विदेशमा दु:ख गरेर कमाएको पैसा र आफ्नो शरीर जोगाएर नेपाल फर्किएकी युवतीले आफ्नै देशमा हुनुसम्म भुक्तमान खपेपछि जब उक्त समाचार सार्वजनिक भयो कतिपय साथीहरूले प्रश्न गरे– खै कहाँ गए महिला अधिकारवादीहरू ? किन लगाइएन नारा जुलुस ? किन चुपचाप छन् यिनीहरू ? पत्रपत्रिकादेखि फेसबुकसम्म यस्ता प्रश्नहरूले निकै ठाउँ पाए । यो घटनामा मात्रै होइन महिलासम्बन्धी घटनामा प्राय: महिला अधिकारवादीले किन बोलेनन् ? भनेर प्रश्न गर्ने गरिएको छ । प्रश्न त्यति धेरै नाजायज पनि होइन । पत्रकारका घटनामा पत्रकारले, जनजातिका मुद्दामा जनजातिले, दलितका मुद्दामा दलितले आवाज उठाएझैं गरी महिलाका मुद्दामा पनि महिलाले नै बोल्नुपर्छ भन्ने मान्यतामा विकास हुनुलाई अन्यथा मान्न पनि मिल्दैन । तर बलात्कार, घरेलु तथा अन्य प्रकारका हिंसाहरूको सवालमा महिला अधिकारकर्मीले मात्रै आवाज उठाउनुपर्छ या विरोध गर्नुपर्छ भन्नेचाहिँ होइन । आफ्नी छोरी बलात्कृत हुँदा आमा या दिदीबहिनी मात्र दुखी हुँदैनन्, बाबु र दाजुभाइलाई पनि त्यत्तिकै पिरोल्छ । भनिन्छ, श्रीमतीलाई राक्षसको संज्ञा दिनेका लागि पनि आफ्नी छोरीचाहिँ राजकुमारी हो । आफ्नी छोरीलाई जसरी हामी राजकुमारी ठान्छौँ अर्काकी छोरी पनि उसको बाबुआमाका लागि राजकुमारी हो भनेरचाहिँ सोचिएको हुँदैन । यदि त्यस्तो हुँदो हो त यहाँ बुहारीहरूले दाइजो या अन्य कुनै पनि नाममा जल्नुपर्ने थिएन । अहिले मुलुकमा जुन प्रकारका हिंसाहरू देखिएका छन् यसले सबैलाई आश्चर्यचकित बनाएको छ । तीन वर्षकी बालिकादेखि अनेकौँ शृङ्खलाबद्ध बलात्कार, किशोरीहरूलाई जिउँदै जलाएका घटना, यौन सम्बन्ध राख्न नमान्दा श्रीमतीको हत्यालगायतका अचम्मलाग्दा घटना बाहिर आइरहेका छन् । यी घटनाहरूसँगै राजधानीलगायत विभिन्न जिल्लामा विरोधहरू पनि भइरहेका छन् । घटना र विरोध दुवै कुरा अहिले मिडियाको राम्रै प्राथमिकतामा परेको देखिन्छ । यसअघि महिला हिंसाका घटनालाई लिएर मिडियाले यति धेरै चासो र महŒवका साथ समाचारहरू प्रकाशित÷प्रसारित गर्ने गरेका थिएनन् । बालुवाटार घेराउ आन्दोलन होस् या जिल्लाका जुलुस या महिला हिंसाका कुनै पनि घटना प्राथमिकताका साथ मिडियाले ठाउँ दिएको छ ।
सुरुसुरुमा महिला अधिकारवादी कहाँ गए ? भनेर खोजिए पनि बिस्तारै–बिस्तारै विभिन्न क्षेत्रका पुरुषले पनि ऐक्यबद्धता मात्र होइन नेतृत्व नै लिएर विरोध कार्यक्रमहरू सुरु भएका छन् । यसैगरी घरघरबाट मानिसहरू उठ्ने हो भने निश्चय नै महिलामाथि हिंसा गर्ने हिम्मत कसैको हुने छैन । विभिन्न क्षेत्रबाट अहिले यस्ता कार्यको विरोध भइरहेका बेला घरेलु हिंसा तथा बलात्कारसम्बन्धी कानुनको कार्यान्वयनमा जोड दिनु आवश्यक छ । घरेलु हिंसाविरुद्ध कानुनको प्रयोग र यसको कार्यान्वयन मात्रै राम्ररी हुने हो भने पनि महिलामाथिका हिंसा कम भएर जानेछन् । सकेसम्म मेलमिलाप गर्ने हाम्रो पुरातन सोचले प्रहरी कार्यालयदेखि अदालतसम्मै काम गरेको देखिन्छ । मेलमिलाप गर्नु आफैँमा राम्रो कुरा हो तर मिल्न सक्ने अवस्था रहुन्जेल मानिस घर छोडेर प्रहरीसम्म पुग्दैन भन्ने कुरा हामीले बुझ्नु जरुरी छ । हिंसा गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सके सम्बन्धित व्यक्तिलाई मात्र नभएर अरूलाई