निकास खोज्न गएका नेताहरू जलपान गरेर फिर्ता

निकास खोज्न गएका नेताहरू जलपान गरेर फिर्ता


othernewsदिवङ्गत संविधानसभामा उपस्थित रहेका राजनीतिक दलका नेताहरूलाई राष्ट्रपति डा. रामवरण यादवले आफू भारतबाट फर्केर आउँदासम्म सहमतिमा पुग्न आह्वान गर्नुभएको छ । सोमबार माध्याह्न भारतको भ्रमणमा जानुअघि बिहान सबै क्रियाशील दलका नेताहरूलाई शीतलनिवासमा बोलाउनुभएको थियो । ठूला दलका दुई/दुई र साना दलका एक–एक नेतालाई भेला गरेर राष्ट्रपतिले करिब आधा घण्टा आफ्ना कुरा राख्नुभयो, तर दलका कुनै पनि नेतालाई उहाँले बोल्ने मौका दिनुभएन । सहमति बन्न नसक्दा देशको भविष्य अन्योलग्रस्त बनेको र राजनीतिक दलहरूप्रति जनविश्वास ह्रास भएको बताउँदै उहाँले अब पनि सहमति गरेर चुनावमा जान नसके प्राप्त उपलब्धि गुम्नेतर्फ सहभागी नेतालाई सचेत गराउनुभएको थियो । दलका नेताहरू राष्ट्रपतिले आजै निकास दिने आशा र विश्वासका साथ शीतलनिवास पुगेका थिए । तर, राष्ट्रपतिले सहमतिका निम्ति पुन: समयावधि थप गरेर आफ्नो वाणीमा विश्राम लगाउँदै नेताहरूलाई जलपान गर्न
आग्रह गर्नुभयो । नेमकिपाका नेता नारायणमान बिजुक्छेले हात उठाउँदै आफूले केही भन्न चाहेको बताउनुहुँदा राष्ट्रपतिले ‘आज नबोल्ने’ भन्दै रोक्नुभयो । सहभागी नेताहरूले हामी सबैका तर्फबाट नारायणमानजीले बोल्नुहुन्छ भनेपछि बिजुक्छेले बोल्न मात्र के सुरु गर्नुभएको थियो विश्वेन्द्र पासवानले सबैका तर्फबाट बिजुक्छेले मात्र बोल्ने कुरामा विमति जनाउँदै आफूले पनि बोल्न पाउनुपर्ने जिकिर गर्नुभयो । त्यसपछि होहल्लाको वातावरण बन्यो र राष्ट्रपतिले ‘भैगो कसैले पनि नबोल्ने’ भन्दै रोक लगाउनुभयो । त्यसपछि सबै नेताहरू जलपान गर्नतिर लागेका थिए । रोक्दारोक्दै पनि नारायणमानले ‘बाबुराम भट्टराईले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको कुरा के हो’ भनी प्रश्न गर्नुभएको थियो । तर, राष्ट्रपातिले त्यसको कुनै जवाफ दिनुभएन । त्यसपश्चात् राष्ट्रपतिले उपलब्ध गराउनुभएको जलपान गरेर नेताहरू हिस्स हुँदै शीतलनिवासबाट फर्किएका थिए । दलहरूलाई पुस १४ गतेसम्म समझदारीका लागि मौका उपलब्ध गराइएको छ । भारत भ्रमणबाट बलियो भई फर्किएपछि राष्ट्रपातिले ठोस कदम चाल्ने विश्वास गरिएको छ ।

बिचौलियाबाट प्रधानमन्त्री हैरान
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू बिचौलियाहरूबाट हैरान भएको बताउन थाल्नुभएको छ । अवरुद्ध राजनीतिलाई निकास दिन प्रधानमन्त्रीले प्रचण्ड, काङ्गे्रस महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला र डा. मीनेन्द्र रिजालमार्फत काङ्गे्रसलाई गुप्त सन्देश पठाउने गर्नुभएको, तर उनीहरूले आफ्ना कुरा तोडमरोड गरेर सन्देश पुर्‍याउने गरेको महसुस उहाँले गर्नुभएको छ । आफूले साँच्चै निकास दिनका लागि सुझाउँदा पनि परिस्थिति झन्झन् जटिल बन्नुमा बिचौलियाहरूको भूमिका खतरनाक भएको ठहर प्रधानमन्त्रीले गर्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री भट्टराई र काङ्गे्रस–एमालेका नेताहरूको बीचमा खेलेर आफैँ प्रधानमन्त्री बन्ने प्रपञ्चमा लागेको, सिटौला र मीनेन्द्र रिजाल पनि आफूहरू राम्रा मन्त्रालयको मालिक बन्न पाउने वातावरण निर्माणमा लागेकोले वातावरण बिग्रिएको भट्टराईको ठम्याइ छ । त्यसैले पछिल्ला दिनमा निकास निम्ति प्रधानमन्त्री आफैँ विपक्षी नेताहरूको सोझो सम्पर्कमा पुग्न थाल्नुभएको छ । उहाँले काङ्गे्रस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरूसँग प्रत्यक्ष संवाद गरिसक्नुभएको बताइन्छ । गत सोमबार झापाका कृष्ण सिटौला र डा. मीनेन्द्र रिजालमार्फत सङ्कटमोचनको सूत्र सन्देशका रूपमा काङ्गे्रससमक्ष पठाएपछि भट्टराई स्वयम्ले कोइराला र पौडेललाई सम्पर्क गरी आफ्नो सन्देशबारे स्पष्ट जानकारी गराउनुभयो । सभापति कोइरालालाई त उहाँले लिखित प्रस्ताव नै पठाउनुभएको छ । यसअघि भट्टराईले बिचौलियाहरूसँग कुरा गरिसकेपछि आफैँले विपक्षी नेताहरूलाई सम्पर्क गरी छलफल गर्ने गर्नु हुन्नथ्यो । बिचौलियाहरूको भूमिका सन्देहास्पद रहने गरेको पाइएकोले उहाँले यसरी सीधै छलफल गर्न थाल्नुभएको बुझिएको छ । प्रधानमन्त्रीले यसरी सोझै विपक्षी नेताहरूसँग संवाद गर्न थाल्नुभएकोले पनि अब राजनीतिक निकास निस्कन सक्ने आशा बढाएको छ ।

अध्यागमनमा मान्छे बस्छन् कि हुँडार ?
