राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता बैशाख ७ र ८ गते काठमाडौंमा हुने भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले सरकारी तवरबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्रतियोगिता नेपालमा मात्र नभइ दक्षिण एसियामै पहिलो पटक हुन लागेको जानकारी आफूले पाएका बताए ।
‘विभिन्न संस्था र निजी क्षेत्रबाट प्रतियोगिता भाका छन् । तर, सरकारी तवरबाट सम्बन्धित समुदायले नै मलाई जानकारी दिए अनुसार दक्षिण एसियामै पहिलो पटक हुन लागेको हो ।’ सदस्यसचिव विष्टले खेलकुदमा सबै समुदायको पहुच हुनुपर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र उपत्यकाका २ गरी ७ टिमको सहभागिता रहने छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार पाउने छन् । निलहिरा समाज काठमाडौंको संयोजन तथा नेपाल फुटसल संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।
निलहिरा समाजकी निर्देशक मनीषा ढकालले आफूहरुले पहल गर्नुपर्ने ठाँउमा राष्ट्रिय खेलकुद परिषद्ले नै प्रतियोगिता आयोजना गर्न अग्रसरता देखाएकोमा धन्यवाद दिइन् ।
प्रतिक्रिया