ट्रायथलनमा नयाँ नेतृत्व

ट्रायथलनमा नयाँ नेतृत्व


डेकाथलनका पूर्व राष्ट्रिय खेलाडी एवं हाइजम्पका पूर्व राष्ट्रिय च्याम्पियन निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नेपाल ट्रायथलन संघ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको छ । नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

त्यस्तै उपाध्यक्षमा दीपक कोइराला, महासचिवमा वाइ सुनुवार, सचिवमा ललित लामा तथा कोषाध्यक्षमा रविन्द्र थापा चुनिएका छन् । अकलबहादुर थापा, रेणुकादेवी सिटौला, रचना सिंह, मदेलाल भण्डारी, रितामैया प्रजापति, अनुकुल लेप्चा र मिना चदरा सदस्यमा चयन भएका छन् ।

संघले अघिल्लो कार्यसमितिका अध्यक्ष गणेशमान पुनलाई मानार्थ अध्यक्षमा चयन गरेको छ । त्यस्तै धनेश्वर प्रजापति, दामोदर अर्याल, आनन्द लेप्चा, सुमन देवकोटा, प्रकाश बराल र सुनील रोकालाई सदस्यमा मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले प्रमाण पत्र वितरण गरे भने राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले शपथ ग्रहण गराएका थिए । केन्द्र र जिल्लाबाट ४२ प्रतिनिधि सहभागि साधारणसभाको राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।