उच्चपदीय हैसियत र सुखद जीवनको अवसरका लागि आवाज बोल्नु मात्र महिलावादी आन्दोलनको उद्देश्य हो कि पीडा र सकसमा परेका महिलाको न्यायका लागि केही गर्नु पनि तिनको गतिविधिको दायराभित्र पर्छ ? भोजपुरकी एक निर्दोष छोरी जसले वैदेशिक रोजगारमा गएबापत अकल्पनीय, अमानवीय र पासविक ‘दण्ड’ भोग्नुपर्‍यो, तिनका पक्षमा बोल्न महिलावादी भनिएका सङ्घ–संस्थाहरूले कन्जुस्याइँ गरेपछि यसरी प्रश्न उठाउनुपर्ने अवस्था आएको हो ।
विदेशमा पसिना बेचेर स्वदेशको जीवन केही सहज तुल्याउन ‘जुनसुकै तरिकाले भए पनि’ मरुभूमिको देश भासिएकी भोजपुरकी छोरीले स्वदेश फर्कंदा विमानस्थलमै ढुकेर बसेका हुँडार (हायना) हरूको सिकार बन्नुपर्ला भन्ने निश्चित छ– कहिल्यै सोचेकी थिइनन् । अध्यागमन विभागको छाता ओढेर बसेका हुँडारहरूबाट नजाने देशका कति युवा–युवती यसरी प्रताडित भएका हुँदा हुन् । यदाकदा सार्वजनिक भएका घटना नै आङ जिरिङ्ग गर्ने प्रकारका छन् । अध्यागमनका माथिल्लो तहका हाकिमहरूसमेत यसप्रकारका अपराधकर्ममा सामेल भएको तथ्यहरू सार्वजनिक हुनुले अध्यागमन विभागको संरचनामा आमूल परिवर्तनको अनिवार्यतालाई उजागर गरेको छ । विदेशिनेहरूको त्रुटि ‘सूक्ष्मदर्शक यन्त्र’ लगाएर खोज्ने र फेला पर्नेबित्तिकै बार्गेनिङ गरी मोटो रकम असुल्ने काम अध्यागमनका कर्मचारीको ‘धर्म, संस्कृति र परम्परा’ बनेको महसुस धेरैअघिदेखि नै गर्ने गरिएको हो । तर, पछिल्लोपटक एउटी निरीह, निर्दोष र गरिबपुत्रीमाथि अध्यागमनका सुरक्षाकर्मी तथा कर्माचारीले जे–जस्तो व्यवहार गरे त्यसले गृह मन्त्रालयअन्तर्गत हुने घुसखोरी, भ्रष्टाचार र अत्याचारको सङ्केत मात्र दिएको छैन, प्रहरी र कर्मचारीको भेषमा अपराधीहरूको प्रवेश भएकोसमेत खुलासा गरेको छ । प्रहरी पर्शुराम बस्नेत र नायव सुब्बा सोमनाथ खनालले भोजपुरकी छोरीमाथि गरेको अत्याचार हेर्दा उल्लिखित दुवै अपराधी ‘फाँसीको सजायका निम्ति योग्य’ देखिन्छन् । तर, नेपालमा फाँसीको कानुनी व्यवस्था नभएको हुँदा निज अपराधीहरूलाई सेवाबाट निष्कासन गरी उनीहरूले हालसम्म खाइपाई आएको तलब–भत्ता सुविधा ब्याजसहित असुलउपर गरी फिर्ता लिने र २० वर्ष गोलघरमा अनिवार्य रूपले बस्नुपर्ने गरी सय वर्षभन्दा बढी जेल सजाय हुनु वाञ्छनीय देखिन्छ । त्यसैगरी लुटिएको नगदसहित निजहरूको अंशको सम्पूर्ण भाग क्षतिपूर्तिस्वरूप भोजपुरकी छोरीलाई दिलाउन सके मात्र वास्तवमा उनले न्याय पाएको ठहर्नेछ । पराइभूमिमा अन्जान मानिसको सेवा गरेर मुस्किलले बचाएको दुई लाख रुपैयाँ लुटी शरीर र आत्मसम्मानसमेत लुछ्ने पर्शुराम र सोमनाथलाई उचित सजाय दिलाउन नसके भविष्यमा यस्तै प्रकारका घटनाको पुनरावृत्ति नहोला भन्न सकिन्न । त्यसैले सम्बन्धित विभाग, मन्त्रालय, सरकार, कानुनसेवक तथा न्यायालयले उल्लिखित अपराधीहरूलाई कठोरभन्दा कठोर सजाय दिलाउन हिचकिचाउनु भनेको पनि अपराध र अपराधीलाई प्रोत्साहन गर्न खोजेको अर्थ लाग्न सक्छ, सम्बन्धित निकाय यसतर्फ संवेदनशील हुन आवश्यक देखिएको छ ।
यति विष्मयकारी आपराधिक घटना हुँदा पनि महिला अधिकारकर्मी, ती सम्बद्ध सङ्घ–संस्था तथा तिनका प्रतिनिधिहरूले पीडितमाथि न्याय र अपराधीमाथि कठोर सजाय दिलाउन आवाज नउठाउँदा महिलावादी भनिनेहरूको नियत र औचित्यमाथि शङ्का उत्पन्न भएको छ । राज्यसत्ता र राज्य सञ्चालन प्रक्रियामा ३३ प्रतिशत सेयर खोजी गर्नेहरूबाट महिलामाथि भएको ज्यादति नियन्त्रणमा पनि कम्तीमा ३३ प्रतिशत भूमिका निर्वाह हुनुपर्ने आशा राखिनु अस्वाभाविक होइन । यद्यपि भोजपुरकी छोरीमाथि भएको घटना महिलाको मात्र सरोकार र चिन्ताको विषय नभई आमनेपाली तथा विश्वभरिका मानवतावादीहरूको हो । गृह मन्त्रालयमातहतका र अन्य मन्त्रालयका कर्मचारी तथा प्रहरीहरूका लागि यो झनै चिन्ता र लज्जाको विषय हो । अपराधीहरूलाई हदैसम्मको दण्ड–सजाय दिलाई भविष्यमा यसप्रकारका अमानुषिक एवम् आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न निजामती कर्मचारी तथा प्रहरीले पनि विशेष तत्परता दर्शाउनु आवश्यक छ । मानव अधिकारवादी, पत्रकार, कानुन व्यवसायी, महिला अधिकारकर्मीलगायत देशका सबै तप्का र तहबाट विशेष अग्रसरता लिनुपर्ने यस मुद्दामा सञ्चारबाहेक अन्य क्षेत्रबाट अपेक्षाकृत पहलकदमी नलिइनुले मुलुक संवेदनाहीन बनेको अनुभूत गराएको छ ।
– हेम लम्साल

भीआईपीलाई सुरक्षा दिन पन्ध्र सय प्रहरी
भूमिका र कार्यव्यवहारले ‘भीआईपी’ नभए पनि भीआईपीको नाममा राज्यले धेरै ठूलो जनशक्ति प्रयोग गर्नुपरेको खुलासा भएको छ । राज्यले तीन सयभन्दा बढी भीआईपीका लागि पन्ध्र सयभन्दा बढी सुरक्षाकर्मीलाई ‘इन्गेज’ गराएको छ ।
राज्यले बहालवाला तथा पूर्वभीआईपीहरूलाई सुरक्षा दिँदै आएको छ भने अधिकांश पूर्वभीआईपीहरूको सुरक्षाका लागि सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले बहालवाला तथा पूर्वभीआईपीहरूका लागि मात्र होइन राजनीतिक दलका नेताहरूको सुरक्षाका लागि पनि नेपाल प्रहरीका जवानहरूलाई खटाएको छ । ठूला राजनीतिक दलका नेता तथा पूर्वविशिष्टहरूको सुरुक्षामा बढी सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।
नेपाल प्रहरी सुरक्षा महाशाखाका एक अधिकृतका अनुसार एमाओवादीका नेताहरूको सुरक्षामा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । एमाओवादीले गत मङ्सिर पहिलो साता राजधानीमा गरेको चियापानमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुङका पदम कुँवरले चड्कन हानेपछि सरकारले एमाओवादीका नेताहरूको सुरक्षामा अझै बढी सुरक्षाकर्मी परिचालन गरेको हो । महाशाखाका अनुसार उनीहरूको सुरक्षामा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
