ओली र मोदीबाट हुने संयुक्त शिलान्यासको चार पार्टीद्वारा विरोध

ओली र मोदीबाट हुने संयुक्त शिलान्यासको चार पार्टीद्वारा विरोध


भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्न लागेको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास कार्यक्रमको विरोधमा राजधानीमा ठूलो विरोधसभा आयोजना गरिने भएको छ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रूपमा विरोधसभा आयोजना गर्न लागेका हुन् ।

उल्लेखित चार पार्टीको गत हिजो बुधबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भारतबीच भएका सबै सन्धि–सम्झौता कार्यान्वयन गर्ने कुराको पनि विरोध र भत्सर्ना गर्ने निर्णय गरेको छ । पुराना सन्धि–सम्झौताहरू राष्ट्रहितविपरीत भएकोले विरोध गर्नुपरेको बताइएको छ ।

बैठकपछि मोहनविक्रम सिंह, मोहन वैद्य, प्रकाण्ड र ऋषि कट्टेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल अघि बढाइने, चार पार्टीको आयोजनामा आगामी वैशाख ३ गते राष्ट्रियतासम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने र सरकारले शान्तिपूर्ण संगठन, भेला र संर्घषमा दमन गरेकोमा त्यसको विरोध र भत्सर्ना गर्ने निर्णय भएको छ ।