जम्बो टोलीसहित प्रम ओली भारत भ्रमणमा निस्किदै

जम्बो टोलीसहित प्रम ओली भारत भ्रमणमा निस्किदै


आज शुक्रबार ५४ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किदै छन् । उनि तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

अहिले बिहान भ्रमण दलका टोलीसहित प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । बिहान पौने ११ बजे टोली इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले आजै ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग छलफल गर्नेछन् भने साँझ पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम तय भएको बुझिएको छ ।

शुक्रबार प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्नेछन् भने भ्रमण टोलीका अन्य सदस्यहरु ताजमानसिंह होटलमा राखिने बुझिएको छ ।

भ्रमणको दोस्रो दिन शनिबार विहान ९ बजे प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्ने र १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ । भोली नै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट गरी दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।