बहालवाला भीआईपीहरूका लागि नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै पूर्वभीआईपीहरूका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै उनीहरूको सुरक्षाका लागि सादा पोसाकका प्रहरी पनि खटाइएको छ । गृहको पत्रका आधारमा बहालवाला र पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रहरी परिचालन भएका छन् । बहालवाला विशिष्ट व्यक्तिहरूका साथै पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष तथा अन्य नेताहरू, उद्योगीहरूको सुरक्षामा प्रहरी परिचालन गरिएको छ ।
गृह मन्त्रालय सुरक्षा महाशाखाका एक अधिकारीले भने, ‘विशिष्ट व्यक्तिहरूको सुरक्षामा एक हजार पाँच सयभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ ती अधिकारीका अनुसार पोसाक र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले पनि ‘बहालवाला तथा पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा सुरक्षाकर्मी परिचालन भएको बताएका छन् । तर, कसको सुरक्षामा कति र कस–कसले सुरक्षाकर्मी लिएका छन् भन्न मिल्दैन’ भन्दै उनले थपे, ‘यो व्यक्तिको सुरक्षा र राज्यको आफ्नो नीतिअनुसार चल्ने भएकाले यसमा सोधीखोजी गर्ने कुरा हुँदैन ।’
नेपाल प्रहरीको तथ्याङ्कअनुसार विशिष्ट व्यक्तिको सुरक्षामा खटिने प्रहरीको सङ्ख्या पाँँच सय चौंतीस छ भने सशस्त्र प्रहरीबाट नौ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबाहेक नेपाली सेनाका सुरक्षाकर्मी पनि विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटिएका छन् । सङ्ख्याको आधारमा राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाबाट सबैभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सैनिक प्रवक्ता सुरेश शर्माका अनुसार राष्ट्रपतिको सुरक्षामा सेनाको एक गुल्म नै खटिएको छ । यसबाहेक उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीको सुरक्षामा समेत सेनाबाट अधिकृत तहका सुरक्षाकर्मी खटिएका छन् ।
गृह मन्त्रालय सुरक्षा महाशाखाका अनुसार निजी सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेका छन् । उनले नेपाल प्रहरीको डीएसपीको कमाण्डमा ८० जना सुरक्षाकर्मी लिएका छन् भने सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा २६ जना सुरक्षाकर्मी लिएका छन् । तर, प्रधानमन्त्री कार्यालयले ६६ प्रहरीको माग गरेको थियो । त्यस्तै भट्टराईको सुरक्षामा नेपाल आर्मीबाट पनि निकै ठूलो जनशक्ति परिचालन गरिएको छ ।
यसैगरी नेपालका राष्ट्रपतिले भन्दा पनि बढी सुरक्षा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले लिएका छन् । सरकारले प्रचण्डको सुरक्षामा प्रहरी निरीक्षकको कमाण्डमा २४ सुरक्षाकर्मी खटाएको छ भने सशस्त्र प्रहरीबाट डीएसपीको कमाण्डमा १३ सुरक्षाकर्मी खटिएका छन् । यसैगरी १५ भन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफ्नो सुरक्षाका लागि नेपाल प्रहरीबाट ११ र सशस्त्र प्रहरीबाट १३ सुरक्षाकर्मी लिएका छन् । गृहका एक अधिकारीका अनुसार उनको सुरक्षामा पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । गृहका अनुसार उनले आफ्नो पार्टी कार्यालयको सुरक्षामा पनि प्रहरी परिचालन गरेका छन् भने पार्टीका केही केन्द्रीय नेताहरूको सुरक्षाका लागि पनि प्रहरीको प्रयोग गरिएको छ ।
राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा नेपाल प्रहरीबाट १० र सशस्त्र प्रहरीबाट १४ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी एमाओवादीका नेतासमेत रहेका पूर्वगृहमन्त्री कृष्णबहादुर महराले १९ जना सुरक्षाकर्मी लिएका छन् । उनको सुरक्षामा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालित गरिएको छ । त्यस्तै काङ्ग्रेस सभापति सुशील कोइरालाको सुरक्षामा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी १९ जना सुरक्षाकर्मी खटिएका छन् ।
पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीको सङ्ख्या पनि कम छैन । उनको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट चार सुरक्षाकर्मी खटिएका छन् । पूर्वगृहमन्त्री वामदेव गौतमको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट तीन सुरक्षाकर्मी खटिएका छन् । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा पनि सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट तीन सुरक्षाकर्मी खटिएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोेकेन्द्रबहादुर चन्दको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीबाट गरी २१–२१ जना सुरक्षाकर्मी परिचालित छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट दुई सुरक्षाकर्मी खटिएका छन् । पूर्वगृहमन्त्री केपी शर्मा ओलीको सुरक्षामा पनि १६ जना प्रहरी खटिएका छन् ।
नेपाल प्रहरीका अनुसार संविधानसभाका पूर्वसभामुख सुवास नेम्वाङ र प्रधानन्यायाधीश खिलराज रेग्मीको सुरक्षा नेपाल प्रहरीले मात्रै गर्दै आएको छ । उनीहरूको सुरक्षामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठ–आठ सुरक्षाकर्मी खटिएका छन् । ‘थ्रेट एनलाइसिस’पछि गृह मन्त्रालयले निर्धारण गरेका व्यक्तिलाई तोकिएको सुरक्षाकर्मी खटाउनुपर्ने नीतिगत निर्णय नै भएकाले सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारी बताउँछन् । सशस्त्र प्रहरीका एआईजी ऋषभदेव भट्टराईले पनि गृह मन्त्रालयले विशिष्ट व्यक्तिमाथिको सुरक्षा ‘थ्रेट एनालाइसिस’ गर्छ, त्यहीअनुसार हामीले सुरुक्षाकर्मी खटाइदिने हो भने । उनले कसलाई कति सुरक्षा दिइएको छ भन्नेबारेमा केही बताउन नमिल्ने बताए । उनले थपे, ‘यो भीआईपीको सुरक्षाको सुवाल भएकाले यसबारे केही बताउन मिल्दैन ।’

बैंक आफैँ ठगी धन्दामा !
