बुद्धिचालमा चार खेलाडीको संयुक्त अग्रता

बुद्धिचालमा चार खेलाडीको संयुक्त अग्रता


फिडे मास्टर स्वागतम साकोसका रुपेस जयसवाल, पूर्व राष्ट्रिय च्याम्पियन अभिवादन साकोसका सुरवीर लामा, पूर्व राष्ट्रिय च्याम्पियन गोल्डेनगेटका केशव श्रेष्ठ र श्रेयंकार साकोसका सुमित पन्त गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगितामा अग्रस्थानमा रहेका छन् ।

तेश्रो चरणको खेल सकिँदा यी चारैै खेलाडीको तीन अंक छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ जारी प्रतियोगिताको दोश्रो दिन रुपेसले नेसनल डेभ्लप्मेन्टका दिर्घराज जोशी र करुणामय साकोसका रबिन्द्र शाक्यलाई पराजित गरेका थिए । यसैगरी, सुरबिरले पायनियरका सुदिप तामाङ र गोल्डेनगेटका मदनकृष्ण कायस्थ र केशबले दोश्रो चरणमा हरिशचन्द्र चौलागाइ तथा तेश्रो चरणमा थापाथली चेस पार्कका सुमन लामालाइ हराएका थिए ।

ताम्रकार समाज भवनमा भइरहेको प्रतियोगितामा सुमितले दोश्रो चरणमा भेट्रान खेलाडी सिताराम अग्रवाल तथा तेश्रो चरणमा स्नेहा यादवलाई पराजित गरेका थिए । अमृतकल्प बृक्ष साकोसका विलमलाल श्रेष्ठ, करुणामय साकोसका हर्सित श्रेष्ठ, मंकाढुकु साकोसका रिजेन्द्र राजभण्डारी र गोल्डेनगेटका मिलन लामाको २.५ अंक छ ।

त्यस्तै श्रमजिवी साकोसका गणेशमान दुवाल, स्वागतम साकोसका क्षितिज भण्डारी, जिल्ला बहुउद्धेश्यीय सहकारी संघका विवेक थिङ, राजन पुरी र शुभलाभ बहुउद्धेश्यीय सहकारीका नबीन तण्डुकारको २.५ अंक छ । विवेकले दोश्रो चरणमा नेसनल डेभ्लपमेन्ट साकोसका राजेन्द्र श्रेष्ठलाई हराए भने तेश्रो चरणमा नबीनसंग बराबरी गरे । नबीनले दोश्रो चरणमा शुभकामना साकोसका दामोदर गाइजुलाई हराएका थिए । विलमले दोश्रो चरणमा मिलन लामासंग बराबरी गरे भने तेश्रो चरणमा केशब मानन्धरलाई हराए ।

यसैगरी मिलनले अर्को चरणमा फीडे मास्टर अर्थ बहुउद्धेश्यीय साकोसका मनिष हमाललाइ पराजित गरे । हर्षितले दोश्रो चरणमा अन्नपूर्णका मोहम्मद अदनान अदिल तथा तेश्रो चरणमा कामना साकोसका बद्री लाल नेपालीसंगको खेलमा जित हात पारे । रिजेन्द्रले दोश्रो चरणमा अन्नपूर्णका दिपेन्द्र गमाल तथा तेश्रो चरणमा नेसनल डेभलपमेन्टका मणीराज डाँगीलाई पराजित गरेका थिए । दोश्रो चरणमा अबीरल राइलाई हराएका क्षितिजले तेश्रो चरणमा गणेशमानसंग बराबरी गरे । गणेशमानले दोश्रो चरणमा राजु तिमल्सीनालाई हराएका थिए ।