लाहुरको कमाइले आफ्नै गाउँमा विद्यालय बनाउने सपना

लाहुरको कमाइले आफ्नै गाउँमा विद्यालय बनाउने सपना


bichar—मुक्तिनाथ भुसाल
अर्घाखाँची क्षेत्र नं. २ अन्तर्गत जलुगे गाविसका केही गाउँ नेपालकै कर्णालीजस्तै बनिरहेका छन् तापनि, वर्षौंदेखि सरोकारवालाहरू बेखबर बनेजस्तो गरेका छन् । प्रायजसो जुनसुकै सरखार आए पनि मन्त्री पाउने यो जिल्लाका मान्यजनलाई थाहा नभएको हो वा जनताप्रति वफादार नबनेको हो ? एउटा चासोको विषय बनेको छ । जलुगे गाविस– ७ हाडेस्यालामा ७० घरधुरी बसोबास गर्छन् । उता वडा नं. ८ मा रहेको कल्लेरीमा ७५ घरधुरी बसोबास गरिरहेका छन् । यो गाउँमा बसोबास गर्न स्थानीय शिक्षा, पिउनेपानी, यातायात, बिजुली, सञ्चारलगायत मानवजीवनमा अत्यावश्यक मानिने सम्पूर्ण चिजबाट वञ्चित बनेका छन् र आजसम्म कसैले पनि ध्यान नदिएको कुरा त्यस क्षेत्रका जनताले घटना र विचारसँग गुनासो पोखेका छन् ।
सन्धिखर्क सदरमुकामबाट तीन घन्टा पक्की सडक यात्रामा ठाडा अमराई र अमराईबाट बर्खामा दिनभरको पैदल यात्रामा हाडेस्यालामा पुग्न सकिन्छ । हिउँदमा सन्धिखर्क सदरमुकामबाट करिब ३५ किलोमिटर कालोपत्रे सडकको यात्रा र ३५ किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने यो गाउँमा हिउँदमा मात्र दैनिक एउटा सवारी जिप सञ्चालन गरिएको छ । तर, उक्त जिप पर्याप्त मानिँदैन । जिल्लाको अमराई बजारबाट १४ सिटसङ्ख्याको एउटा मात्र जिप हाडेस्यालाका लागि जाने गरे पनि सोझासीधाहरूले सिट पाउन सक्दैनन् र छतमा वा पैदल हिँड्न विवश बनेका छन् । हाडेस्यालाका लागि जाने जिपमा अर्घाखाँचीको कल्लेरी, बान्द्रे, सानाढुङ्ग्रे, ठूलाढुङ्ग्रे, सुगानेटा, कल्लेरी अनि हाडेस्यालाका जनता चढ्नु नै पर्छ भने प्युठानको कोल्बोट, माझीदमार, दाब्रा, दाङवाङ, हंसपुर र बरौला गाविसको आधा भागका जनतालाई उक्त जिपको अलवा विकल्प नै छैन । कल्पना गरौँ कमसेकम सात हजार जनसङ्ख्या बसोबास गरेको उक्त एरियामा के १४ सिटको जिप पर्याप्त मानिएला त ?
