प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत

प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत


प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराए ।

कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

photo: rss