यस्तो रहेछ प्रचण्डको ‘स्वस्थता’को राज

यस्तो रहेछ प्रचण्डको ‘स्वस्थता’को राज


माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौतापछि आफूले निरन्तर टेबलटेनिस खेल्दै आएको खुलासा गरेका छन् ।

विश्व टेबलटेनिस दिवसका अवसरमा ललितपुर जिल्ला टेबलटेनिस संघले आयोजना गरेको कार्यक्रममा दाहालले भने– ‘चितवनमा बिएससी पढ्दा टेबलटेनिस खेल्न सिकेको थिएँ । शान्ति सम्झौतापछि १०–१२ वर्ष भो, मैले निरन्तर टेबलटेनिस खेलिरहेको छु । म प्रधानमन्त्री हुँदा पनि खेल्न छाडिनँ, बरु बालुवाटरमा टेबलटेनिसका लागि छुट्टै भवन बनाएँ ।’

दाहालले अनुशासित र स्वस्थ समाज निर्माण गर्नका साथै राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति खेल क्षेत्र एकदमै महत्वपूर्ण क्षेत्र भएको बताउँदै आफू दुवैपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको विकासका लागि निरन्तर प्रयास गरेको बताए ।

कार्यक्रमपछि दाहालले केक काट्नुका साथै टेबलटेनिसका आफ्ना गुरु राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुदील शाहीका अलावा खेलाडीसंग पनि टेबलटेनिस खेलेका थिए । शाहीले दाहाल खेलप्रेमी र खेलको विकास चाहने नेता भएको धारणा व्यक्त गरे ।