् राष्ट्रका विद्यार्थीलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद् तथा भारतीय प्राविधिक शिक्षा सहकार्यमार्फत यी केन्द्रहरूले आफ्ना दक्षताहरू बाँडिरहेका छन् ।
‘आईटीईसी’का नामले प्रख्यात भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम भारत सरकारको दुईपक्षीय सहयोग कार्यक्रमको रूपमा सन् १९६४ मा लागू गरिएको थियो । आईटीईसी तथा यसको कोरोलरी एससीएएपी (अफ्रिका कार्यक्रमका लागि कमनवेल्थ विशेष सहयोग)बाट भारतको विकास अनुभवलाई बाँड्न आमन्त्रण गरेअनुरूप एसिया, पूर्वीयुरोप, मध्यएसिया, अफ्रिका र ल्याटिन अमेरिकाका एक सय ५६ देशहरूले भारत स्वतन्त्रताको ६ दशकभन्दा अघिदेखि सहयोग पाएका छन् ।
यस कार्यक्रममा बाह्रजना नेपाली सहभागीसहितको प्रथम समूह सन् २००० मा भारत गएको थियो । हालसम्म आईटीईसी कार्यक्रमअन्तर्गत सन् २००० मा छुट्याइएको १२ कोटालाई बाह्र वर्षमा दुई सय पुर्‍याइएको छ । आईटीईसी कार्यक्रमअन्तर्गत नेपाल सरकार साथै निजी तथा सार्वजनिक क्षेत्रका व्यक्तिहरूले भारतका ख्यातिप्राप्त संस्थानहरूबाट कम्प्युटर, इन्जिनियरिङ, पत्रकारिता, बैंकिङ, विधायकी, ऊर्जा, रिमोट सेन्सिङ, मानव संसाधन अनुसन्धान, शिक्षा, महिला सशक्तीकरण, जलविज्ञान, कानुनको कार्यान्वयन, व्यापार योजना तथा प्रवद्र्धन, लेखा तथा वित्त इत्यादि क्षेत्रमा तालिम प्राप्त गरिसकेका छन् । सन् २००० देखि हालसम्म नेपालका ६५० भन्दा बढी सहभागी भारतमा छोटो अवधिका पाठ्यक्रममा सहभागी भई लाभान्वित भएका छन् । आईटीईसी आपसी हितका लागि सहयोग तथा साझेदारीसँग सम्बन्धित छ । विकासोन्मुख देशहरूको अनुरोधअनुसार यसले ती देशहरूका आवश्यकतालाई सम्बोधन गर्दछ ।
आईटीईसी साझेदार देशहरूबाट छानिएका उम्मेदवारहरूलाई भारतमा तालिम, परियोजना तथा परियोजनासँग सम्बन्धित क्रियाकलापहरूको सम्भाव्यता अध्ययन तथा परामर्श सेवा, भारतीय विज्ञहरूलाई विदेशमा काज, अध्ययन भ्रमणहरू र विपत्ति राहत सहयोग गरी आईटीईसीका पाँच अङ्गहरू छन् । भारतले आईटीईसी गतिविधिका लागि वार्षिक ८० करोडभन्दा बढी खर्च गर्दछ । जसअनुसार सन् १९६४ देखि यस कार्यक्रमअन्तर्गत छिमेकी देशसहित अन्य विकासोन्मुख देशहरूलाई उसले दुई अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको प्राविधिक सहयोग प्रदान गरिसकेको बताइन्छ ।
हालसम्म नेपालको मानव संसाधन विकासमा भारत–नेपाल सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याएको छ । भारत सरकारले प्रवीणता, स्नातकोत्तर, शोधवृत्तिलगायत विविध तहमा चिकित्साशास्त्र, कृषि, विज्ञान, कानुन, कला, पशुविज्ञान, औषधि विज्ञान, कम्प्युटर विज्ञान आदि विषयमा गरी एक हजार आठ सयभन्दा बढी नेपाली विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । भारतीय राजदूतावासले बितेका ६–७ वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्ति/तालिममार्फत नै १२ हजारभन्दा धेरै व्यक्तिले फाइदा लिएको भारतीय दूतावासको भनाइ छ ।