‘रग्बी विश्वकप ट्रफी’ डिसेम्बरमा नेपाल ल्याइँदै

‘रग्बी विश्वकप ट्रफी’ डिसेम्बरमा नेपाल ल्याइँदै


सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले रग्बी विश्वकप जापानको आयोजक कमिटीका सिइओ आकिरा सिमाजुसँग विश्वकप ट्रफी नेपालमा ल्याइनेबारे छलफल सम्पन्न भएको जानकारी गराएका छन् ।

छलफलमा नेपालको वर्तमान रग्बी खेलको अवस्थाबारे समेत छलफल भएको संघका अध्यक्ष घिसिङले जानकारी दिए । पछिल्लोसमय रग्बीको माध्यमबाट अन्तर्राष्ट्रियस्तमा नेपालको सहभागिता बारे आफू पूर्णरूपमा जानकार रहेको सिइओ आकिराले बताएका थिए । साथै आफूहरु रग्बी खेलमा नेपाललाई हरेक किसिको सहयोग गर्न तत्पर रहेको आकिराले विश्वास व्यक्त गरेको संघका अध्यक्ष घिसिङले जानकारी गराएका छन् ।

रग्बी विश्वकपको ट्रफी दक्षिण एसियाको भारत, पाकिस्तान र नेपाललगायत २० राष्ट्रमा ल्याउने कार्यक्रम रहेको छ । नेपाल विश्वकपको ट्रफी सन् २०१८ को डिसेम्बरमा आइपुग्नेछ । आगामी रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा हुँदै छ । उक्त विश्वकपमा २० राष्ट्र छनोट भइसकेका छन् । रग्बी विश्वकपलाई समर ओलम्पिक र विश्वकप फुटबल पश्चात विश्व खेलकुदको तेस्रो खेल मेलाको रूपमा चिनिने गरिन्छ । टोकियो स्टेडियममा हुने विश्वकपको उदघाटन जापानको कुल १२ स्टेडियममा खेलाइने छन् ।