कसैले कुनै व्यक्ति या संस्थालाई झुक्याएर ठगी गर्ने गरेको घटना त बेलाबखतमा हुने गरेकै हो, तर अब बैंकजस्तो संस्था खोलेर पनि व्यक्तिलाई ठगी गर्ने धन्दा सुरु भएको छ र यस्तो धन्दामा एच एण्ड बी डेभलपमेन्ट बैंक आफैँ संलग्न रहेको पाइएको छ । प्राप्त जानकारीअनुसार उक्त बैंकले दर्जनौँ व्यक्ति र केही सहकारी तथा फाइनान्स कम्पनीले नगद जम्मा गरेपछि सम्बन्धित व्यक्ति र संस्थाका नाममा उपलब्ध गराएको ‘गुड फर पेमेन्ट’ चेक नसाटेर सत्तरी करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने प्रयास गरेको छ । एच एण्ड बी डेभलपमेन्ट बैंकको कुलेश्वर शाखाका एक कर्मचारीले जनाएअनुसार उक्त बैंकमा रहेको जयकुमार यादव र मनोजकुमार चौरसियाका नाममा रहेको खाता नं. क्रमश: ०१२९ ०००१ ०००००२८४ र ०१ ८०१८११००००४३४७२०००००१ मा व्यवसायीहरू सीता थापाले रु. २० लाख, देवनारायण श्रेष्ठले ४० लाख, कमल पराजुलीले ४० लाख, जंगबहादुर अनामनी श्रेष्ठले ६५ लाख, बद्रीनारायण अनामनी श्रेष्ठले ८५ लाख, अञ्जु शाक्यले २० लाख, पुनम प्रधानले २० लाख, सुनिल शाहीले २० लाख, जयन्ती जोशी कायस्थले १० लाख, विश्वमोहन कायस्थले ५० लाख, विष्णु भण्डारीले ७० लाख, ज्ञानेन्द्र केसीले ८८ लाख, शङ्कर भण्डारीले ९२ लाख, कविता ढकालले २० लाख, सरितशमशेर जबराले एक करोड २० लाख, मधुकरशमशेर जबराले ५० लाख, लक्ष्मी राईले एक करोड र उमेश बर्तौलाले ४० लाख रुपैयाँ नगद जम्मा गरी निश्चित मितिमा रकम निकाल्ने गरी ‘गुड फर पेमेन्ट चेक’ लिएका थिए । उल्लिखित व्यक्तिबाहेक अन्य केहीले पनि खातामा नगद जम्मा गरी ‘चेक’ लिएको बताइन्छ । यसरी जयकुमार यादव र महेशकुमार चौरसियालगायतको खातामा पटकपटक गरी सर्वसाधारणको मात्र बीस करोडभन्दा बढी रकम जम्मा भएको थियो । आ–आफ्ना चेक साट्न पुगेका सर्वसाधारणलाई बैंकले मङ्सिर २६ गतेदेखि नगद नदिई रित्तो हात फर्काउने गरेको छ । यसैबीच उक्त शाखाका प्रमुख नीरज नेपाललाई रकम हिनामिना गरेको आरोपमा बैंक सञ्चालकहरूले प्रहरी लगाई गिरफ्तार गराएका छन् भने खातावालहरू जयकुमार यादव र महेशकुमार चौरसिया फरार छन् । मनोज चौरसिया म्याक्स मोबाइल तथा नयाँ सडकमा साडी पसलका मालिक हुन् भने यादव पनि व्यापारी नै भएको बताइन्छ । व्यापार विस्तारका लागि आफ्नो खातामा ठूलो रकम ‘शो’ गर्नुपर्ने अवस्था आएको भन्दै चौरसिया र यादवले विभिन्न व्यक्तिहरूलाई अग्रिम बीसदेखि चौबीस प्रतिशत ब्याज दिई खातामा रकम जम्मा गर्न लगाएका थिए । रकम जम्मा भइसकेपछि बैंकले प्रमाणित गरी उनीहरूलाई विभिन्न मितिका ‘गुड फर पेमेन्ट चेक’ उपलब्ध गराएको थियो । दर्जनौँ व्यक्ति अहिले बैंकद्वारा उपलब्ध गराइएको ‘गुड फर पेमेन्ट चेक’ लिएर भौँतारिइरहेका छन् । उनीहरूमध्ये कतिले त बैंकबाट ऋण लिएरसमेत रकम जम्मा गरेका थिए । ज्ञानेन्द्र केसीले एच एण्ड बी बैंकको न्युरोड शाखाबाट ४० लाख रुपैयाँ ऋण लिई त्यहाँबाट प्राप्त चेक नै कुलेश्वर शाखामा लगी बुझाएका (जम्मा गरेका) थिए । अल्पकालका निम्ति कसैलाई ब्याजमा रकम उपलब्ध गराउँदा नाफा हुने र गुडफर पेमेन्ट चेक पाएपछि आफ्नो रकम पनि नडुब्ने भएकोले राजधानीमा तीन सयभन्दा बढी व्यक्तिले त्यसप्रकारको कारोबारमा आफूलाई संलग्न गराउने गरेको पाइएको छ । उल्लिखित व्यक्तिहरू पनि विगत एक वर्ष अघिदेखि नै यसप्रकारको कारोबारमा संलग्न हुने गरेका र यस अवधिमा अनेकौँपटक रकम राख्ने र चेक लिने तथा निश्चित समयमा साट्ने गर्दै आएका थिए ।
एच एण्ड बी डेभलपमेन्ट बैंकको अध्यक्षमा श्रवणकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा जसुदा सैंजू रहेका छन् । पुष्पज्योति ढुङ्गानालगायत केही व्यक्ति सञ्चालक रहेको उक्त बैंकमा राजनीतिक रूपले एमाले निकटस्थहरूको वर्चश्व रहेको बताइन्छ । स्वयम् ढुङ्गाना पनि आफूलाई एमालेको वफादार कार्यकर्ताका रूपमा चिनाउने गर्छन् । नेपाल राष्ट्र बैंकको नेतृत्वमा समेत एमालेको हालिमुहाली कायम रहेका बेला पुष्पज्योति ढुङ्गानाले बैंकको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरेका हुन् कि भन्ने आशङ्का गर्न थालिएको छ । सर्वसाधारणको निक्षेप भुक्तानी गराउनेतर्फ राष्ट्र बैंकले कुनै तत्परता नलिनुले पनि थप आशङ्का पैदा गराएको छ ।
आ–आफ्ना चेक लिएर साटिनुपर्ने माग गर्दै एच एण्ड बी बैंकको प्रधान कार्यालय कमलादीमा पीडितहरू जाँदा उनीहरूलाई ‘हामी अनुसन्धान गर्दै छौँ’ भनी फर्काउने गरिएको छ भने राष्ट्र बैंकका उच्चाधिकारीसमक्ष आफ्नो पीडा राख्दा पनि ‘अनुसन्धानपछि मात्र हुने’ भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको बुझिएको छ । एच एण्ड बी डेभलपमेन्ट बैंकमा भएको घटना र केन्द्रीय बैंकका पदाधिकारीहरूको व्यवहारले नेपालका निजी क्षेत्रबाट सञ्चालित बैंकहरूको विश्वसनीयतामा गम्भीर धक्का पुर्‍याएको छ । कुनै कर्मचारीले गल्ती गरेका छन् भने तीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अपनाइनु एउटा पाटो हो, तर बैंकमा जम्मा हुन आएको नगदबापतको चेकसमेत नसाट्नाले निजी क्षेत्रका विकास बैंकहरू कतिसम्म गैरजिम्मेवार र अविश्वसनीय हुन्छन् भन्ने सन्देश प्रवाहित हुन पुगेको छ ।