पनि त्यसले पाठ सिकाउनेछ । मेलमिलाप गरेर पठाइदिँदा यस्तै त हो नि जे गरे पनि हुन्छ भन्ने भावनामा विकास हुँदै गएर पहिलाका ती ससाना दुव्र्यवहारपछि ज्यानै लिने व्यवहारमा परिणत भएका अनेक उदाहरणहरू छन् । त्यसैले कुनै पनि प्रकारको हिंसा गर्नेका लागि कानुनको प्रयोग हुनु आवश्यक छ न कि क्षणिक मेलमिलाप । कानुनको कार्यान्वयनका लागि पहल गर्नु सबैको दायित्व हो । अर्को सामाजिक बहिष्कार, सामाजिक बहिष्कारले हाम्रोजस्तो समाजमा निकै महŒव राख्छ । महिलामाथि हिंसा गर्ने महिला हुन् या पुरुष सामाजिक बहिष्कारको अभियान चलाउन सके त्यो प्रभावकारी हुन्छ । जुनसुकै जात, धर्म सम्प्रदायका मानिस भए पनि मानिस सामाजिक प्राणी हो, समाजबाट बहिष्कार हुने डर सबैमा रहन्छ त्यसैले यो एउटा प्रभावकारी उपाय हुन सक्छ । त्यस्तै अर्कोचाहिँ गाउँ सहर जताका मानिस भए पनि धेरैजसो कुनै न कुनै राजनीतिक दलसँग सम्बन्धित रहेकाले महिला माथिको हिंसा न्यूनीकरणका लागि राजनीतिक दलको भूमिका महŒवपूर्ण हुन्छ । महिलामाथि कुनै पनि प्रकारको हिंसा गर्नेलाई चुनावमा टिकट त के साधारण सदस्यसमेतबाट बन्चित गर्न सके यहाँ ठूलै क्रान्ति हुने थियो । जसलाई आमूल सामाजिक परिवर्तन पनि भन्न सकिन्थ्यो । दाइजो लिएको रेकर्ड हुनेले राजनीतिमा भाग लिन नपाउने, घरमा कुनै पनि प्रकारको हिंसामा संलग्न भएकाले कुनै पद नपाउने या राजनीतिमा प्रवेश नै नपाउनेजस्ता नियमले राजनीतिक दलहरूले आफ्नो पार्टीलाई बाँध्न सके यो क्षेत्रमा परिवर्तन टाढाको लक्ष्य हुने थिएन ।
हाम्रो सामाजिक संरचनाले पुरुषलाई विभिन्न ठाउँका निर्णयकर्ता बनाएको अर्थमा दायित्व महिलाको भन्दा पुरुषहरूकै बढी देखिन्छ । मिडियाले आफ्नो दायित्व सम्झिएका कारण अहिले यस्ता घटनाले व्यापक चर्चा पाएका छन् । भोजपुरकी युवतीको घटना सम्बन्धित अधिकारीहरूसमक्ष पुग्नासाथ दोषीहरूको खोजी गरी कानुनी प्रक्रिया अगाडि बढाइयो । गृहसचिवदेखि नेपाल प्रहरीसम्म नेपाल सरकारका अधिकारीहरूले तत्काल चालेको कदमको प्रशंसा पनि गर्न बिर्सनुहुँदैन । मिडियामा त यो घटना निकै पछि मात्रै आयो । अध्यागमनमा भएको संवेदना हराएका मानिसले मात्रै गर्न सक्ने यस्ता घटना अन्त पनि धेरै छन् जसलाई निमिट्यान्न पार्नका लागि अघि बढ्नु सबैको दायित्व हो । दिल्लीमा बलात्कृत भएर दिवंगत युवतीका केटासाथीको बयान सुन्दा धेरै मानिस भावुक भए । उनले भनेका थिए–निसाहय हामी सडकमा लडिरहेका बेला मानिसहरू हामीलाई हेर्दै जाँदै गरे, कसैले सहयोग गरेनन् । उनको त्यो कुरा सुन्दा हामीलाई लाग्यो, हरे कस्ता निर्दयीहरू !! हामीकहाँ सकडकमा असक्त मानिस घिस्रिँदै गरेको देखेर हामीमध्ये कतिले दया गरेका
छौं ? पुसको यो कठ्याग्रिँदो चिसोमा बागमती पुलको माथि कागजका कार्टुन वरिपरि राखेर थरथरी कामिराखेको एउटा मनिसलाई त्यो बाटो हिँड्ने जोकोहीले पनि देखिरहेको हुन्छ । ऊ जाडोले कामेको हो कि ज्वरोले कामेको हो हामीले कहिले सोधेका छौँ ? यो त एउटा सानो उदाहरण मात्रै हो । अरूलाई निर्दयीको संज्ञा दिँदादिँदै नेपाली समाज स्वयम् निर्दयी बन्दै गएको छ । हत्या, हिंसा, बलात्कार यसैका परिणाम हुन् । यस्ता कार्यको तत्काल नियन्त्रण गर्न पहल गर्नु हामी सबैको दायित्व हो ।
प्रतिक्रिया