विप्लवलाई रोक्ने बादलको गर्जन !

विप्लवलाई रोक्ने बादलको गर्जन !


अहिले अलग्गै कम्युनिष्ट पार्टी चलाइरहेका नेत्रविक्रम चन्द विप्लव कुनैबेला रामबहादुर थापा बादलका चेला वा सहयात्री थिए । समयले विप्लवलाई विद्रोह, क्रान्ति या संघर्षकै मैदानमा छोडेको छ भने वादल सत्तामा पुगेका छन् । यतिबेला गृहमन्त्रालय हाँकिरहेका बादल परिबन्दले विप्लवलाई गिरफ्तारीको वारेन्ट काट्न विवश भएका छन् ।

यसै सिलसिलामा गृहमन्त्री थापाले विप्लवनेतृत्वको नेकपाले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् । राजधानीमा आज आयोजित एक कायक्रममा उनले विप्लवका क्रियाकलाप राजनीतिक नभर्इ ध्वंसात्मक भएको आरोप लगाए ।

प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बदलले भने, ‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।’ विप्लव नेतृत्वको दलले संविधान र कानूनविरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे ।

यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो भन्दै उनले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने तर्क गरे । गृहमन्त्रालयले केही दिनअघि यससम्बन्धी कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै उनले आगामी वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने दाबी समेत गरे ।