जनताको निक्षेपमा मस्ती गर्नेहरूलाई अब नियन्त्रण गरिने
सरकारले अबदेखि एकै व्यक्तिले बैंक, उद्योग तथा इन्स्योरेन्समा लगानी गर्न नपाउने नीति बनाउन लागेको छ । एकै व्यक्तिले सबैतिर लगानी गर्दा जनताको पैसा जोखिममा पर्ने गरेको तथा बैंक, इन्स्योरेन्सहरू जनताको भन्दा पनि व्यापारीको स्वार्थमा प्रेरित हुने भएको भन्दै यस्तो नीति बनाउन लागिपरेको हो ।
नेपालको कमजोर कानुनको फाइदा लिँदै लामो समयदेखि एउटै व्यक्ति बैंक मालिक, उद्योग व्यवसायको हाकिम वा लगानीकर्ता र बिमा कम्पनीका सञ्चालक बन्दै आएका छन् । उद्योगी घरानाका रूपमा चिनिएका तर सरकारले आर्थिक अपराधअन्तर्गतको कालोसूचीमा राखेका व्यक्तिहरूले समेत यी सबै क्षेत्रमा लगानी गरेका छन् । यस्ता व्यापारीले आफ्नो व्यवसायमा कृत्रिम क्षति देखाएर बिमा कम्पनी तथा बैंकबाट मोटो रकम असुलिरहेको पाइन्छ ।
अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले यस्तो नियम बनाउन लागेको हो । अर्थ मन्त्रालयमा एकै व्यक्तिले सबै क्षेत्रमा थोरै–थोरै लगानी गर्ने र कृत्रिम क्षति देखाएर व्यापारीले बैंक तथा इन्स्योरेन्सबाट रकम लैजाने गरेकाले कारबाहीको माग गर्दै उजुरी पर्न थालेपछि सरकारले यसमा कडाइ गर्ने गरी कानुन बनाउन लागेको हो ।
अर्थ मन्त्रालयका सहसचिव राजन खनालले एकै व्यक्तिले धेरैतिर लगानी गरेको र यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उठेकाले यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए । उनले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि नेपाल राष्ट्र बैंकले आवश्यक कानुन बनाएर मन्त्रालयमा पेस गर्दै छ ।’ ‘एकै व्यक्तिले बैंक, इन्स्योरेन्स तथा उद्योगमा लगानी गर्दा सबैतिर प्रभावमा पारेर आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने भएकाले धेरैले सबैतिर लगानी गरेको देखिन्छ,’ उनले भने, ‘अहिले त्यस्तै देखिएको छ, सर्वसाधारणको रकममा सीमित व्यापारीले फाइदा उठाइरहेको देखिन्छ । त्यसैले सरकार यसलाई नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारीमा छ, केही दिनमै कानुन बनेर आउँँछ ।’
यसैगरी नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि नेपालमा एकै व्यक्तिले धेरै क्षेत्रमा लगानी गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न कानुन बनाउने तयारी भएको जानकारी दिए । उनले भने, ‘यसबारेमा थप जानकारी गराउन मिल्दैन, यो प्रक्रियामै छ । बैंक, इन्स्योरेन्समा लगानी गर्नु नेपालका उद्योगीहरूका लागि पहिलो ध्येय बन्ने गरेकाले एउटै ग्रुपले धेरैतिर होल्ड गरिरहेको देखिन्छ ।’ ज्ञवालीले थपे, ‘साना–ठूला सबै व्यापारीले बैंक तथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् ।’ ‘एकै व्यक्तिले धेरैतिर लगानी गर्न पाउने–नपाउने भन्ने कुनै नीतिनियम नभएकोले अहिले समस्या देखिएको छ,’ उनले थपे, ‘कानुन बनेपछि यसमा नियन्त्रण आउँछ ।’
राष्ट्र बैंकका अनुसार एकै व्यक्तिले धेरैतिर लगानी गर्नेहरूको सूचीमा ठगी धन्दाका सबभन्दा ठूला खलनायक राजेन्द्र खेतान रहेका छन् । उनले खेतान समूहको नाममा जनताको पैसामा मस्ती गरिरहेका छन् । खेतान कर छलीमा पनि अगाडि नै रहेका छन् । खेतानले लक्ष्मी बैंक, बैंक अफ काठमाडौं, प्राइम लाइफ, एभेरेस्ट इन्स्योरेन्स, विभिन्न उद्योगलगायतका क्षेत्रमा लगानी गरेका छन् । यसैगरी त्रिवेणी ग्रुप, अग्रवाल समूह, मारवाडी समूह, एनबी ग्रुप, चौधरी ग्रुप, दुगड, केडिया, ज्योतिलगायतका व्यापारी घरना रहेका छन् । यी ग्रुपमा आबद्ध सबै व्यापारीले बैंक तथा इन्स्योरेन्समा लगानी गरेका छन् ।

पुष्पाको सम्मानमा मह–बोली
वरिष्ठ कलाकार एवम् महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशलाई बर्बादीको दिशातिर लैजाने राजनीतिक पार्टीका नेताहरूलाई पुष्पा बस्नेतजस्ती जुझारू समाजसेवी चेलीले पाठ सिकाउनुपर्नेमा जोड दिएका छन् । क्षत्री समाज केन्द्रीय कार्यालय काठमाडौंले सीएनएन हिरो पुष्पा बस्नेतको सम्मानमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महजोडीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले यतिखेर संसारमा नेपाल दुई किसिमबाट चिनिएको बताए । राजनीति गर्नेहरू खराब वा असफल भएको देश र पुष्पा बस्नेतजस्ता समाजसेवी जन्मेको देश भनेर चिनिएको आचार्यको भनाइ रहेको थियो । राजनीति डुब्लाउँदै गएका बेला पुष्पा बस्नेतको सुगन्धले समाजसेवा यतिखेर फस्टाउँदै गएको उनले बताए ।