हाडेस्याला जाने क्रममा २० किलोमिटर बाटो अत्यन्तै साँघुरो रहेको कुरा लुकाउन मिल्दैन । जिप गुडिरहेको समयमा मोटरसाइकललाई समेत साइड पुग्न नसक्ने देउराली–हाडेस्याला सडकबारे जिल्लाका राजनीतिक दल र सरोकारवालाहरूको ध्यान नपुग्नुलाई हास्यास्पदको रूपमा लिन सकिन्छ । यातायातको सन्दर्भमा भन्नुपर्दा यो २० किलोमिटर कच्ची सडकले जलुके गाविसको हाडेस्यालामा रहेका ७० घरलाई मात्र प्रभाव नपारी त्यो सडकखण्डमा रहेका ५ सय ५५ घरपरिवारलगायत प्युठान जिल्लाका थुप्रै गाउँलाई जोडेको छ । सुरुवातमा जुकेना गाविसमा रहेको देउरालीदेखि हाडेस्यालासम्मको २० किलोमिटर कच्ची साँघुरो सडक स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको कुरा स्थानीय मणिराम अधिकारीले जानकारी गराएका छन् ।
उक्त गाउँमा अत्यन्तै खेतीयोग्य जमिन भए तापनि सिँचाइ असुविधाको कारण स्थानीयले चाहेजति उत्पादन गर्न सकेका छैनन् । पिउने पानीका लागि दैनिक दुई घन्टासम्म पैदल धाउनुपरेको दु:खदायी पीडा उनीहरूमा यथावत् छ । अर्घाखाँचीका ४२ गाविसमध्ये जुकेना र धन्चौर गाविसबाहेक सबै गाउँमा बिजुली पुगेको सरोकारवालाहरू दाबी गर्छन्, यदि त्यसो हो भने खै त हाडेस्यालामा बिजुली ? बिजुली के हो, अनि बिजुली आएमा के फाइदा हुन्छ, हाडेस्यालाकका स्थानीयलाई अनुभव छैन ।
आफ्नो घरमा वा गाउँमा कोही बिरामी भयो भने आवत–जावतमा तीन घन्टा पैदल यात्राबाट जलुगे स्वास्थ्यचौकीमा पुग्नुुपर्ने वेदना हालसम्म जनताका प्रतिनिधि र सरोकारवालाहरूले थाहा पाउन नसकेकोजस्तो आभास पाउन सकिन्छ । हाडेस्यालेहरूका लागि पिउने पानी, स्वास्थ्य चौकी, सिञ्चाइ, बिजुली र स्वास्थ्यचौकीको मात्रै समस्या होइन, सञ्चार क्षेत्रको पनि उत्तिकै समस्या छ । मोबाइल फोनहरूले काम गर्दैनन् ।
हाडेस्याला र कल्लेरी गाउँमा मगर समाजको बाहुल्य रहेको छ । शिक्षाको कमीका कारण मदिरासेवन र धेरै सन्तान जन्माउने चलन यथावत् नै छ । हाडेस्यालामा अन्जादी पाँच सय जनसङ्ख्या रहेको भए तापनि श्री धर्मवती प्रावि हाडे नामको एक मात्र विद्यालयमा कक्षा तीनसम्म पढाइ हुने गरेको कक्षा १ का विद्यार्थी लोकबहादुर भmाँक्री बतउँछन् । उनी भन्छन्, ‘पत्र लेख्न सिकेपछि लाहुर जाने हो । कक्षा ४ अध्ययनका लागि हाडेका नानीबाबुहरू वाड नं. ८ मा रहेको लाल प्रावि कल्लेरीमा आउनुपर्छ ।’ हाडेबाट कल्लेरीमा आई कक्षा चारमा अध्ययन गर्न हिमबहादुर झाँक्रीका अनुसार दैनिक तीन घन्टा आफूहरू पैदल हिँड्नुपर्छ । कक्षा ५ पढेपछि सीधा लाहुर जाने सपना पालेका हिमले लाहुरबाट पैसा कमाउन सकेमा गाउँको विद्यालयलाई तीन कक्षाबाट पाँच कक्षासम्म पुर्‍याउने सोचाइ बनाएका छन् । कल्लेरी र हाडेस्यालाका बालबच्चाले निमावि शिक्षा आर्जन गर्नका लागि दैनिक जान–आउनमा चार घन्टा पैदल यात्रा हिँड्नुपरेको पीडा छ । विद्यालय टाडा भएको कारण घरबाट विद्यार्थीले खाजा लिएर जाने गरेको र नियमित रूपमा सबै विद्यार्थी विद्याालय जाने नगरेकोसमेत थप जानकारी भएको छ ।
