युथ ओलम्पिकमा छानिए अवाले परिवारले ५ लाख दिने

युथ ओलम्पिकमा छानिए अवाले परिवारले ५ लाख दिने


थाइल्याण्डको बैंककमा शुरु हुन गइरहेको ‘एसविसी युथ एसियन मेन एण्ड ओमेन बक्सिङ च्याम्पियनसि’मा नेपालको तर्फबाट दुई बक्सिङ खेलाडीले सहभागिता जनाउने भएका छन् । उक्त टीममा दुई जना टिम अफिसियल पनि रहेका छन् । सो टोलीलाई राखेपका सदस्य सचिव केशव कुमार विष्टले हालै विदाई गरेका थिए । प्रतियोगिता यही अप्रिल २०–२८ सम्म आयोजना हुँदैछ ।

उक्त च्याम्पियनशीपमा सहभागी हुन महिला ५७ केजी तौल समुहमा राखेप २०७४ का स्वर्णपदक विजेता कुसुम तामाङ र पुरुष ५६ केजी वैन्टमवेट तौल समुहमा राष्ट्रिय पदकधारी सुरेन्द्र राईले सहभागिता जनाउने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराएका छन् ।

खेलाडीहरुको स्तोरोन्नति, अन्तर्राष्ट्रिय अनुभव र विशेष प्रशिक्षण प्रदान गर्न नेपाल बक्सिङ संघले थाई बक्सिङ संघसँग समन्वय गरी दुई साताको लागि बैंकक पठाएको हो । उक्त एएसबीसी एशियन च्याम्पियनसिप प्रतियोगिताबाट छनोट भएका खेलाडी यही वर्ष अर्जेन्टिनामा संचालन हुने युथ ओलम्पिक गेमका लागि समेत योग्य ठहरिने छन् ।

उक्त च्याम्पियनशिपमा सफलता हासिल गरी युथ ओलम्पिक गेमका लागि छनोट भएमा खेलाडीलाई अवाले परिवारले जनही ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । उक्त घोषणाबारे संघका सदस्य श्याम अवालेले संचारकर्मीलाई जानकारी गराएका थिए ।

सो अवसरमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले एउटा खेल जितेमा दश हजार, कास्य पदक जितेमा पच्चिस हजार र रजत पदक जितेमा पचास हजार दिने घोषणा गरेका थिए ।

खेलाडी विदाई कार्यक्रममा नेपालको तर्फबाट १९६४ को जापान ओलम्पिकमा सहभागी भएका खेलाडी राम बहादुर गुरुङ, पूर्व अध्यक्षद्वय उमेश मास्के, रविराज थापा लगायत बक्सिङका पदाधिकारी एवं प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त टिममा टिम प्रशिक्षकका रुपमा आईबा फस्ट स्टार कोच दिपक राई र टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एव पूर्वबक्सिङ खेलाडी ओमनारायण रहेका छन् ।