काङ्ग्रेस भन्छ- ‘श्वेतपत्रका नाममा लालपत्र ल्याएर झुक्याइयो’

काङ्ग्रेस भन्छ- ‘श्वेतपत्रका नाममा लालपत्र ल्याएर झुक्याइयो’


नेपाली काङ्ग्रेसले सरकारबाट हालै जारी श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिँदै यसले जनतालाई झुक्याउने काम गरेको बताएको छ । श्वेतपत्र पार्टीको मुखपत्रजस्तो भएको र यो कम्युनिस्टहरूले भन्ने गरेको लालपत्रकै स्वरूप भएको काङ्ग्रेसको दाबी छ । सरकारले नैतिक इमानदारीभन्दा पर गएर सङ्गतिरहित सन्दर्भहरू जोडेर अबौद्धिक र अव्यावसायिक मुचुल्का तयार गरेको काङ्ग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्वेतपत्रले भ्रम सिर्जना गरेर अतिरञ्जनापूर्ण चरम निराशा जगाउने उत्प्रेरणा छरेको उल्लेख गर्दै मुलुकको समृद्धिमा नै अवरोध निम्त्याउने दस्तावेज भएको काङ्ग्रेसले विज्ञप्तिमा भनेको छ । हालसम्मका उपलब्धिलाई ओझेलमा पारेर अब शून्यबाट आर्थिक सुधार भएको देखाउन सरकारले नकारात्मक आर्थिक चित्रण गरेको काङ्ग्रेसको विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको धारणा र विज्ञप्तिमाथि प्रकाश पार्दै बितेको २५ वर्षमा राजस्व ६२ गुनाले वृद्धि भएको तथ्य श्वेतपत्रमा उल्लेख नगरिएको जनाएका छन् । पञ्चायती व्यवस्थाले जाँदै गर्दा हाम्रो हातमा १२ अर्ब मात्र राजस्व छोडेको थियो, तर अहिले ७ सय अर्ब राजस्वको आकार बढेको तथ्यलाई श्वेतपत्रले बिर्सेको छ । यसैले श्वेतपत्र राजनीतिक श्रेष्ठताले उत्पादित पत्र भएकोले यो पार्टीविशेषको लालपत्र भएको शर्माले बताए ।

श्वेतपत्र निश्चित कालखण्डको छायाचित्रको रूपमा आएको छ । कुन निश्चित कालखण्डको चित्र प्रस्तुत गर्दा बढी नकारात्मक देखिन्छ, त्यही मनसायबाट प्रेरित छ । कतै दुई वर्षको कतै अढाइ दशकको कतै ५ र कतै दश वर्षको तथ्याङ्क देखाएर नैतिक अर्थशास्त्रीले गर्न नमिल्ने तथ्याङ्क देखाइएको काङ्ग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

राजनीतिक दर्शन र मुद्दामा भिन्नता भए पनि तथ्यगत विषयलाई तोडमोड गरेर पूर्वाग्रहपूर्ण तरिकाले सरकारले श्वेतपत्र जारी गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । विगतमा काङ्ग्रेसको अर्थनीति कम्युनिस्टले पछ्याएको उदाहरण दिँदै काङ्ग्रेस प्रवक्ता शर्माले ‘हिँड्न नचाहेको, तर छोड्न पनि नसक्ने’ अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको जमिनमा यो श्वेतपत्र उभिएको बताए । श्वेतपत्र निश्चित कालखण्डको छायाचित्रको रूपमा आएको छ । कुन निश्चित कालखण्डको चित्र प्रस्तुत गर्दा बढी नकारात्मक देखिन्छ, त्यही मनसायबाट प्रेरित छ । कतै दुई वर्षको कतै अढाइ दशकको कतै ५ र कतै दश वर्षको तथ्याङ्क देखाएर नैतिक अर्थशास्त्रीले गर्न नमिल्ने तथ्याङ्क देखाइएको काङ्ग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

काङ्ग्रेसका नेता तथा वरिष्ठ अर्थविज्ञहरूले समेत श्वेतपत्रमाथि कडा टिप्पणी गर्दै राजनीतिक आग्रहपूर्वाग्रहबाट काङ्ग्रेसलाई बदनाम गर्न मात्र श्वेतपत्र जारी गरिएको बताइसकेका छन् । कम्युनिस्ट सरकारका अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गरेलगत्तै काङ्ग्रेसका नेताहरूले आलोचना गरेका थिए । तर, सोमबार काङ्ग्रेसले पार्टीबाट औपचारिक रूपमै श्वेतपत्रमाथि कडा विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत १० वर्षमा नेपालको अर्थतन्त्र बिग्रेको श्वेतपत्रमा भनिरहँदा यो अवधिको अधिकांश समय कम्युनिस्टहरूकै सरकार थियो । १० वर्षमा ७६ प्रतिशत गैरकाङ्ग्रेसको सरकार बनाएकोले अर्थतन्त्र खस्कनुको सम्पूर्ण दोष कम्युनिस्टहरूको छ ।’ यो सरकार बन्दै गर्दा काङ्ग्रेसले ३ खर्बको ढुकुटी छोडेर गएको र १० अर्बबराबरको विदेशी मुद्रा सञ्चिति रहेकोतर्फ श्वेतपत्र नबोलेको विज्ञप्तिमा उल्लेख छ । के मुलुकको ढुकुटी रित्तो छ ? श्वेतपत्र जारी भएपछि यस्तो सन्देश गएको र सत्तापक्षले प्रोपोगण्डा मच्चाएको विज्ञप्तिमा भनिएको छ ।