समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ ।
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगितामा गोरिल्लाजले साइपाललाई ५६–२१ ले पराजित गरेको थियो । गोरिल्लाज र साइपाल यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । समूह विजेता र उपविजेताको टुंगो लगाउने उक्त खेलमा गोरिल्लाजकी लुनिभा सिंहले १२ अंक जोडेकि थिइन् ।
पहिलो क्वाटरमा १५–८ को अग्रता लिएको गोरिल्लाजले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । गोरिल्लाजले दोश्रोमा १७–४, तेश्रोमा १८–४ र चौथोमा ६–५ अंक जोडेको थियो ।
महिलामै आर्मी समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । आर्मीले एनसीसीएसलाई ४२–२८ ले पराजित गरेको थियो । आर्मीकी लक्ष्मी चौधरीले सर्वाधिक १६ स्कोर गरेकि थिइन् ।
पहिलो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने दोश्रोमा आर्मी ८–१० ले पछि पऱ्यो । तेश्रो र चौथो क्वाटरमा अग्रता बनाउदै जित सुनिश्चित गरेको आर्मीले क्रमशः १९–१० र ९–२ स्कोर गरेको थियो ।
सेमिफाइनलमा आर्मीको भेट गोरिल्लाजसंग हुनेछ भने साइपालले बुढानीलकण्ठको सामना गर्नेछ । पुरुषको सेमिफाइनल बुढानीलकण्ठ र आर्मी ‘बी’ तथा एसडिसी हाउन्ड्स र आर्मी ‘ए’ बीच हुनेछ । आइतबार र सोमबार कुनै खेल हुने छैन । सेमिफाइनल मंगलबारदेखि सुरु हुनेछ ।
प्रतिक्रिया