जेलबाट बाहिर आएका बालबालिकाले देश हाँक्ने र यी नेता जेल गएर तिनका छोराछोरीलाई पुष्पाले पढाउनुपर्ने दिन नआउला भन्न नसकिने आचार्यको भनाइ थियो । नेपाली जनताले नेताका कारण कहिल्यै सुख नपाएको दुखेसो गर्दै आचार्यले अगाडि भने, ‘प्रजातन्त्रको हरण भएका बेला केही सुख भए पनि प्रजातन्त्र सर्वोत्कृष्ट व्यवस्था भएकाले त्यो स्थापनार्थ जनताले आन्दोलन गरेका हुन् । जनताको बलिदानीबाट प्राप्त प्रजातन्त्रपश्चात् मुलुक गलत मान्छेको हातमा गएकोले जनताले सास्ती खेप्नुपरेको तर्क आचार्यको थियो । बुढानीलकण्ठमा बसेर निहत्था बालबालिकाको स्वतन्त्र हुने अधिकारको लडाइँमा सक्रिय पुष्पालाई विष्णु भगवान्को भूमिमा सबै मिलेर जग्गा उपलब्ध गराइदिनुपर्ने कुरामा आचार्यले जोड दिएका थिए ।
अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अहिलेसम्म केटीहरू फिल्मका हिरोइन मात्र थिए, तर यतिखेर नेपालआमाकी छोरी पुष्पा भने देशको हिरो भएको बताए । श्रेष्ठले पनि नेपालका राजनीति गर्ने जत्थालाई पढाउन पुष्पालाई आग्रह गरे । जाति र भाषीको कुरा उठिरहेका बेला पुष्पालाई क्षत्री समाजले सम्मान गरे पनि सम्मान गर्ने प्रक्रिया समावेशी भएकाले आफू नामका पछाडि श्रेष्ठ भए पनि दलित, क्षत्री, गुरुङ, तामाङ सबै भएको बताएका थिए । उनले पुष्पाजस्ती आदर्श नारीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
क्षत्री समाजका अध्यक्ष कुमारबहादुर थापाले आफूहरू सबै जाति र भाषीलाई एउटै मालामा उनेर अखण्ड नेपाल निार्मणका लागि लागिपरेको बताए । समाजका अध्यक्ष थापाको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा सिएनएन हिरो पुष्प बस्नेतले अबको दश वर्षमा आफूले जेलबाट ल्याएका बच्चाले नै आफ्नो संस्था चलाउने बताइन् । सम्मान कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष पे्रमबहादुर खड्का, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, पूर्वमन्त्री विपिन कोइराला, क्षत्री समाज केन्द्र सदस्य सुभद्रा खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
– योगेन्द्र चौलागाईं

मुस्ताङ संसारकै दश उत्कृष्ट गन्तव्यमा
आगामी सन् २०१३ का लागि विश्वका उत्कृष्ट दश पर्यटकीय गन्तव्यमा मुस्ताङ परेको छ । नेपालको सिमानाभित्र परे पनि ‘लिटिल टिबेट’ अर्थात् ‘द लाष्ट फरविडन किङडम’ भनेर उपल्लो मुस्ताङलाई विश्वका दश उत्कृट गन्तव्यमध्ये तेस्रो नम्बरमा राखिएको हो । लोन्ली प्लानेट नामक प्रख्यात संस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य ‘लिटिल टिबेट’ अर्थात् ‘द लाष्ट फरविडन किङडम’ हेर्ने अन्तिम अवसर भन्दै मुस्ताङ पर्यटकका लागि नपुगी नहुने गन्तव्यका रुपमा व्याख्या गरेको छ । सन् २०१३ का लागि प्रकाशित ‘उत्कृष्ट गन्तव्य’मा फ्रान्सको कोरसिक, इजरायलको द नेग्याम, नेपालको मुस्ताङ क्रमश: पहिलो दोस्रो र तेस्रोमा रहेका छन् ।
लोन्ली प्लानेटले सन् २००५ मा विश्वकै उत्कृष्ट १० पर्यटक पदमार्गमध्ये अन्नपूर्ण फेरोलाई समेत राखेको थियो । केही वर्षयता अन्नपूर्ण फेरोका धेरै भूभागमा मोटर पुगेपछि दश उत्कृष्ट पदमार्गबाट हटाएको थियो । लोन्ली प्लानेटले उत्कृष्ट दश पदमार्गमा राखेकाले आज पनि धेरै पर्यटक अन्नपूर्ण फेरोको पदयात्रामा रमाउने गरेका छन् ।
असहाय–अनाथलाई भोजन र वस्त्र वितरण
राजधानीको सामाखुसी टाउन प्लानिङ्मा एक सय ५० जना असहाय अनाथलाई भोजन तथा वस्त्र वितरण गरिएको छ । नेपाल गृहस्थ धर्म सेवा सदनको आयोजनामा सामाजिक सेवाबाट प्रेरित सो कार्यक्रम संस्थाका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तनहुँका पूर्वसभापति विष्णुवीर आलेमगर हुनुहुन्थ्यो । स्थानीय स्विमिङपुलमा आयोजित कार्यक्रममा संस्थाका आजीवन सदस्य, साधारण सदस्य तथा सल्लाहकार र सामाखुसी टाउन प्लानिङवासीको भव्य उपस्थिति थियो । साथै, ‘हाम्रो बाल संरक्षण धापासी’, ‘रानीबारी असहाय बाल संरक्षण’ तथा अन्य पाँच अनाथ–असहाय संस्थाका संरक्षक र बालबालिका कार्यक्रममा उपस्थित थिए ।
रौनियारहरूले धर्मशाला निर्माण गर्ने
रौनियार सेवक समाजको आयोजनामा थानकोटस्थित त्रिभुवनपार्कमा एक भेलाको आयोजना गरेर राजधानीमा ‘रौनियार धर्मशाला’को निर्माण गर्ने घोषणा गरिएको छ । सो भेलालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय रौनियार वैश्य परिषद्का राष्ट्रिय अध्यक्ष शिवनाथप्रसाद गुप्ता रौनियारले ‘रौनियार समाजले आफ्नो धर्म, संस्कृतिको उत्थान गर्न रौनियार धर्मशालाको निर्माण गर्न लागेको उल्लेख गर्दै नेपाल अधिराज्यभरिका रौनियारहरूलाई सहयोग पुर्‍याउन आह्वान गर्नुभयो । उहाँले देशभरि छरिएर रहेका रौनियार समुदायलाई एकताबद्ध भएर सङ्गठित हुनसमेत अपिल गर्नुभयो ।
