एपोलोबाट नेपालका चिकित्सकले केही सिक्ने कि ?

एपोलोबाट नेपालका चिकित्सकले केही सिक्ने कि ?


-वसन्तराज कुँवर
स्वास्थ्यस्थितिका कारण एक चिकित्सककहाँ सर्म्पर्क गर्न प्रयास गरेँ । पंक्तिकारले सर्म्पर्क गर्न चाहेका चिकित्सकले दिनको २ बजेदेखि ४ बजेसम्म मात्र बिरामी हर्ेर्नुहुँदोरहेछ । समय मागेँ । क्लिनिकका कर्मचारीले भन्नेबित्तिकै समय नपाइने, दुईदेखि चार बजेबीच आउनुपर्ने र तोकिएको समयमा जो आउँछ उसैलाई मात्र हेरिने बताउनुभयो । आफ्नो पनि कामहरू भएकाले समय नलिई लाइनमा बस्नु कठिन नै हुनेगथ्र्यो । दुईदेखि चार भनेपछि जान-आउन ३ घन्टाको समय पनि जोड्नुपथ्र्यो । एक दिन म समयमा पुगेँ तर त्यहाँ रहेका बिरामीको पालो आउँदाआउँदै ४ बज्यो र समय बित्यो । डाक्टरसाहेव हिँड्नुभयो । मेरो पालो नै आएन । फेरि दोस्रो प्रयास गरेँ । बेलैमा पुग्न चाहेको थिएँ तर एक ड्रग्समा परेको बच्चाले दु:ख दिएकी आमालाई सल्लाह, सुझाव, ढाडस दिँदादिँदै समय गयो । बल्लबल्ल त्यो काम सकी अनेकौँ ट्राफिकका बाधा र चौबाटोहरू पार गर्दै पुन: डाक्टरको क्लिनिकमा पुगेँ । मेरो घडीमा चार बज्न ५ मिनेटजति बाँकी थियो तर डाक्टरको घडीमा चार बजिसकेछ । उहाँ आँखैअगाडिबाट निस्कनुभयो । मैले आइसकेकोले हेरिदिन स्टाफमार्फत अनुरोध गरेँ तर अनुरोध स्वीकार भएन । त्यस दिन पनि मैले जाँच्न पाइनँ । यसपटक भने मलाई चित्त पनि दुख्यो । त्यस दिन मैले त्यहाँका कर्मचारीहरूलाई मलाई एउटा समय दिन र भोलिका लागि वा कुनै दिनका लागि अग्रिम नाम लेखाइदिन अनुरोध गरेँ । मेरो अनुरोध मानिएन र उही दुईदेखि चार बजेसम्म लाइनमा आएर बस्ने सल्लाह दिइयो ।
बी.एन्ड बी. अस्पतालबाट त्यस दिन म निराश भएर फर्किएँ तर मेरो मनमा दु:ख मात्र होइन केही आक्रोस पनि बढिसकेको थियो । वास्तवमै बाँच्नकै लागि अहिले हाम्रो समाजमा सङ्घर्ष गर्नुपर्ने अवस्था छ । त्यहाँमाथि सबैको आ-आफ्नो सानोठूलो जिम्मेवारी पनि छ । यस्तो अवस्थामा समय नलिई कुनै पनि चिकित्सककहाँ लाइनमा बसेर जाँच हुन्छ वा हुँदैन भन्ने यकिन नभएको अवस्थामा चिकित्सककहाँ धाउनु कठिन नै काम हुने गर्छ । दोस्रो दिन पनि नजचाई र्फकनुपरेपछि मैले तेस्रो दिन प्रयास गर्ने सोच बनाउँदै घरतिर लागेँ । घर र्फकने क्रममा त्रिभुवन विमानस्थल देखियो । विमानस्थल देख्नेबित्तिकै मैले सोचेँ बरु यी डाक्टरलाई भेट्न अनिश्चित योजना गर्नुभन्दा दिल्लीको एपोलो अस्पताल