म्याद थप्ने सोच्नै हुन्न : नेता माधवकुमार नेपाल

म्याद थप्ने सोच्नै हुन्न : नेता माधवकुमार नेपाल


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कुशल राजनीतिक खेलाडीको रूपमा चिनिनुहुन्छ । सबैलाई मिलाउन सक्ने र मध्यमार्गीका रूपमा परिचित नेता नेपालले व्यवहारमा लचकता देखाए पनि सिद्धान्तमा सम्झौता नगर्ने नेताको रूपमा आफूलाई उभ्याउनुभएको छ । समसामयिक विषयमा घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानी:
० पूर्वप्रधानमन्त्रीज्यू कस्तो छ, मुलुकको हालखबर ?
– राम्रो छैन ।
० के कारणले यस्तो भएको होला ?
– मुख्यत: समस्या भनेको अहिले पनि सरकारले पूर्ण आकार प्राप्त गर्न सकिरहेको छैन । यो नै अहिलेको प्रमुख समस्या हो । माओवादीले जसरी एउटा मन्त्रालयमा विवाद झिकेर अनावश्यक ढङ्गले विवाद खडा गरिरहेको छ, यो समस्याको कारक बनेको छ । प्रचण्डले बाहिर गृहका लागि मात्रै समर्थन गरेको होइन भन्नुभएको छ तर वार्तामा यसैमा अडान लिनुहुन्छ । मुलुकको संवेदनशीलतालाई हेरेर माओवादी अगाडि चल्नुपर्दथ्यो जुन अहिलेसम्म हुन सकेको छैन । माओवादीले आफ्नो कुरा मात्रै गर्नुहुँदैन । अरूको पार्टीको संवेदनशीलता बुझ्नुपर्छ । यसरी बुझ्दै सहमति गर्दै अगाडि बढ्ने हो भने कुरा मिल्छ ।
० माओवादीलाई गृह मन्त्रालय दिएर सहमति बनाउन सकिँदैन ?
– त्यो सकिँदैन । यो संस्थापक निर्णय हो ।
० माओवादीलाई गृह मन्त्रालय दिँदा सहमति बन्छ भने दिँदा हुन्न र ?
– अहिले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसमा सबैको ध्यान केन्द्रित गर्नुपर्छ । गृह मन्त्रालयमा के लुकेको छ र गृह चाहियो चाहियो भनेर भन्नु ?
० त्यसो भए ठूलो दलले ठूलो मन्त्रालय नपाई किन सरकारमा जाने ?
– जुन ठूलो मन्त्रालय हो त्यो हामी माओवादीलाई दिन तयार छौँ । तर, केको आधारमा ठूलो भन्ने बजेटको आधारमा, प्रभावको आधारमा वा प्रतिष्ठाको आधारमा केको आधारमा ठूलो भन्ने – ठूलो परराष्ट्र हो भने हामी दिन तयार छौँ ।
० त्यसो भए अहिलेको विवादको समाधान के हो त ?
– जब कुनै विषयमा समस्या आउँछ भने त्यसलाई थाती राखेर अगाडि बढ्नुपर्छ । बुद्धिमानीपूर्ण कार्य पनि यही नै हो । यो नै अहिलेको गतिरोधको निकास हो । सहमति हुने कुरामा सहमति गरौँ विमति भएकोलाई थाती राखौँ । पछि समयमा फुकाएर अगाडि बढ्न सकिन्छ नि । अहिले एक-दुई महिना एमालेले गृह मन्त्रालय राखेर पछि सहमति गरेर माओवादीलाई दिन सकिन्छ ।
० यसको अर्थ गृह मन्त्रालय प्रमले राखेर अगाडि बढ्ने भन्ने हो ?
– एमालेकै भागमा रहनुपर्छ भन्ने हाम्रो निर्णय हो । पार्टीले विष्णु पौडेलले पाउनुपर्छ भन्ने निर्णय गरेको छ । त्यो उहाँले पाउनुपर्छ । माओवादीजस्तो जिम्मेवार पार्टीले हृदय फराकिलो पार्नुपर्छ । चमत्कार गर्छुन्ने अनि सानो कुरामा अड्किन पाइँदैन । विद्रोहको कुरा गरेर गृह माग्ने काम हुन सक्दैन । पहिला माओवादीको नियत के हो प्रस्ट हुनुपर्‍यो । माओवादीले अरू दललाई धम्क्याएर बढ्न सकिन्छ र, अरू पानीमरुवा ठानेको हो कि ?
