एमाओवादीको ‘उत्तर कोरियाली’ पथ

एमाओवादीको ‘उत्तर कोरियाली’ पथ


bichar—अधिवक्ता दामोदर पौडेल
काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिए समस्या समाधानका लागि एक कदम अगाडि बढ्न सकिन्छ भन्ने प्रचार गर्दै आएको एमाओवादी काङ्ग्रेसको उम्मेदवारीपछि नयाँ सर्त राख्न पुग्यो । अरू प्रधानमन्त्री हुँदा राखिने सर्त पहिला पनि राख्न सकिने थियो तर प्रधानमन्त्री दिँदैनन् र सत्ता लम्ब्याउन सकिन्छ भनेर तथा काङ्ग्रेसमा प्रधानमन्त्रीका लागि झगडा हुन्छ र आफ्नो दलले प्रधनमन्त्री छोड्नुपर्दैन भनेर नै माओवादीले यो अस्त्र फ्याँकेको थियो जुन असफल भयो । हुनत राष्ट्रपतिलाई पनि प्रधानमन्त्री फेर्ने कुरा संसद्को र राष्ट्रपतिको चुनावसँगै हुनुपर्ने बताएर धम्क्याउने प्रयास भएको हो । महामहिमज्यूले सहमति भएमा जे पनि गर्न आफू तयार भएको बताएपछि उनीहरूको यो अस्त्रले काम गरेन । राष्ट्रपतिसँग सत्ता कब्जाको सपना पनि नभएकोले माओवादीको पदलोलुपताको अस्त्रले काम गर्ने पनि भएन ।
एमाओवादी दल फुटेको, जनतामा सकारात्मक सन्देश नगएको, राम्रो काम गर्न नसकेको, हिंसात्मक आन्दोलनको उपलब्धि भ्रष्टाचार र मृतक र पीडित परिवारको पीडा थपिनेमा सीमित भएको, पैसा जति कार्यकर्ताहरूमा पनि आफ्नानजिककालाई बाँडेकोले आफ्नै पैसा नपाउने कार्यकर्ताहरू निराश भएकोसमेत अवस्थामा एमाओवादीले चुनाव नचाहनु स्वाभाविक हुँदा यसले चुनाव चाहेको छैन । केवल सत्ता लम्ब्याएर कब्जा गर्ने मानसिकतामा छ । तर, सबै सोचेको जस्तो हँुदैन, संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनसमेतको भनाइको कारण एमाओवादीमा चुनाव गराउने दबाब अझ बढेको छ । चुनाव नगराउने भन्ने हो भने सत्ता गुम्ने सम्भावना बढेर गएको छ । त्यसैले माओवादी अहिले वैशाखमा चुनाव गराउने भए वा वैशाखमा चुनाव गराउने घोषणा गरेर मात्र सरकार छोड्ने पासा फालिरहेको छ । सबै पक्षबाट दबाब नहुने हो भने माओवादीले चुनावको घोषणा भइसकेपछि त्यही सरकारले चुनाव गराउनुपर्छ भनेर विभिन्न बहाना निकाल्नेछ ।
त्यसैले सबैमा सजगता आवश्यक छ । लोकतान्त्रिक पद्धतिमा कुनै निकायलाई हटाउने माध्यम छैन भन्ने हुँदैन बरु समयअनुसार फरक हुन सक्दछ । एकपटक अक्षम भएपछि बारम्बार नयाँ सर्तको आधारमा सत्ता लम्ब्याउने हो भने यो प्रक्रिया २५ वर्षसम्म पनि कायम रहन सक्दछ । अन्यथा कम्युनिस्ट सत्ता कब्जा भएका देशमा पनि सरकारलाई कम्युनिस्ट पार्टीले हटाउन चाहेपछि कम्युनिस्टहरूको पकड रहेको व्यवस्थापिकाले हटाउँछ नभए पार्टीले नै हटाउँछ । तर यहाँ एउटा मात्र कम्युनिस्ट पार्टी छैन र अन्य दलहरूको पनि मौजुदगी छ । भट्टराईलाई हटाउने प्रमुख अधिकारी भनेका राजनीतिक दलहरू नै हुन् र चाहेमा राख्ने पनि उनीहरू नै हुन् ।
