कोबाट असुरक्षित ?

कोबाट असुरक्षित ?


nisedhवैदेशिक रोजगारी नेपाली महिलाका लागि आर्थिक सशक्तीकरणको एउटा पाटो हो । मुलुकमा बढ्दो बेरोजगारी र आत्मनिर्भरताको चाहनाले केही वर्षयता नेपाली महिलाका लागि वैदेशिक रोजगारी जीवनमा केही नहुनुको विकल्पका रूपमा रहँदै आएको छ । त्यसमा पनि पढे–लेखेकाहरूका लागि युरोप, अमेरिका, अस्ट्रेलिया विकल्पहरू धेरै छन् भने कम पढे–लेखेका या अशिक्षित महिलाका लागि खाडी मुलुकहरू गन्तव्य राष्ट्र बन्दै आएका छन् । हाम्रा धेरै नेपाली दिदी–बहिनी साउदी, बहराइन, कुबेतलगायतका मुलुकमा घरेलु कामदारका रूपमा गएका छन् । ती मुलुकमा कति नेपाली महिला छन् भनेर हामीसँग यकिन तथ्याङ्क छैन किनभने खाडी मुलुकमा घरेलु कामदारका लागि जान प्रतिबन्ध लगाइएको छ जसका कारण उनीहरू नेपालको एयरपोर्ट प्रयोग गर्दैनन् । खुला सिमानाका कारण भारतको भूमि हुँदै कति नेपाली महिला तेस्रो मुलुकतर्फ लागे, लागिरहेका छन् भन्ने यकिन गर्न गाह्रो छ । खाडी मुलुक निश्चय नै महिला कामदारका लागि सुरक्षित मानिँदैन, यसको कारण बिनासम्झौता त्यहाँका घर र चुलोचौकोमा नेपाली महिलाको प्रवेश नै हो । दलालमार्फत धेरै नेपाली महिला विदेशिने गरेका छन् । जानुअघि आफू त्यहाँ केका लागि जाँदै छु भन्नेसम्म पनि धेरैलाई थाहा हुँदैन । त्यसैले वैदेशिक रोजगारीका लागि अपनाउनुपर्ने सावधानीबाट उनीहरू अनभिज्ञ नै रहन्छन् । वैदेशिक रोजगारी त्यसमा पनि घरेलु कामदारका रूपमा खाडी मुलुक जाने महिलाका चुनौती अनेक छन् । कुनै नीति या द्विपक्षीय सम्झौतामा नभएर मालिकको नियत र तजबिजमा भर पर्नुपरेकाले नेपाली महिला खाडी मुलुकमा असुरक्षित छन् । त्यहाँ उनीहरूलाई कसरी सुरक्षित बनाउने भनेर यहाँ नीतिगत तथा अन्य तहमा पटक–पटक बहस र छलफल हुने गरेको छ ।
विदेशमा बस्ने महिला ती मुलुकमा असुरक्षित भएको कुरा गरिरहँदा आफ्नै मुलुकको एयरपोर्टमा नेपाली महिलाले सोच्नै नसकिने प्रकारको सास्ती खेप्नुपरेको तथ्य बाहिर आएको छ । भोजपुरबाट घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेर फर्किएकी एक युवतीलाई उनको साथमा रहेको कागजात अवैधानिक रहेको भन्दै अध्यागमनका कर्मचारी र एयरपोर्टमा रहेका प्रहरीले उनको साथमा रहेको दुई लाख रुपैयाँ पैसा मात्र लिएका छैनन्, यौन शोषणसमेत गरेका छन् । अध्यागमनका कर्मचारी सोमनाथ खनाल र प्रहरी पर्शुराम बस्नेतले गरेको त्यो हदसम्मको अपराधले नेपाली महिला खाडीमा भन्दा पनि आफ्नै मुलुकमा बढी असुरक्षित भएको पुष्टि गरेको छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो घटनाले पैसाका लागि कतिपय सरकारी कर्मचारी कतिसम्म निर्दयी बन्न सक्दारहेछन् भन्ने कुरा पनि स्पष्ट भएको छ । अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारमा जाने र फर्कनेहरूलाई सीधै पैसा माग्ने र नदिएमा अनेक प्रकारले दु:ख दिँदै आएको कुरा बेलाबेलामा बाहिर आउने गरेको थियो । तर, यो हदसम्मको दुव्र्यवहार हुने गरेको होला भनेरचाहिँ अनुमान गरिएको थिएन । नेपालबाट घरेलु कामदारका रूपमा महिला विदेशिनुका आ–आफ्नै अनेक कथा–व्यथाहरू छन् । कतिपय महिला छोराछोरीलाई पढाउन, राम्रो मान्छे बनाउन र बुढेसकालमा सुख पाउनका लागि भनेर विदेशिने गरेका छन् भने कतिपयचाहिँ घरेलुलगायत अन्य प्रकारका हिंसा सहन नसकेर एउटा जिन्दगी धान्नका लागि परदेशिने गरेका