त्यस्तो हो भने उससँग कोही तर्सिनेवाला र डराउनेवाला छैनन् । धम्कीले केही निकास निक्लनेवाला पनि छैन । अहिले मीठो कुरा गरौँ राम्रो काम गरौँ । ठूलोले ठूलो त्याग गर्न सक्नुपर्छ । एमालेलाई मत दिएकोमा म माओवादीको तारिफ पनि गर्छु राम्रो कुरा हो । अरू त्याग गर्नुपर्छ नि ? त्यागको उदाहरण पनि प्रस्तुत गर्न सक्नुपर्‍यो नि ।
० त्यसो भए मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?
– छिटो गर्नुपर्छ । ढिलो भइसक्यो । दुनियाँको हाँसोको पात्र हुन लागिसक्यो । तीन मन्त्रालयको जिम्मेवारी दिएको भए पनि काम हुन्थ्यो । अब ढिलाइ गर्नुहुँदैन । जतिसक्यो चाँडो सरकालाई पूर्णता दिनुपर्छ ।
० जनविद्रोहमा जाने र होटल-औद्योगिक क्षेत्रलाई ब्यारेक बनाउने प्रचण्डको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ ?
– उहाँको त्यही योजना हो भन्ने कुरा हामीलाई पहिलादेखि नै लागेको हो । उहाँहरूसँग हामीलाई त्यही विषयमा डर छ । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याएर संविधानलेखनमा ध्यान केन्द्रित गर्नुपर्ने बेलामा उहाँ शान्तिको कुरै गर्नुहुन्न । ठोकठाक गरेर ठीक लगाउने कुरा मात्र गर्नुहुन्छ । अहंकार त्याग्नुपर्छ, नभए त्यसैले उहाँलाई खान्छ । संसारमा धेरै शासकहरूको अहंकारकै कारण पतन भएको उदाहरणहरू छन् । यो कुरा उहाँले पनि बुझ्नु जरुरी छ । उहाँमा ठूलो अहंकार छ त्यो नत्यागे यसले उहाँलाई पतन गराउँछ ।
० जनविद्रोहको माओवादी कुरा धम्की मात्र हो कि रणनीति नै हो ?
– दुवै हुन सक्छ । धम्कीले चल्यो भने धम्की नभए कार्यान्वयन गर्ने रणनीति होला ?
० नेपालको अहिलेको राजनीतिमा यो सम्भव छ ?
– शासकको अहंकारले संसारमा यस्ता धेरै घटना भएका छन् र हुन पनि सक्छ । माओवादीको यस्तो कुराले उसप्रति झनै अविश्वास बढाएको छ । यो क्रममालाई बन्द गर्नुपर्छ ।
० यस्ता कुराले शान्तिप्रक्रियालाई अप्ठ्यारोमा पार्ला नि ?
– अवश्य नै, अविश्वास बढाउँछ । आशङ्काहरूलाई अझै दृढ बनाउँछ । यसले शान्तिप्रक्रिया र संविधान निर्माणमा सकारात्मक प्रभाव पार्दैन । यस्तो कुरा बन्द गर्नुपर्छ ।
० माओवादीमा पहिला र अहिले के फरक पाउनुभएको छ नि ?
– जबजब प्रचण्डजीमा विवेक हावी हुन्छ बुद्धिमान ढङ्गले सोच्नुहुन्छ । कतिपय कुरामा म उहाँको क्षमताको प्रशंसा पनि गर्छु, उहाँ प्रधानमन्त्री बन्दा पनि यस्तो समस्या थियो । उहाँ प्रधानमन्त्री हो कि विद्रोही नेता भन्नेमा कहिलेकाहीँ आशङ्का उत्पन्न हुने गर्दथ्यो । त्यतिबेला पनि उहाँ कहिले प्रधानमन्त्रीको जस्तो राम्रो व्यवहार गर्नुहुन्थ्यो र उहाँ कहिले आफूलाई विद्रोही नेताको रूपमा प्रस्तुत गर्नुहुन्थ्यो । अहिले पनि उहाँको व्यवहार त्यस्तै छ । कार्यकर्तासँग जनविद्रोहको कुरा गर्नुहुन्छ तर हामीसँग होइन भन्नुहुन्छ । उहाँले यो सबै कुरामा विचार गर्नुभयो भने सबै ठीक हुन्छ । उहाँको यस्तै व्यवहारको कारण धेरै कुरा गुमाइसक्नुभएको छ । गोकर्ण बैठक सकारात्मक थियो । त्यसको प्रयोग गरिदिएको भए राम्रो हुन्थ्यो ।
० यस्तो अवस्थामा शान्तिप्रक्रिया निष्कर्षमा पुग्ला ?
