एमाले प्रमुख सचेतकमा ‘बदनामी’ कमाएका नेता

एमाले प्रमुख सचेतकमा ‘बदनामी’ कमाएका नेता


स्वास्थ्यमन्त्री हुँदा बदनामी कमाएका कास्कीका एमाले नेता खगराज अधिकारीलाई एमालेले संसदीय दलमा प्रमुख सचेतक नियुक्त गरेपछि चौतर्फी आलोचना शुरु भएको छ । यसअघि एमाले सरकारमा रहँदा मन्त्री बनेका अधिकारीसहित जलस्रोतमन्त्री राधा ज्ञवाली चर्को ढङ्गले आलोचित बनेका थिए ।

कास्कीको बेगनासको सामान्य परिवारमा जन्मेका खगराज अधिकारी मन्त्री भएपछि एकाएक ‘अस्वाभाविक’ किसिमबाट सम्पत्ति जोड्न सफल बनेका छन् । नजिकबाट जान्नेहरूका अनुसार उनको आफ्नो पैतृक सम्पत्तिले खानलाउन समेत पुग्दैन । तर, ‘राजनीति’लाई नै माध्यम बनाएर अधिकारीले अस्वाभाविक किसिमबाट आर्जन गरेपछि उनको सम्पत्ति छानविन गर्नुपर्ने एमाले कार्यकर्ताले पार्टीभित्रै धेरैपटक माग गरेका एमालेसुत्रको दाबी छ । तर, नेता अधिकारी अध्यक्ष केपी ओली निकट रहेकाले पछिल्लोपटक पनि उनको सम्पत्ति छानविन गर्ने प्रक्रिया रोकिएको छ ।

२०५१ सालमा पार्टीको सचेतक बनेका खगराज अधिकारी पार्टीभित्र अस्वाभाविक व्यवहार प्रदर्शन गर्ने नेताका रुपमा परिचित छन् । स–साना कुरामा पनि झर्कने र रिसाउने उनको स्वभावले कार्यकर्ताहरू कायल छन् । बहुदल आएपछि कास्कीको विद्यार्थी राजनीतिमा चम्केका उनी उग्र भाषण दिएर नेता बन्न सफल बनेका थिए । पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति बनेर राजनीतिमा छाएका खगराज अधिकारी पार्टीमा बदनामी कमाएका नेतामा पर्छन् ।

अधिकारी स्वास्थ्यमन्त्री बन्दा स्वास्थ्यकर्मीलगायतले उनको काम–कारवाही रुचाएका थिएनन् । मेडिकलमा निजीकरण गर्नेमध्येका एक हुन् खगराज अधिकारी । मेडिकलमा निजीकरण गरेर ब्यापार गर्ने र त्यस्ता लगानीकर्तालाई संरक्षण गरेपछि एमालेका असल कार्यकर्ताले मन्त्रीबाट फिर्ता बोलाउन माग गरेका थिए ।

उनी मन्त्री हुँदा कार्यकर्ताले मन्त्री छोड्न दबाब दिएपछि खगराज अधिकारी तत्कालिन समयमा सरकार संचालन अवधिभर मन्त्रीको जिम्मेवारीमा रहन पाएनन् । यस्तै, बदनाम कमाएपछि जलस्रोतमन्त्री राधा ज्ञवालीलाई पनि एमालेले मन्त्रीबाट फिर्ता बोलाएको थियो ।

अध्यक्ष ओलीले आफ्ना निकट व्यक्तिहरूलाई जिम्मेवारी दिएकामध्ये सबैभन्दा गलत निर्णय खगराजलाई प्रमुख सचेतक बनाउनु रहेको विषयमा पार्टीभित्र बहस शुरु भएको एक केन्द्रीय नेताले जानकारी दिए । प्रमुख सचेतक जस्तो महत्वपुर्ण पदमा स्वच्छ छवि भएको शालिन, भद्र र मिलनसार ब्यक्ति आवश्यक पर्ने केन्द्रीय कमिटीमा माग उठेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भारत भ्रमणबाट फर्केपछि यो विषयमा पार्टीभित्र कुरा उठाइने एमाले स्रोतले जनाएको छ ।