नेपाली काङ्ग्रेसको प्रभावकारी मानिएका नेता खुमबहादुर खड्काको निधनपश्चात् उहाँको विरासत कसले धान्न सक्लान् भन्ने विषयलाई लिएर विभिन्न अडकलबाजी शुरु भएका छन् । राष्ट्रवादी चरित्रका खड्कालाई बीपी कोइरालाको सच्चा अनुयायीका रूपमा लिइन्थ्यो र उहाँ वर्तमान संविधानले ग्रहण गरेका कतिपय एजेण्डासँग असहमत हुनुहुन्थ्यो । खासगरी हिन्दूराष्ट्रको वैधानिक पहिचान मेटेर धर्मनिरपेक्ष बनाइएको कुरामा उहाँको गम्भीर असहमति थियो र, त्यसविरुद्ध उहाँ सङ्घर्षरत पनि हुनुहुन्थ्यो । अब खड्काको विरासत लिन अग्रसर नेताले पनि हिन्दूराष्ट्रको एजेण्डा बोक्नैपर्ने स्थिति छ ।
यसक्रममा नेता डा. शेखर कोइरालाले खड्काका एजेण्डा बोकेर आफू अघि बढ्न तयार रहेको सङ्केत दिनुभएको छ । कतिपयले नेता अर्जुननरसिंह केसीलाई ‘एजेण्डा’ बोकेर अघि बढ्न आग्रह गरेको बुझिएको छ । तर, खुमबहादुर खड्कासँग निकटस्थ रही काम गरेका अधिकांश नेता तथा कार्यकर्ताले भने आफ्नो नेतृत्व लिइदिन नेता पूर्णबहादुर खड्कालाई आग्रह गरिरहेका छन् । आफ्ना अन्तिम दिनहरूमा खुमबहादुर खड्काले पूर्ण खड्कालाई महामन्त्री बनाउन प्रयास गरिरहनुभएको पनि थियो । नेता खुमबहादुरका हितैषीहरूबाट भएको आग्रहलाई नेता पूर्णबहादुर खड्काले कसरी लिनुहुने हो स्पष्ट हुन सकेको छैन ।
यसैबीच स्वर्गीय खुमबहादुर खड्काका चौबीस वर्षीय सुपुत्र अनुराग खड्काले पनि आफू राजनीतिमा सक्रिय रूपले सहभागी हुने सङ्केत दिएका छन् । बेलायतमा स्नातकोत्तर तहको अध्ययन गरिरहेका अनुराग आफ्ना पिताको निधन भएपछि नेपाल आएका हुन् । आगामी तीन महिनाभित्रै उनको पढाइ पूरा हुने र त्यसपछि नेपाल फर्किएर आफ्नो पूरै समय राजनीतिलाई दिने सोचमा उनी रहेको बताइन्छ ।
अनुराग खड्काले चैत २८ गते दाङको सतबरियास्थित उनकै घरकम्पान्डमा आयोजना गरिने शोकसभालाई पनि सम्बोधन गर्ने भएका छन् । युद्धकालमा माओवादीले बम विस्फोट गराइदिएकै घरकम्पान्डमा आयोजित शोकसभामा सहभागी हुन काङ्ग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू डा. शेखर कोइराला, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल र दीपकुमार उपाध्यायलगायत जानुहुने कार्यक्रम छ । स्वास्थ्यका कारण नेता पूर्णबहादुर खड्का भने उक्त शोक समारोहमा सहभागी हुन सक्ने नसक्ने कुराको निश्चितता भइसकेको छैन ।
प्रतिक्रिया