– पुग्नैपर्छ । यो इतिहासले दिएको जिम्मेवारी हो । यसबाट भाग्न सकिँदैन र मिल्दैन ।
० लडाकु समायोजनको प्रक्रिया त अगाडि बढ्न सकेन नि, मोडालिटी बन्यो –
– छैन । छलफल गर्नुपर्छ । हामी छलफलको क्रममै छौँ । छलफल हुन्छ, समाधान निस्कन्छ । यसमा सबै ढुक्क भए हुन्छ ।
० जेठ १४ गतेभित्र संविधान बन्छ त ?
– अवश्य बनाउनुपर्छ । संविधानसभाको म्याद अब समय बढाउने हिसाबमा सोच्नुहुँदैन ?
० प्रचण्डजीले त भनिरहनुभएको छ नि दुई महिना थप्न सकिन्छ भनेर ?
– उहाँले हामीहरूसँगको वार्तामा त यस्तो केही भन्नुभएको छैन ।
० ४७ सालमा ९० दिनमा संविधान बनाउनुभएको थियो । अब पनि ९० दिनमा संविधान बन्न सम्भव छ ?
– जिम्मेवारी पूरा गर्ने सङ्कल्प भए अवश्य छ । थोरै जटिलता मात्रै छ त्यसमा छलफल गर्ने हो भने सबै कुरा मिल्छ छिट्टै । हामी त्यसलाई ख्याल राख्दै मुलुकको हितमा निर्णय गर्र्छौं ।
० एमाले र माओवादी मिलेपछि नेपाली काङ्ग्रेससँगको सम्बन्ध कस्तो छ –
– नेपाली काङ्ग्रेससँग शान्ति र संविधानको विषयमा सहकार्य हुन्छ । सम्बन्ध पनि राम्रै छ । शान्ति र संविधान निर्माणमा हामी काङ्ग्रेससँगै हुन्छौँ । राज्य सञ्चालनमा पनि एकैसाथ अगाडि बढ्नुपर्छ । यो हाम्रो पार्टीको निर्णय पनि हो । माओवादीले पनि त्यही भनेको छ ।
० काङ्ग्रेससँगको सहमतिका लागि सातबुँदे त बाधक बन्यो, द्वन्द्व बढायो नि ?
– सातबुँदेलाई सच्याउने र प्रस्ट बनाउने हिसाब एमालेले निर्णय गरिसक्यो । अब हामी माघ २० गतेको सातबुँदे सहमतिको अवस्थामा छैनौँ । सातबुँदे सहमतिको व्याख्या एमालेले गरिसकेको छ, अब नयाँ मान्यतालाई बुझेर अगाडि बढ्नुपर्छ । त्यसलाई इस्यु बनाउनुभयो भने कुनै जिम्मेवारी पूरा हुन सक्दैन । सातबुँदे सहमतिमा रहेको कमजोरी सच्याएपछि अब यसमा विवाद गर्नु आवश्यक छैन । सातबुँदे शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने र एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा हो । सातबुँदे सहमतिमा विरोध गर्नुपर्ने आवश्यकता छैन । आलोपालो पनि जो-जो आउँछन् उहीसँग हुन्छ ।
० तपाईंलाई राजीनामा गर्न बाध्यता एमालेभित्रैबाट पारियो भन्छन् नि ?
– अहिले त्यस्तै कुरामा अल्झिने होइन । आरोप-प्रत्यारोपमा रुमल्लिने होइन, शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने बेला हो । यसका लागि सबैले हृदय फराकिलो बनाउनुपर्छ । सङ्कीर्ण सोचले जिम्मेवारी पूरा गर्न सकिँदैन ।
० अध्यक्ष झलनाथ खनालसँगको अहिलेको सम्बन्ध कस्तो छ ?
– उहाँ प्रधानमन्त्री बन्नुभएको छ । यो एमालेका लागि खुसीको कुरा हो । शान्ति र संविधानका लागि एमालेको भूमिका महत्त्वपूर्ण रहेछ र विश्वासको केन्द्र रहेछ भन्ने प्रस्ट बनाएको छ । अरूको यस्तो विश्वासमा झलनाथ खनाल सफल हुनुपर्छ । जिम्मेवारी उहाँमा आएको छ । सबैलाई विश्वासमा लिएर उहाँले अगाडि बढ्नुपर्छ । व्यवहारमा लचिलो बन्नुपर्छ । सिद्धान्तलाई त्याग्ने होइन कुर्सी त्याग्नुपर्छ ।