गई जाँच किन नगर्ने – त्यहाँ जतिबेला पुगे पनि जाँच्न त पाइन्छ । यो सोच आउनेबित्तिकै दिल्लीको टिकट काटेर म सीधै एपोलो अस्पताल गएँ र अस्पताल पुगेको २० मिनेटभित्रै सम्बन्धित चिकित्सकलाई भेटी समस्या बताएँ । नेपालबाट उडेको लगभग साढे दुई घन्टाभित्रै मेरो जाँच गर्नुपर्ने सम्पूर्ण काम समाप्त भयो । भोलिपल्ट अलिकति काम बाँकी थियो । सबै जाँच गर्ने प्रयोगशालादेखि चाहिने स्रोतव्यक्ति त्यही एकै ठाउँमा भएकाले म दुई दिनमा काम सकी नेपाल फर्किएँ ।
यो लेखमार्फत म मेरो व्यक्तिगत जीवनको स्वास्थ्यसम्बन्धी कुराभन्दा पनि नेपालको स्वास्थ्य सेवाको विश्वसनियताको विषयमा केही चर्चा गर्न चाहन्छु । गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य कुनै पनि मुलुकका नागरिकका लागि आधारभूत कुरा हुन् । नेपालमा गरिब छन् जो औषधि गर्न नसकी मर्ने गर्छन् । पश्चिमी पहाडका गाउँहरूमा कुनै गाउँहरू नराम्रोसँग एड्सको चपेटामा परेको डरलाग्दो परिस्थिति छ । नेपालको स्वास्थ्यमन्त्री भनौँदाले त्यहाँ भ्रमण गर्नु त परै जाओस् चित्तसम्म पनि दुखाएको देखिँदैन । मध्यम वर्गका परिवारको आम्दानीमध्ये अधिकांश औषधिमै खर्च भएका छन् । प्रदूषित पानी, फोहोर वातावरण, मिलावटका खाद्य सामग्रीले उनीहरूलाई रोगी बनाएको छ र रोग निको पार्न भनी खाएका औषधि पनि नक्कली र निम्न गुणका भएका कारण स्वास्थ्य समस्या सुल्झिएको छैन । सक्नेहरूलाई नेपालको स्वास्थ्यकर्मी र सेवाप्रति पटक्कै विश्वास छैन । ती विदेशी भूमिमा गई उपचार गर्न रुचाउँछन् । यसपटक एपोलो पुग्दा मैले सैयौँ नेपाली परिवार त्यहाँ उपचारमा पुगेको देखेँ । मलाई आर्श्चर्य लाग्यो त्यहाँ पुग्ने नेपालीमा धेरै गरिब र मध्यमवर्गीय परिवारका नै थिए । तर पनि तिनलाई सापटी लिएकै पैसाले भए पनि त्यहाँ भएको उपचारको खर्चप्रति भने पटक्कै गुनासो र चित्तदुखाइ थिएन । उदयपुरबाट थारू परिवारका एक ६ वर्षीय बच्चालाई लिएर आमाबुबा र बाजे त्यहाँ पुगेका रहेछन् । त्यो सानो बालकको छातीमा पानी जमेर रातमा नसुती रोइरहँदो रहेछ । नेपालमा कसैले निमोनियाँ भएको भन्दै औषधि दिएछन्, कसैले टीबी भनी औषधि खुवाएछन् । ३ लाख खर्च हुँदा पनि बालक झन्झन् शिथिल हुँदै मृत्युनजिक पुगेछ । अन्तमा उनीहरू ऋण काढेर एपोलो पुगेछन् । बालकको इन्सुलिन पास हुने पाइपमा सानो लिकेज रहेछ । त्यहाँबाट तरल पदार्थ लिक भई छातीमा पानी जमेको रहेछ । एपोलोले