छन् । बिनापूर्वतयारी विदेशिएकामध्ये धेरैजसोले जीवनमा कहिल्यै नसोचेको दु:ख पाउने गरेका छन् । एकाबिहानै सुरु भएको उनीहरूको ड्युटी मध्यरातिसम्म जारी रहन्छ । कामको हैरानी मात्र नभएर कतिले अतिरिक्त पीडाको रूपमा यौनशोषणसमेत खप्दै आएका छन् । घर–परिवार र आफन्तबाट टाढा रही अर्काको घरमा भाँडा माझेर जम्मा गरेको पैसा लिएर बाँडेर खान सक्ने भनेपछि नेपालीहरू कतिसम्म निर्दयी भइसकेछन् भन्ने कुरा एकातिर छ भने अर्कोतिर सरकारी कर्मचारीहरू पैसा भनेपछि केसम्म गर्दा रहेछन् भन्ने कुराको उदाहरण पनि यो घटना बन्न पुगेको छ ।
लामो समय घरबाहिर रहनेहरूका लागि स्वाभाविक रूपले कतिबेला घर पुगुँ भन्ने हुन्छ । त्यसमा पनि खाडी मुलुकमा घरेलु कामदारका रूपमा रहेर फर्कनेहरूले लामो समयसम्म नेपालीहरूसँग भेटघाट गर्न पाएका हुँदैनन् । यहाँ जुनसुकै धर्म, संस्कृति या परिवारमा हुर्किएको भए पनि खाडी मुलुकमा पुगेपछि कामदार महिलाले बुर्का लगाउनुपर्छ । लामो समय बुर्काको संसारमा बसेका उनीहरूलाई बाहिरी संसार फरक मात्रै लागेको हुँदैन घर फर्किंदा ट्रान्जिट या बाटाहरूमा भेटिएका नेपाली सबै आफ्नाझैं लाग्छन् । परदेशका विभिन्न एयरपोर्टहरूमा सुरक्षित बनेर फर्किएका दिदी–बहिनीहरू आफ्नै एयरपोर्टमा जब दुव्र्यवहार भोग्छन् त्यसपछि नेपाली देख्नेबित्तिकै मनमा पलाएको आफ्नोपनको भावना छताछुल्ल भएर पोखिन्छ । भोजपुरकी ती युवतीमाथि जुन घटना भयो त्यस्तै प्रकारका घटना विगतमा अरूमाथि पनि भएका थिएनन् होला भन्न सक्ने आधार छैन । किनभने धेरैजसो नेपाली महिला भारतीय सीमा हुँदै विदेशिएका कारण कतिले अरूकै कागजात प्रयोग गरिरहेका हुन सक्छन् । उनीहरू वैदेशिक रोजगारीको सम्पूर्ण चरण र चक्रमा ‘अनडकुमेन्टेड’ छन् । ती सब कुराको फाइदा उठाउँदै सोझा युवतीहरू देखेपछि कुनै न कुनै रूपमा फाइदा लिनेहरूको गिरोह नै एयरपोर्ट र अध्यागमनमा छ भनिन्छ । युवतीहरू मात्र होइन, उक्त गिरोहले वैदेशिक रोजगारमा गएर फर्किएका सोझा युवालाई समेत अनेक झन्झट सिर्जना गरेर तिनीहरूबाट पैसा लिने गरेका छन् । कतिबेला आफ्नो देश टेकुँ भनेर त्रिभुवन विमानस्थलमा झरेपछि आफ्नो देशको धर्तीलाई ढोग्दै अध्यागमनतिर लागेका नेपाली युवाले सरकारी कर्मचारी र सुरक्षाकर्मीबाट अनेक झन्झटको सामना गर्दै आएका छन् । अहिले भोजपरकी युवतीको घटनामा प्रहरी र अध्यागमनका कर्मचारी सोमनाथ खनाल थुनिएका छन् र उनीहरूले अन्य कर्मचारीसमेतको मिलेमतोमा पैसा खाएको बताएको कुरा सार्वजनिक भएको छ । वर्षौंसम्म ती युवतीले दु:ख गरेको पैसा खाएर मात्र चित्त नबुझी यौनशोषणसमेत गर्ने ती प्रहरी र कर्मचारीलाई हदैसम्मको सजाय हुनु त आवश्यक छ नै त्यो पैसा बाँडी–चुँडी खाने सबै कर्मचारीलाई जागिरबाट निष्कासनसहित हदैसम्मको सजाय हुन जरुरी छ । साथै ती युवतीबाट लुटिएको पैसा तिनलाई नै फिर्ता नदिलाएसम्म उनले न्याय पाएको ठहर्दैन । अध्यागमनमा घुस खाने कर्मचारीको ‘चेन अफ कमान्ड’नै छ भन्ने धेरैअघिदेखि सुनिएको कुरा प्रमाणित नै भएका कारण त्यहाँका सबै कर्मचारीमाथि निगरानी राख्नु पनि त्यत्तिकै आवश्यक छ । त्यसो त, यसप्रकारका निष्कृष्ट घटनामा संलग्न हुनेहरूलाई मृत्युदण्डको सजाय हुनुपर्ने हो तर त्यस्तो कानुन नेपालमा नभएका कारण मृत्युदण्ड दिन नसके पनि हदैसम्मको सजाय भने हुनुपर्छ । यसका लागि सम्बन्धित पक्षको ध्यान जाओस् ।