चितवन पुगेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजकल हरेकजसो आफ्ना भाषणमा बाँदरमुढे घटना जनयुद्धमा भएको आफ्नो पार्टीको ठूलो गल्ती रहेको दोहोर्याउँछन् । यसरी गोहीको आँशु चुहाउने उपक्रमलाई निरन्तरता दिँदै उनले आज पनि बाँदरमुढे घटना महागल्ती भएको र माडीका पीडितको आँशु पुछेन आफू लागिपर्ने कसम खाए ।
बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढेपीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको दोहोर्याए । अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने भन्दै फकाउने चेष्टा गरे ।
बाँदरमुढेपीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको दाबी उनले गरे। यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनको कथन थियो ।
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए ।
विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।
प्रतिक्रिया