सालोको शोकसभामा प्रचण्डको बेग्लै दाबी

सालोको शोकसभामा प्रचण्डको बेग्लै दाबी


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी अबको बैठकले आवश्यक टुंगो लगाउने दाबी गरेका छन् । आफ्ना सालोको निधनको सातौँ दिनमा नेकपा माओवादी केन्द्र भरतपुर १४ नं वडा कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा सहभागी हुन चितवन पुगेका प्रचण्डले एकताको तयारी तीव्र रुपमा भइरहेको बताएका हुन् ।

प्रचण्डपत्नी सीता दाहालका भाइ महाप्रसाद पौडेलको निधनमा शोक मनाउन भरतपुर महानगरपालिका वडा नं १४, पकौडी पुगेका प्रचण्डले आफू शुक्रबार काठमाडौं फर्किने जानकारी दिँदै त्यसपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने बताए ।

दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको उनको भनाई छ । पार्टी एकता टुङ्ग्याउने समयमा एक दुईवटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, अहिले भएको त्यही हो भन्दै उनले आफ्ना विवादास्पद या अन्योल बढाउने अभिव्यक्तिको बचाउ गरे । मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दाबी गरे ।