यो कुरा केही घन्टामै थाहा पाएछ । एपोलोमा त्यो पाइपलाई विशेष खोलद्वारा ढाकिदिएपछि बच्चा हिँड्ने, बोल्ने र खेल्न सक्ने भएछ । मैले पनि हेरेँ । यद्यपि त्यो परिवारमा पक्कै पनि ठूलो आर्थिक क्षति भएको होला तर पनि खेल्दै, हाँस्दै गरेको आफ्नो बच्चा देखेर उनीहरू खुसी देखिन्थे । नेपालको कान्ति अस्पताल र डाक्टरमाथि उनीहरू आक्रोसित भएझैं लाग्थ्यो । सबै परिवारको एउटै भनाइ थियो- नेपालका डाक्टरहरूतिर नलागी पहिल्यै यहाँ आएको भए शायद नेपालमा हाम्रो तीन लाख खर्च हुने थिएन ।
अर्को परिवार भेटेँ जसको आमालाई क्यान्सर भएर त्यस अस्पतालमा लगिएको रहेछ । तर बाबुको पनि मुटु जाँच्दा झनै ठूलो समस्या आएकोले बाबुलाई पनि आईसीयूमा राख्नुपर्ने भएछ । छोराबुहारीले दुई वार्डमा भर्ना भएका आमाबाबुलाई लाखौं खर्च गरी उपचार गर्दै रहेछन् । यद्यपि त्यस अवस्थामा अनेकौँ दु:ख भोगिरहे पनि ती छोराबुहारी आफ्ना आमाबुबाको राम्रो उपचार भएकोमा त्यहाँ सन्तुष्ट नै देखिए ।
तेस्रो परिवार भेटेँ जसको बाबुलाई त्यहाँ महिनौंदेखि राखिएको रहेछ । दुई छोरा र आमा स्याहारमा खटिएका थिए । छोराहरूलाई त्यहाँ महिनाँै बस्दा पक्कै पनि गाह्रो भएको हुनुपर्छ तर पनि उनीहरू भन्दै थिए, ‘यो अस्पतालले मानिसलाई जोगाएरै छाड्दोरहेछ । नेपालमा हाम्रो बुबालाई झन्डै मारेका ।’ उनीहरूले मलाई भने, ‘हाम्रो बुबालाई हेर्ने नेपालको डाक्टर पनि हामीले यहाँ भेट्यौँ, उनी पनि आफूलाई जचाउन यहीँ आउँदारहेछन् ।’
चौथो परिवारको कथा आफ्नै रहेछ । वृद्ध श्रीमान्-श्रीमती त्यहाँ गएका रहेछन् । श्रीमान् आफ्नी श्रीमतीको उपचारका लागि त्यहाँ पुगेका थिए । श्रीमतीले जे खाए पनि पेट दुख्दोरहेछ ।
नेपालमा उपचार गर्दागर्दै थाकेको त्यो परिवार त्यहाँ पुगेर आफ्नो समस्या समाधान हुने विश्वास गर्दारहेछन् । मेरैअगाडि श्रीमतीलाई भीडीओ स्यालिङ गर्न लगियो । केहीबेरपछि ती वृद्धा फर्किन् । उनले हाँस्दै मसँग भनिन्, ‘यहाँको डाक्टर राम्रो रहेछ । उसले मेरो पेटमा निकैबेर मेसिन चलाए । बिस्तारै-बिस्तारै जाँच गरे । नेपालमा पनि मैले यस्तो जाँच गरेथेँ तर त्यहाँ त छिटो-छिटो गर्दथ्यो । यहाँ त राम्ररी विस्तारै हेरिदियो ।’ यो कुरा भन्दा उनको मुहारमा उज्यालो थियो । जति नेपाली मैले भेटेँ तिनको रोग निको हुन्छ वा हुँदैन मलाई थाहा छैन तर उनीहरू त्यस अस्पतालको महँगो भए पनि सेवादेखि सन्तुष्ट थिए । एक नेपाली भन्दै थिए- त्यहाँ मासिक ५ करोड रुपैयाँ नेपालीहरूले मात्र खर्च गर्ने गर्दछन्् ।
