प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज नयाँदिल्लीमा नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभएको हो।
नयाँदिल्लीबाट रमेश लम्साल (रासस प्रतिनिधि)ले जनाएअनुसार प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पुऱ्याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ भन्ने अभिव्यक्ति दिनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याएको प्रष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रधानमन्त्रीको भनाइ थियो ।
‘भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा नेपालको सार्वभौमसत्ता एक स्वतन्त्र राष्ट्र अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफैं निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट भएको छ,’–उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा २१औँ शताब्दी अनुकूल आजको आवश्यकता नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा अघि बढ्छ भन्ने आधार भ्रमणले स्पष्ट गरेको उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको अभिमत, फैसलाका आधारमा बनेको संविधान र त्यसको कार्यान्वयन स्वरुप निर्वाचित सरकारप्रति जनसमर्थनको आदरभाव जुन भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको छ भन्नुभयो ।
भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो ।
समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताउनुभयो ।
तस्बिर रासस
प्रतिक्रिया