धर्मशाला भवन निर्माणकार्य समितिका संयोजक राजकिशोर गुप्ताले समाजसेवाको उच्च भावनाबाट पे्ररित भएर समाजलाई अझ उचाइमा पुर्‍याउनुपर्ने समय आइसकेको जनाउनुभयो । रौनियार सेवक समाजका अध्यक्ष छोटेलाल रौनियारले रौनियारहरू सफलताको केन्द्रतिर लम्कँदै गइरहेको अवस्थामा विभिन्न क्षेत्रबाट होस्टेमा हंैसे मात्र गरेको खण्डमा रौनियार जातीयताको इतिहासलाई कुनै पनि शक्तिले दबाउन सक्दैन भन्दै भवन निर्माण गर्न १५ लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नुभयो ।
कार्यसमितिका महासचिव काशीप्रसाद गुप्ताले रौनियार समाजको योगदान नेपालमा हजारौँ वर्षदेखि कायम रहेको परिस्थितिमा विश्वासको वातावरण बनाएर राम्रो सन्देश आमसमाजमा पुर्‍याउनुपर्ने खाँचो रहेको चर्चा गर्नुभयो ।
मुक्तिप्रसाद रौनियारले विगत र वर्तमान अवस्थामा रौनियार समाजको कार्यप्रगतिबारे चर्चा गर्नुभयो । ५१ सदस्यीय कार्यसमितिमा सन्तोषकुमार रौनियारलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने सो भेलाको अध्यक्षता राष्ट्रिय अध्यक्ष शिवनाथप्रसाद गुप्ता रौनियारले गर्नुभएको थियो ।
कार्यसमितिले सल्लाहकारमा राष्ट्रिय अध्यक्ष शिवनाथप्रसाद गुप्ता रौनियार, भूतपूर्व मानवीय रामेश्वर रौनियार, मुन्नीकुमारी गुप्ता, राजीवनयन रौनियार, राजभूषण रौनियार, उमाशङ्करप्रसाद रौनियार, नारायणप्रसाद रौनियार, जोगेन्द्रप्रसाद रौनियार, अशोक गुप्ता, कृष्णमुरारी रौनियार, श्यामसुन्दर गुप्ता, छोटेलाल रौनियार, उदीतनारायणप्रसाद रौनियार आदिलाई चयन गरेको छ ।
–रमेशकुमार रौनियार

बौद्धिक केन्द्रको राजनीतिक चिन्तन
बौद्धिक स्रोत परिचालन केन्द्र नेपालले गत साता मुलुकको विषम राजनीतिक परिस्थितिबारे एक कार्यक्रमको आयोजना गरेको थियो । सो केन्द्रका अध्यक्ष पीजी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी र धार्मिक गरी करिब दुई सयजनाको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा नेपालको राजनीतिक समन्वय हुन नसकेको, राष्ट्रियता र प्रजातन्त्र कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको थियो ।
राजनीतिक दलहरूसँग स्पष्ट आदर्श, सुशासन, मानवता, मूल्य–मान्यता र मौलिकता राजनीतिक व्यवहारमा नदेखिएको र दलहरू सत्ता र कुर्सीमोहमा मात्रै फसेको आरोप केन्द्रले लगाएको छ । नेपालको विविधता, नेपाली व्यवहार, यहाँको बसोबास र प्रजातन्त्र नेपालको माटोमै हुर्कनुपर्छ भन्ने केन्द्रको मान्यता रहेको छ । जनशक्ति पार्टीका विभिन्न नेताहरू उपस्थित रहेको उक्त कार्यक्रममा अध्यक्ष सूर्यबहादुर थापाको सोच र चिन्तनबारे व्याख्या गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी अनिल यादवलाई सम्मान गरिनुको साथै ६०/७० जना विद्यार्थी पार्टीमा प्रवेश गरेको केन्द्रका महासचिव टंक उपे्रतीले जारी गरेको पे्रस विज्ञप्तिमा जनाइएको छ ।
शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने भारतीय राजदूतको विश्वास
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम दुई देशबीचको विकास साझेदारीमा कोसेढुङ्गाजस्तै महत्वपूर्ण रहने बताउनुभएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मित्रराष्ट्र भारतको सहयोगमा पर्सामा नवनिर्मित दुई विद्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत जयन्तले भन्नुभयो, ‘एक असल छिमेकीका नाताले भारतको सहयोगमा सञ्चालित विभिन्न विकास परियोजनाले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने मैले आशा गरेको छु ।’ नवनिर्मित द्वारदेवी माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका भवनको उद्घाटनका क्रममा राजदूत जयन्तले सो विचार व्यक्त गर्नुभएको हो ।
अलौ गाविसमा आयोजित व्यापक जनसहभागिता रहेको कार्यक्रमबीच भारतीय राजदूतले श्री द्वारदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुभयो । सन् १९५२ मा निम्नमाध्यमिक विद्यालयको रूपमा स्थापना भई सन् १९९६ मा माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको उक्त विद्यालय पर्साको सबैभन्दा पुरानो सरकारी विद्यालयमा पर्छ । भारतको दुई करोड ७० लाख सहयोगमा नवनिर्मित भवनबाट विद्यालयमा अध्ययनरत ४६ प्रतिशत छात्रासहित कुल एक हजार एक सयभन्दा बढी विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पुगी विद्यालयको भर्नादरसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
यस्तै अर्काे कार्यक्रममा राजदूत जयन्तले नवनिर्मित श्री शारदा माध्यमिक विद्यालय भवनको पनि उद्घाटन गर्नुभयो । सन् १९५६ मा प्रथमिक विद्यालयको रूपमा स्थापना भई सन् १९७५ मा माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको उक्त विद्यालय पर्साको बहुबारी सुगौली गाविसमा पर्छ । दुई करोड ३० लाख रुपैयाँ भारतीय सहयोगमा नवनिर्मित भवनबाट विद्यालयमा अत्यावश्यक कक्षाकोठा उपलब्ध भई सहज शैक्षिक वातावरण सिर्जना हुनुको साथै जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।
