काङ्ग्रेस अघोषित रूपमा विभाजित भएको शशांकको दाबी

काङ्ग्रेस अघोषित रूपमा विभाजित भएको शशांकको दाबी


– प्रणय साह

नेपाल तरुण दल प्रदेशस्तरीय भेलाको विहीबार उदघाटन भएको छ । वीरगञ्जस्थित नगरसभागृहमा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भएका काङ्ग्रेस महामन्त्री डा. शशांक कोेइरालाले पार्टीभित्र गुट, उपगुट हाबी भएको आरोप लगाए । गुट–उपगुटकै परिणाम काङ्ग्रेस अघोषित रूपमा विभाजित भएको र हालै सम्पन्न निर्वाचन परिणाम नेकाको प्रतिकूल भएको उनले बताए । उनले नेकाका सबै तहले आत्मालोचना गरेर पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्नुपर्ने र यसको अगुवाई तरुण दलले गर्नुपर्ने सुझाव दिए ।

नेपालका हरेक परिवर्तनमा नेकाको महत्वपूर्ण भूमिका रहेको र ऐतिहासिक पार्टी भएकोले मधेसको मुद्दा नेकाबाहेक अरू पार्टीले समाधान गर्न नसक्ने उनले ठोकुवा गरे । क्षेत्रीय स्तरमा उठेका मुद्दाहरू सम्बोधन गरी तरुण दल गाउँ–गाउँमा जाने र अन्य दलको तुलनामा आफ्नो पार्टीले गरेको कामबारे जानकारी गराउने महामन्त्री कोइरालाले बताए । नेका अहिले पनि बलियो रहेको दाबी गर्दै एक चरणको चुनावी परिणामबाट हरेस खानुपर्ने कुनै आवश्यकता नरहेको उनको दाबी छ ।

कार्यक्रममा सहभागी नेका नेताहरूले नेतृत्वको कारण युवाहरू पार्टी परित्याग गरी अन्यत्र गइरहेको उल्लेख गर्दै पार्टीलाई एक ढिक्का पार्न नसक्नु नेतृत्वको कमजोरी र यसमा सुधार आवश्यक भएको सुझाव दिए । मधेसी पार्टीको पछाडि लागेर नेका पराजित भएको तर्क समेत कतिपयले सो अवसरमा गरेका थिए ।

मधेसी दलले कम्युनिस्ट पार्टीको पुच्छर समातेकोले कुनै बेला पनि धोका पाउने नेकाका नेताहरूले बताए । तरुण दलका केन्द्रीय अध्यक्ष दिलीपजङ राणाको सभापतित्वमा भएको कार्यक्रममा बालकृष्ण खाण, फरमुल्लाह मन्सुर, रमेश रिजाल, उमाकान्त चौधरी, रामकृष्ण यादव, सुरेन्द्र पाण्डे, अजय चौरसिया, विश्वप्रकाश शर्मा, अजय द्विवेदी, भूपेन्द्रजङ शाहीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ८ जिल्लाका तरुण दलसँग आबद्ध युवा नेताहरूको सहभागिता थियो ।