अहिलेको बदलिँदो युगका जनप्रतिनिधिहरूले अर्घाखाँचीलाई पहाडी जिल्ला अन्तर्गतको सबैभन्दा विकसित जिल्ला भएको संज्ञा दिएको बेलाबखतमा सुन्ने गरिन्छ । अर्को अचम्मको कुरा, जिल्लालाई नेपालभर चिनाउन भनेर अन्तर्राष्ट्रिय रेस्लिङ र केन्द्रीय कलाकारहरूको सदरमुकाममा बेजोड प्रस्तुति र राष्ट्रपतिज्यूको अर्घाखाँची आगमन एकै महिनामा हुनुले यहाँका जनप्रतिनिधिले जिउँदो बाघै समातेजस्तो महसुस पनि गरेका छन् होला, यदि त्यसो हो भने उक्त सोच एउटा अस्वाभाविक भएको प्रमाण यहाँको जनजीवनले प्रमाणित गर्दछ ।
गाउँको विकास निर्माणको जिम्मा लिएका सरोकारवालाहरू नेतामुखी बन्नु र चुनाव जितेर केन्द्रमा जाने नेताहरू बिरालोले दूध ढुकेजस्तो कुर्सी र पदको आशा गर्दै ढुकिरहेकै कारण यो क्षेत्र पिछडिएको स्थानीय बताउँछन् । अर्घाखाँचीलाई उत्तरखाँची र दक्षिणखाँचीको रूपमा चिनिए पनि विकास निर्माणको सवालमा दक्षिणखाँची पछाडि परेको यथार्थता हाडेस्याला र कल्लेरीको जनजीवनले थप प्रमाणित गर्दछ । यो क्षेत्रबाट चुनाव जितेर गएकी नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल चुनाव जितिसकेपछि उक्त गाउँमा नपुगेको स्थानीयबाट जानकारी प्राप्त भएको छ । आफू मन्त्री नबनेसम्म मेरो हातमा के छ र भन्ने, यदि मन्त्री बनेमा म जिल्लाको मात्र होइन पूरा देशको मन्ीत्र हुँ भन्दै हिँड्ने हाम्रा नेताको पुरानो बानी भए पनि जनताको समस्यालाई समयमा बुझ्नु आवश्यक देखिन्छ ।
भविष्यका, देश निर्माता कलिला बच्चा नाकभरि सिँगान लिएर तीन–चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यताको समयमा नै अन्त्य हुनु आवश्यक युगसापेक्ष मानिन्छ । फोहोरमैला व्यवस्थापन जिल्लास्तरीय नीति तर्जुमा कार्यपत्रको कार्ययोजनामा पाठ्यक्रमको व्यवस्थाअन्तर्गत औपचारिक तथा अनौपचारिक शिक्षामा पाठ्यक्रम बनाई सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने, प्रबन्ध गर्ने जिम्मा, जिल्ला शिक्षा कार्यालय र विद्यालयलाई दिएको थियो । ०६८ असा। २५ को जिल्लास्तरीय फोहोरमैला व्यवस्थापन नीति २०६७ सर्र्वसम्मत रूपमा, जिल्लाका राजनीतिक दल, कार्यालयप्रमुख, सम्पूर्ण गाविससचिवलगायत सरोकारवालाहरूको उपस्थितिमा, जिल्ला विकास कार्यालयमा पास गरिएको कुरा प्रस्तोता डिलाराम पाण्डेले जानकारी गराएका छन । यदि यसो हो भने खै त यी विद्यार्थीको सरसफाइ ?
राज्यको चौथो अङ्गका सेवक कसैका बाधक होइनन्, उनी त केवल परिवर्तनका आवाज मात्र हुन् । कसैलाई चयन कसैलाई पीडा त्यो पक्कै पनि राम्रो कुरा होइन । जिल्लामा आउने एनजीओ आईएनजीओहरू नेता र कार्यकर्ता खुसी गराउने माध्यम र विकास निर्माणका बजेटहरू नेताको नजर पर्ने ठाउँमा मात्र थोपार्ने पुरानो परिपाटीको अन्त्यसँगै कलिला बच्चाको दिमागमा लाहुर जाने बाध्यता हटाएमा मात्र व्यवस्थामध्येको पनि अझै राम्रो मानिने गणतन्त्र नेपालको नारा सफल बन्ने स्थानीयहरूको बुझाइ रहेको छ ।