हाल पर्सामा भारतको नौ करोड ६२ लाखको अनुदान सहयोगमा पाँचवटा परियोजना सुचारु छन् भने दुई करोड दुई लाखको सहयोगमा दुईवटा परियोजना सम्पन्न भइसकेका छन् । पर्सामा प्रयोग गर्नेगरी चौधवटा एम्बुलेन्स र तीनवटा स्कुल बसहरूसमेत उपहार प्रदान गरिएको छ ।

प्रवासी नेपालीले जीसीआईमार्फत नेपालमा लगानी गर्ने
हङकङ/ ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालि (जीसीआई)ले नेपालमा कसरी आर्थिक लगानी भित्याउन सकिन्छ भन्ने सम्वन्धमा हालै हङकङ, चीन र मकाउमा छलफलको आयोजना गर्‍यो । सो छलफल कार्यक्रममा करिब २ सय प्रवासी नेपाली सहभागी थिए ।
ग्लोबल क्यापिटल हङकङ शाखाका संयोजक ललित लिम्बूले प्रवासी नेपालीले संयुक्त रुपमा नेपालमा लगानी गर्न सके नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका प्रमुख संरक्षक तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष देवमान हिराचनले ग्लोबल कम्पनी स्थापना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले नेपालको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यले जीसीआईको स्थापना गरेको बताए । नेपालको विकासमा एउटा इँटा थप्ने उद्देश्यले जीसीआईको २०११ सालमा स्थापना गरेको बताए ।
प्रवासी नेपालीबाट उठेको रकम घरजग्गा, रिसोर्ट, फोहोरबाट विद्युत् उत्पादन, जैविक मलबाट कृषि उत्पादनलगायतमा लगानी गरिने उद्देश्यले कम्पनी स्थापना गरिएको अध्यक्ष हिराचनले बताए । उनले कम्पनीको भावी रणनीतिबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा ग्लोबल इन्भेष्टमेन्ट हङकङ शाखाका संयोजक ललित लिम्बू, कार्यक्रमका प्रमुख अतिथि एवम् कम्पनीका अध्यक्ष देवमान हिराचन, विशेष अतिथि कम्पनीका कोरिया सयोजक गंगाराज राई, अतिथिहरुमा च्याम्बर अफ कमर्शका अध्यक्ष जेएन ज्ञवाली र एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङले नेपालमा लगानी भित्याउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
हङकङका संयोजक ललित लिम्बूले कार्यक्रम आयोजना गर्नुको कारणबारे जानकारी गराएका थिए । प्रदीप कन्दङ्वाले सञ्चालन गरेको सो कार्यक्रममा हाल जीसीआईमा विभिन्न ३० मुलुकमा रहेका प्रवासी नेपालीको लगानी रहेको जानकारी दिइयो ।

पुस्तक समीक्षा—तीर्थाटन गर्न चाहनेलाई उपयोगी पुस्तक
देहको अशुद्धिले मानिसमा विभिन्न भ्रम र नास्तिकताले बास गर्न सक्छ । देहलाई शुद्ध राख्न विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ, तीमध्ये एक तीर्थाटन पनि हो ।
ऋषिमुनि, योगीहरूले तप र साधना गरेको ठाउँ, देवताहरूले क्रीडा गरेको स्थल ठूला यज्ञ–यज्ञादि भएका ठाउँहरू शुद्ध बनेका हुन्छन् । त्यसैले साधारण मानिस देहशुद्धिका लागि तीर्थाटन गर्छन् । देहको शुद्धीकरण नभई ईश्वरकृपा सम्भव नहुने हुँदा त्यसका लागि तीर्थाटन आवश्यक रहेको मतका साथ इच्छुक भक्तजनलाई तीर्थाटनको महत्व र तीर्थस्थलबारे जानकारी दिने उद्देश्यले ‘तीर्थ सारसङ्ग्रह’ नामक पुस्तक प्रकाशित भएको छ । नेपाल तथा भारतका प्रसिद्ध तीर्थस्थलहरूको महत्व एवम् जानकारी सङ्ग्रह गरिएको उक्त महत्वपूर्ण कृतिका लेखक तथा प्रकाशक हुनुहुन्छ– पवित्रबहादुर खड्का ।
२ सय ५४ पृष्ठको ‘तीर्थ सारसङ्ग्रह’ घरमै बसी–बसी तीर्थबारे जानकारी लिएर आनन्द उठाउनका लागि नभई सैकडौँ सङ्ख्यामा रहेका तीर्थस्थलहरूमध्येबाट मुख्य तीर्थहरू कुन–कुन हुन्, त्यो कहाँ–कहाँ पर्छ, जान कति समय र खर्च लाग्छ, के–कस्ता तयारी गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान दिलाउनसमेत पुस्तक अत्यन्त उपयोगी छ । तीर्थाटन के हो र किन गर्नुपर्छ, तीर्थको फल के हुन्छ, यात्रा विधि के हो, मन्दिर दर्शन किन र कसरी गर्ने, मन्दिरमा अश्लीलता दर्शाउने मूर्तिहरू किन राखिएका हुन् आदिजस्ता जिज्ञाशा मेटाउनेदेखि नेपालका मुख्य र महत्वपूर्ण तीर्थस्थल कुन–कुन हुन्, काठमाडौं उपत्यकाका नारायण र विनायक कुन–कुन हुन्, शिवधाम कहाँ छन्, देवीका शक्तिपीठ कहाँ–कहाँ छन्, बौद्ध तीर्थहरू, गुफाहरू, पोखरी र कुण्डहरू, भारतका महत्वपूर्ण तीर्थस्थल आदिको आवश्यक तथा सारपूर्ण जानकारी पुस्तकमा समेटिएकाले जिज्ञाशु भक्तजनलाई जम्मा तीन सय मूल्य रहेको ‘तीर्थ सारसङ्ग्रह’ अत्यन्त उपयोगी सावित हुनेमा सन्देह रहन्न । स्मरण रहोस्, पेसाले कानुन व्यवसायी लेखक पवित्र खड्काका यसअघि मालपोत डायरी, उपासना सारसङ्ग्रह र ‘अ स्टडी अफ सेन्ट्रल जेल फ्रम रिफम्र्याटिभ एप्रोच’ नामक पुस्तक प्रकाशित भइसकेका छन् ।