प्रदेशमन्त्री जितेन्द्रलाई ज्यानको धम्की !

प्रदेशमन्त्री जितेन्द्रलाई ज्यानको धम्की !


मधेसको अधिकारका लागि भन्दै भूमिगत रूपले हिंसात्मक गतिविधि चलाउँदै आएका जयकृष्ण गोइतले ज्यानकै धम्की दिएपछि यतिबेला प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनार तनावमा छन् । सप्तरी जिल्लालाई खुल्ला दिशामुक्त घोषणा नगर्न दिइएको चेतावनी उल्लंघन गरेको आरोपमा गोइत समूहले सोनारलाई ज्यान मार्ने धम्की दिएको बुझिएको छ । उक्त प्रदेशको आन्तरिक मामिला तथा काूननमन्त्री ज्ञानेन्द्रकुमार यादवले पनि मन्त्री सोनारलाई ज्यानको धम्की आएकोमा चिन्ता प्रकट गर्दै उनलाई विशेष सुरक्षा प्रदान गरिने बताएका छन् ।

प्रदेशसभाको अघिल्लो बैठकमा प्रदेशसदस्य एवम् राजपाका नेता मनिषकुमार सुमनले पनि भौतिक पूर्वाधारमन्त्री सोनार सप्तरीमा सरसफाइ कार्यक्रममा सहभागी भएको बेला सशस्त्र समूहबाट ज्यान मार्ने धम्की आएको जानकारी गराएका थिए ।

जिल्लाका सबै घर–परिवारमा शौचालयको व्यवस्था नभई आइएनजीओहरूको पछि लागेर स्वार्थपूर्ति गर्न जबर्जस्ती जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको र यसो नगर्न सुझाव दिए पनि अटेर गरेको आरोप लगाउँदै गोइतले जिल्लावासीलाई सम्बोधन गर्दै एक आपत्तिजनक सन्देश प्रवाहित गरेका थिए । सामाजिक सञ्जालमार्फत दिइएको उक्त सन्देशमा उनले मन्त्री सोनारलगायतका केही व्यक्तितर्फ सङ्केत गर्दै ‘उनीहरू भएको नजिक नजान’ आह्वान गरेका थिए । हालै घटाइएको एक विष्फोटको घटनामा निर्दोष बालक घाइते हुन पुगेकोप्रति सोही सन्देशमार्फत दुःख व्यक्त गर्दै उनले ‘केही’ व्यक्तिहरू भएको स्थानमा जुनसुकै बेला विष्फोट हुन सक्ने भएकोले तिनका वरपर नजान फेसबुक स्ट्याटसमार्फत आह्वान गरेका थिए ।

यसरी खुल्ला रूपले धम्की दिइएपछि मन्त्री सोनारलगायत खुल्ला दिशामुक्त अभियानसँग जोडिएका कतिपय अधिकारीहरूको सुरक्षाप्रति प्रदेश नं. २ को सरकार गम्भीर भएको बुझिएको छ । मन्त्री सोनारबाट लिखित रूपमा जानकारी आएपछि यसबारे सघन रूपले कारबाहीको प्रक्रिया अगाडि बढाइने मन्त्री यादवले बताएका छन् भने प्रदेश प्रहरी ऐन नभएका कारण सुरक्षा र प्रशासनिक निकायबीच समन्वयमा समस्या देखिएको जनाएका छन् । बम विस्फोट, महिला हिंसा, बलात्कार जस्ता घटनाको नियन्त्रणका लागि सरकारको मुख मात्र ताक्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले आह्वान गरेका छन् ।