– जीबी आचार्य
निरन्त बगिरहेछ समय
अनि दौडिरहेछ खोलको पानी पनि
यी दुई बीचको अर्थहीन प्रतिस्पर्धामा
खै कसले जित्छ थाहा छैन
म त बगर न हुँ
बेमौसममा फुलेको फूल वा
कुबेलामा परेको पानी
अथवा,
असमयमा झरेको गर्भस्थ शिशु
नेताको दम्भित हुंकार
खै उस्तै लाग्छ मलाई
कहिले बाढीको बेजोड छालले
हुत्याएको चोट सहन नसकेर,
फुत्रुक्क खसेको पल्लोपट्टिको ढिस्कोझैँ
जसको अस्तित्व पानीमा खस्नासाथ समाप्त हुन्छ
एउटा यस्तो क्रान्तिकारी
जो भट्टिका भरि बोतलमा
क्रान्तिको आत्मगत वस्तुगत परिस्थितिको
वैज्ञानिक समीक्षा गर्छ ।
दिनभर घरजग्गाको दलाली गरेर
साँझ भट्टिको राजनीति गर्दागर्दै
ऊ यसपटक निर्णायक पदमा पुगेको छ,
भाषण बिक्ने यो देशमा
मेरै छातिको दलाली गर्ने
अर्को मानिस उसको सहयोगी भएको छ,
दलाल, तस्कर र माफियाले
चलाएको तन्त्र,
असमयको बाढी,
अनि म उही निराश, उजाड बगर
के तपाईंले बगरमा जीवन उम्रेको देख्नुभएको छ ?
प्रतिक्रिया