सांगठनिक रुपले चलायमान हुन नसक्दा नेपाली कांग्रेस पार्टी ध्वस्त बन्न पुगेको धारणा सो पार्टीका एक वरिष्ठ नेताले सार्वजनिक गरेका छन् । वर्तमान नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने प्रष्टोक्ति दिने नेता हुन् डा. शेखर कोइराला ।
चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेभ भन्दै असन्तुष्टि प्रकट गरे । दुई वर्ष बित्दा पनि सभापति देउवाले पार्टीका पदाधिकारीको नियुक्ति गर्न नसकेकोतर्फ उनको संकेत थियो ।
देउवालाई लक्षित गरी कडा र प्रष्ट शब्दमा उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ, जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नुहुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।’
विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने नेता कोइरालाको तर्क छ । यसका लागि अब एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे ।
फरक प्रसंगमा उनले अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको आरोप लगाउँदै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको ठोकुवा गरे ।
तस्बिर रासस
प्रतिक्रिया