म पहिला पनि एपोलो गएको थिएँ । त्यसताका अफगानिस्तान र अफ्रिकाबाट बिरामी आएको खासै देखिँदैनथ्यो । अहिले अफ्रिका, मिडलइस्ट र अफगानिस्तानबाट पनि ठूलो सङ्ख्यामा मान्छे आउन थालेछन् । त्यो अस्पतालमा जता हेरे पनि पाइला टेक्ने ठाउँ छैन तर पनि अस्पतालले धेरैलाई सन्तुष्ट कसरी पार्छ – यो भने मेरो सरोकारको विषय बन्यो ।
म नेपाल फर्किएँ । यदि एपोलो मेरो देशमा नै भएको भए वा त्यस्तै भरपर्दो सेवा दिने अस्पताल यहाँ भएको भए म त्यहाँ पक्कै पनि जाने थिइन होला । नेपालका अस्पताल र चिकित्सकहरूले लाखौँ मानिसलाई सेवा दिइरहेका छन् । लाखौँको ज्यान जोगाई पनि रहेका छन् तर पनि अस्पताल र चिकित्सकले जति सम्मान र विश्वास प्राप्त गर्नुपर्ने थियो त्यो भने अझै प्राप्त गर्न सकेका छैनन् । यसको पक्कै पनि केही कारण होला । मलाई नाम लेखाई समय नदिएको कुरा चित्त बुझेन । अर्कोलाई इन्सुलिन पाइप लिक भएकोमा निमोनियाको औषधि खुवाएको कुरा चित्त बुझेन । यस्तै नेपालमा चित्त नबुझाएकाहरू नै विदेश गएका छन् तर थाइल्यान्डबाट एपोलो आएको कोही भेटिएन । राम्रो उपचार सेवा भएका मुलुकहरूबाट अर्को मुलुकमा उपचारका लागि कोही गएका छैनन् ।
अन्तमा मलाई के लाग्यो भने नेपालको स्वास्थ्य सेवा अझै भरपर्दो हुन सकेको छैन । मन्त्री र प्रधानमन्त्री स्वयम् विदेश जान्छन् । यसबाटै थाहा हुन्छ कि यो देशको स्वास्थ्य सेवा भरपर्दो छैन । जति पनि स्वास्थ्य सेवामा लाग्नुभएको छ त्यसमध्ये अधिकांशलाई बढीभन्दा बढी रकम कमाउनु परेको छ । कमाउनुपर्ने पनि हुन्छ किनकि अस्पताल र नर्सिङहोममा लगानी पनि ठूलै हुने गर्छ । अहिले नेपालबाट जुन प्रकारले गरिब र मध्यमवर्गीय परिवार पनि विदेशमा उपचार गर्न पुगेका छन् त्यसलाई हेर्दा के बुझ्न सकिन्छ भने यहाँका मानिसलाई रकम खर्च भए पनि स्वास्थ्य ठीक गरिदिने डाक्टर र संस्था चाहिएको छ । स्वास्थ्य ठीक गर्न नसकी रकम मात्र लिन खोज्ने र खर्च मात्र बढाउन खोज्ने चिकित्सक नेपालीलाई मन परिरहेको छैन । बाध्यताले त्यस्ता चिकित्सककहाँ जानुपरे पनि तिनीहरूप्रति नेपालीको सम्मान छैन । नेपाली चिकित्सकले आफूलाई प्रमाणित गर्न बिरामीलाई ठीक गर्न सक्नुपर्छ र उसका बाध्यताहरू पनि बुझ्न सक्नुपर्छ । नेपालका अस्पताल र चिकित्सकहरूले एपोलो अस्पतालबाट यस सम्बन्धमा केही सिक्नुपर्छ ।