अहिलेको सरकारले आफ्नो आयु आफैँले लम्ब्याउन नसक्ने हँुदा यसले भन्दा बढी जनाधार भएको दलीय सहमतिको खाका राष्ट्रपतिमा दलहरूले पेस गरेमा यो सरकारभन्दा आउने सरकार बढी सहमतिको हुन्छ । त्यसलाई राष्ट्रपतिले मान्यता दिएर नयाँ निकास दिन सक्ने प्रस्टै छ । त्यस्तो सहमति पेस भएर पनि प्रधानमन्त्रीले सरकार नछोडेमा वा राष्ट्रपतिले सक्रियता नदेखाएमा दलहरू प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा न्यायालयमा जान सक्छन् । यस अवस्थामा हामीले के बुझ्न जरुरी छ भने जहिले पनि सहमति सापेक्ष हुन्छ । न्यायालयको निकास नै महत्वपूर्ण हुन सक्दछ । यसले मुठभेड निम्त्याउँछ भन्ने पनि तर्क आउन सक्छन् । एमाओवादीले सत्ता कब्जाका लागि नै काम गरिरहँदा यसलाई छोड्नुले यसको क्षमता अझ बढ्नेछ जसले गर्दा यो दल गैरलोकतान्त्रिक किसिमले सरकारमा बसिरहँदा पनि हटाउन नसकिने हुन सक्छ । त्यो अवस्थामा जानभन्दा पहिला नै वार र पारको अवस्थाले ठूलो क्षतिबाट देश र जनतालाई जोगाउनेछ । तर, यसका लागि उचित विकल्पको प्रयोग हुनुपर्छ ।
नयाँ सरकार आएपछि पनि सबै दलले निष्पक्ष चुनावको अनुभूति गर्ने अधिकतम वातावरण आवश्यक छ । यसका लागि सरकार वा चुनावी संयन्त्रमा सबै राजनीतिक दलको सहभागिता आवश्यक छ । चुनावमा भाग नलिएका दलहरूको प्रतिनिधित्वका लागि पनि निष्पक्ष मानव अधिकारवादी वा नागरिक समाजबाट प्रतिनिधित्व हुनुपर्छ । राजनीति संयन्त्र बनाएर त्यसलाई व्यवस्थापिकाको रूप दिँदा संसद् पुनस्र्थापना भएको पनि देखिने हुँदैन र बढी राजनीतिक सहभागिताको तर कम सङ्ख्या भएको संयन्त्र बनाउन सकिन्छ । संवैधानिक निकाय खाली हुन थालेको र निष्पक्ष निर्वाचनका लागि पनि यो आवश्यक छ ।
त्यसकारण राष्ट्रपति महोदयले स्वयम् वा न्यायालयबाट निकास लिएपछि यथासम्भव चाँडो प्रधानमन्त्रीको नियुक्ति र व्यवस्थापकीय संयन्त्रको गठनमा भूमिका निभाउनुपर्ने हुन्छ । अन्यथा अहिलेसम्म प्रधानमन्त्रीका लागि राजनीतिक दलहरूसँग आग्रह गर्नुको औचित्य अर्थहीन हुनेछ । यसका लागि संविधानको बाधा–अड्काउ फुकाउने अधिकारमात्र होइन धारा ३६ क.को ३ अनुसार पनि राजनीतिक शून्यताको अन्त्यका लागि सरकारले संविधान मिचेको अवस्थामा संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपतिले निकास खोज्नुपर्छ । वर्तमान संविधानको धारा ४५ देखि ५० सम्म हाल खारेज भएकोमा कुनै धारामा अर्को चुनाव नभएसम्म राजनीतिक दलको समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिकाको कार्य र निष्पक्ष चुनाव गर्नका लागि राजनीतिक सहमतिको आधारमा एउटा संयन्त्रको व्यवस्था गर्न वाञ्छनीय हुन्छ । यो धारासँग बाझ्ने अन्य धारा यो धाराको सापेक्षतामा व्याख्या हुने र व्यवस्थापिकाको चुनाव पनि यो स्वतः खारेज हुनेसमेतका व्यवस्था हुन सक्दछन् ।
