यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि सुदूरपश्चिमाञ्चलले जितेको छ ।
नेपाल फुटसल संघको व्यवस्थापन, निलहिरा समाजको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमाञ्चलले काठमाडौं ‘ए’ लाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेर उपाधि जितेको हो ।
विजयी टिमका लागि दीपक चौधरीले ५, निरङ्क चौधरीले २ र अनिशा धमलाले १ गोल गरेका थिए । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा काठमाडौं ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझायो ।
काठमाडौं ‘बी’ ले पूर्वाञ्चललाई २–० गोलले हरायो । दुवै गोल मनिन्द्रसिंह दनुवारले गरेका हुन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य समेत रहेका नेपाल फुटसल संघका अध्यक्ष देव अधिकारी र निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्रको ५ टिम र काठमाडौंको २ गरी ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया