भारत भ्रमणमा जानुअघि नै पार्टी एकीकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना माओवादी अध्यक्ष प्रचण्डले चकनाचुर पारिदिएका छन् । पार्टीमा पचास प्रतिशत अंश र चुनाव चिह्नका विषयलाई लिएर प्रचण्डले ‘बार्गेनिङ’ गर्न थालेपछि एकीकरण प्रक्रिया अचानक तरङ्गित हुन पुगेको हो । तथापि दुवैतर्फका एकताप्रेमी नेताहरूले गरेको अथक प्रयासले दुर्घटनाबाट भने जोगिएको छ । एकता चाहने दुवै पार्टीका नेताहरूले भारत जानु अगावै नभए पनि भारतबाट फर्केलगत्तै एकता घोषणा हुनेगरी गृहकार्य जारी राखेका छन् ।
चुनावलगत्तै राजनीतिक एवम् साङ्गठनिक हैसियतका आधारमा एमालेले ७० र माओवादीले ३० प्रतिशत भागबण्डा गर्नेगरी सहमति भएको थियो । त्यस्तै, चुनाव चिह्न पनि सूर्य नै कायम राख्ने भन्ने समझदारी उच्च तहमा बनेको थियो । एमालेले प्रतिपादित गरेको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्ने गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ विषयको टुङ्गो आपसी छलफल गरी संयुक्त महाधिवेशनले टुंग्याउने सहमति भएको थियो । तर, विधानको मस्यौदा तयार गर्ने क्रममा माओवादीले अचानक जनयुद्ध शब्द पनि राख्नुपर्ने र सूर्य चिह्नभित्र हँसिया–हथौडा राख्ने सर्त राखेपछि एकताप्रक्रिया पूर्ण रूपले अवरुद्ध हुने शङ्का र त्रास पैदा भएको थियो । तर, दोस्रो पुस्ताका केही नेताको विशेष प्रयासमा सूर्य चिह्न यथावत् राख्न सहमति बनेको छ ।
दुवै पार्टीका उच्च नेताहरूबीचमा एकीकृत पार्टीको नयाँ विधानमा बहुदलीय जनवाद र जनयुद्ध राख्नु नपर्ने गरी कुरा मिलाउन खोजिएको छ । ज्ञातव्य छ, गत साता पार्टी एकता गर्न गठित कार्यदलको बैठकमा माओवादी नेता जनार्दन शर्माले एमाले नेता विष्णु पौडेलमाथि दबाब दिएर जनयुद्ध शब्द राख्न लगाएका थिए । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विधानतः जनयुद्ध शब्द प्रयोग गर्ने र सूर्य चिह्नलाई बदल्न कुनै हालतमा तयार नभएपछि कार्यदलले केही बीचको उपाय अवलम्बन गर्न खोजेको बुझिन्छ । माओवादी नेताहरूले सूर्य चिह्नभित्र हँसिया–हथौडा चिह्न राख्नुपर्ने अडान अहिले पनि कायम राखेका छन् । तर, एमाले कुनै हालतमा तयार नहुने स्थितिमा माओवादीले सूर्य चुनाव चिह्न जस्ताको तस्तै स्वीकार गर्ने सम्भावना बढेको पार्टी सूत्रले जनाएको छ ।
दुई पार्टी प्राविधिक रूपमा एक भए पनि भावनात्मक रूपले एकताबद्ध हुन मुस्किल हुन सक्ने देखिएको छ । केपी शर्मा ओली सर्वाधिक बलियो कम्युनिस्ट पार्टीको मुख्य नेता र प्रधानमन्त्रीका रूपमा भारत जान चाहनुहुन्थ्यो, तर उहाँको इच्छामा ‘पानी खन्याउने’ काम प्रचण्डबाट भएको छ ।
प्रधानमन्त्री केपी ओलीले भारत जानुअघि पार्टी एकता गर्न चाहेपछि प्रचण्डले ‘बार्गेनिङ’ शुरु गर्दा दुवैतर्फका नेता–कार्यकर्ताको भावनामा चोट पुगेको पाइएको छ । पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाइराख्न प्रचण्डको कुराले ठेस पु¥याएको एकता चाहने दुवैतर्फका नेता–कार्यकर्ताबीच चर्चा चलेको छ ।
दुई पार्टी प्राविधिक रूपमा एक भए पनि भावनात्मक रूपले एकताबद्ध हुन मुस्किल हुन सक्ने देखिएको छ । केपी शर्मा ओली सर्वाधिक बलियो कम्युनिस्ट पार्टीको मुख्य नेता र प्रधानमन्त्रीका रूपमा भारत जान चाहनुहुन्थ्यो, तर उहाँको इच्छामा ‘पानी खन्याउने’ काम प्रचण्डबाट भएको छ ।
पार्टी एकीकरणलाई मूर्तरूप दिन मंगलबार अबेर एकीकरण कार्यदलको बैठक बसेको थियो । उता प्रधानमन्त्री केपी ओलीले मंगलबार नै संसद्लाइ सम्बोधन गर्दै भारतसँग भरपर्दो मित्रता कायम गर्ने बताउनुभएको छ । भारत जानुअघि नै ओलीले दुई पार्टी एकीकरण गरेर मजबुत प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्न चाहनुभएको थियो । मजबुत प्रधानमन्त्रीका रूपमा नेपालले पहिलोपटक भारतसमक्ष प्रस्तुत गर्दा नेपालीको शान उच्च हुने यसका जानकारहरूको भनाइ छ । तर, प्रचण्डको कपटपूर्ण व्यवहारका कारण ओलीको चाहनामाथि चोट पुगेको र भारत भ्रमणअघि पार्टी एकीकरण गर्ने उद्देश्यमा ठेस पुगेको छ ।
प्रतिक्रिया