तर, समयमा नै एमाओवादीको सत्ता कब्जाको अभ्यासलाई रोक्न सकिएन भने यो कसिलो हुँदै जानेछ । मित्रराष्ट्रको स्वार्थले गर्दा एमाओवादीलाई अहिलेका लागि साथ हुन सक्दछ र यो पर्याप्त हुन सक्दछ । सत्ता कब्जाको अभ्यासमा सबैभन्दा पहिला उनीहरूबीच भित्री मेल नभए एमाओवादीले तारो माओवादीलाई बनाउनेछ किनभने यसमा विरोध त्यति आउने छैन र कार्यकर्तालाई आफ्नो दलमा ल्याउन सकिनेछ । दोस्रोमा साना कम्युनिस्ट पार्टीहरू पर्नेछन् । त्यसपछि एमालेको पालो आउनेछ । एमालेपछिको केन्द्रीय पालो काङ्ग्रेसको आउनेछ । काङ्ग्रेसलाई प्रहार सबैभन्दा पछि गर्नुपर्ने कारण पश्चिमी राष्ट्रहरूलाई झुक्याउन पनि हुनेछ र काङ्ग्रेस पनि त्योभन्दा पहिला भ्रममा रहन सक्दछ । अन्त्यमा बाबुराम र प्रचण्डको झगडा हुनेछ । त्यसमा एउटा तहसनहस हुनेछ र विजयी भएको पक्षमा नारायणकाजी तथा पोखरेलहरू दाम राखेर स्वस्ति गर्दै जिन्दावाद लगाउनेछन् । एमाओवादीहरूले दिल्ली र चीनको मुख्य सहरमा क्षेप्यास्त्र हान्न सक्ने भएपछि उनीहरूको सर्वसत्तावाद उत्तर कोरियाकोजस्तो अकन्टक बनिरहनेछ । जनता खान नपाएर मरिरहनेछन् । भ्रम, डर र ब्रेन वास भएको कारणले आफ्ना नेतालाई सबैभन्दा जनप्रिय भन्ने छन् । गरिबी भएर पनि उत्तर कोरियाले हतियारले अरूलाई आफूसँगै सखाप पार्न सक्दछ भन्ने डर नै यसका पछाडिको रहस्य हो । अहिले उत्तर कोरियाको नाति कम्युनिस्ट राजा विश्वका सबैभन्दा प्रिय भएको कुनै सञ्चारमाध्यमले दिएको छ । यो हास्यास्पद हो तर नेपालमा यो अवस्था आउन नदिन अहिले नै कदम चाल्नुपर्छ ।
हामी प्रस्ट होऊँ कि यस्तो रक्तरञ्जित इतिहास रुस, चीन र अन्य कम्युनिस्ट, संनिक शासन र नेपालमा पनि बारम्बार भएको थियो । वास्तवमा यसबाट बच्न प्रचण्ड र बाबुराम अहिल्यै सजग भएर बहुलवादी बन्नु राम्रो हुनेछ, उनीहरू सजग भएमा देश, जनता र स्वयम् उनीहरूको पनि कल्याण हुनेछ । बीपीले भनेका छन्– लोकतन्त्रलाई सुरक्षित गर्ने सबैभन्दा कारगर उपाय भनेको अलोकतान्त्रिक शक्तिलाई लोकतान्त्रिक बनाउनु नै हो ।
अन्त्यमा, युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो, सिरियाका अहिलेका राष्ट्रपति असदका पितासमेत केही कम्युनिस्ट र अमेरिकालाई घुर्की लगाउने नेताहरूले भनेको साझा भनाइअनुसार कम्युनिस्ट व्यवस्था यस्तो व्यवस्था हो जुन आइसकेपछि नराम्रो लागेर नेताले नै हटाउन चाहेर पनि संयन्त्रको कारणले हटाउन सक्दैन । रुससमेतमा अहिले हटेको हुँदा उनीहरूको भनाइलाई संशोधन गरेर हटाउन अत्यन्त कठिन हुन्छ भन्न सकिन्छ । त्यसैले कम्युनिस्ट मित्रहरू त्यसमा पनि एमाओवादी साथीहरू समयमा नै सजग हुनुहोस् ।