– श्रीविक्रम भण्डारी
नेपाल तेक्वान्दो संघले आधिकारिक धारणा सार्वजनिक गर्न आज आइतबार पत्रकार सम्मेलन गरेको गरेको छ । सो अवसरमा संघले आफ्नो ऐतिहासिक गौरवको खुलासा गर्दै इण्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा नेपाल तेक्वान्दो संघका खेलाडीले मात्र सहभागिता जनाउने संघका महासचिव दीपराज गुरुङले जानकारी गराएका छन् ।
त्यस्तै महासचिव गुरुङले त्यसको लागि नेपाल तेक्वान्दो संघले आधिकारिक प्रक्रिया पुरा गरिसकेको जानकारी गराएका छन् । सो अवसरमा गुरुङले नेपाल तेक्वान्दो संघको सिफारिस बिना अन्य कुनै खेलका खेलाडीले एसियाडमा सहभागिता गर्न नपाउने खुलासा समेत गरे ।
शत प्रतिसत तेक्वान्दो संघका खेलाडीहरूको मात्र आउँदो एसियाडमा सहभागिता रहने ग्यारेन्टी गर्दै अन्य तेक्वान्दो खेलका खेलाडी जान नपाउने उनले प्रस्ट पारेका छन् । त्यसको लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई ढुक्क भएर प्रशिक्षण गर्न निर्देशन समेत दिएका छन् ।
नेपाल तेक्वान्दो संघका सचिव तथा हालै प्रवक्ताको जिम्मेवारी पाएका चर्चित खेलाडी दीपक विष्टले दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलमा पदक जित्ने सम्भावना बोकेको तेक्वान्दो खेलको विकास र विस्तार दरिलो भएर लाग्नुपर्ने समय आएको बताए । यतिबेला संघलाई योजनाबद्ध तरिकाले तान्ने, धकेल्ने र समाप्त पार्ने षड्यन्त्र सुरु भएको जानकारी गराउँदै यसले राष्ट्रलाई नै हानी हुने उनको भनाई छ ।
त्यस्तै, अन्य तेक्वान्दो संघले पनि एसियाडको लागि खेलाडी छनोट गरि विशेष प्रशिक्षणमा राखेको जानकारी प्राप्त भएकोप्रति आश्चर्य प्रकट गर्दै यस्तो कार्यले तेक्वान्दो खेललाई मात्र नभै देशलाई बदनाम गर्ने र खेलाडीहरु माथि अन्याय हुने प्रवक्ता विष्टले बताए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, विश्व तेक्वान्दो महासंघको नीति अनुरुप एउटा देशमा एक खेलको एउटा मात्रै संघ गठन हुने व्यवस्था भएको चर्चा गर्दै नेपालमा नेपाल तेक्वान्दो संघ एक मात्र आधिकारिक संघ भएको बताए । साथै विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको र साधारण सदस्य रहेको जानकारी गराएका थिए । त्यस्तै प्रवक्ता विष्टले तेक्वान्दो खेलको प्रतियोगिता, नियमको व्याख्या र यसको प्रयोग तथा विश्व तेक्वाान्दोे संघको लोगो र झण्डा प्रयोग गर्ने अधिकार संघमा मात्र निहित भएको जानकारी दिए ।

राष्ट्रिय तेक्वान्दो संघ (नेपाल)प्रति लक्षित गर्दै प्रवक्ता विष्टले केहि सीमित व्यक्तिहरुले तेक्वान्दो संघका विरुद्ध योजनाबद्ध ढंगबाट लागेको खुलासा गर्दै राजनीतिक दलमा नेताहरुलाई गलत सूचना प्रवाह गरेको बताए । जसले आम जनमानस र शुभचिन्तक, अभिभावक र खेलाडीहरुमा अन्योलता सृजना भएको र खेलाडीहरुलाई निरुत्साहित गर्ने कार्य भएको भन्दै उनले आगामी एसियाडमा राष्ट्रलाई उपलब्धिविहीन बनाउन षडयन्त्र भएकोले संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरे ।
यतिबेला राष्ट्रिय खेलकुद परिषदमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ–नेपाल दर्तामा छन् । यहि कुरालाई मध्यनजर गर्दै दुवैै संघलाई परिषदले समान अधिकार र सहयोग प्रदान गर्दै आएको छ । सोहि अनुरुप इण्डोनेसियामा आयोजना हुने एसियाडको लागि परिषदले दुवै संघका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । साथै दुवै संघका खेलाडीहरुको प्रतिस्पर्धावाट एसियाडको लागि अन्तिम छनोंट हुने राखेपका सदस्य सचिव केशवकुमार विष्टले सार्वजनिक रुपमै बताउँदै आएका छन् । सदस्यसचिव विष्टले तेक्वान्दो प्रतिनिधित्व संघले गर्ने होइन्, खेलाडीले गर्ने हो भन्दै आगामी एसियाडको लागि दुवै संघका खेलाडीविच अन्तिम छनोट प्रतियोगिता हुने बताएका छन् ।
तर यो कुराप्रति महासचिव दीपराज गुरुङले अनिविज्ञता प्रकट गर्दै आफुलाई अहिलेसम्म परिषदले आधारिक रुपमा कुनै जानकारी नगरेको बताएका छन् । अन्य तेक्वान्दो संघका खेलाडीहरु पनि बन्द प्रशिक्षण रहेको हालै संचारमाध्यमवाट थाहा पाएको पनि गुरुङले खुलासा गरेका छन् । उनको यो अभिव्यक्तिप्रति संचारकर्मीले जिज्ञासा राख्दा गुरुङले नेपालमा एउटै मात्र नेपाल तेक्वान्दो संघ भएको र त्यहि संघवाट खेलाडीहरुले एसियाडमा प्रतिस्पर्धा गर्ने बताए ।
त्यस्तै तेक्वान्दो संघमा देखिएको विवाद, विखण्डन र पलायनको वारेमा संघका अध्यक्ष प्रकाशशम्शेर राणाले संघको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उनीहरुसंग स्पष्टिकरण सोधिने बताए । यदि चित्त बुझ्दो जवाफ नआए कडा भन्दा कडा कारवाहि गर्ने बताए । तर कारवाहि कस्तो गर्ने त्यो भने राणाले बताएनन् ।
यतिबेला नेपाल तेक्वान्दो संघ छोडेर राष्ट्रिय तेक्वान्दो संघमा जानेहरुको लहर चलेको छ । पछिल्लो साता राखेपका वरिष्ठ प्रशिक्षक मीन थापा, मधुवनलाल सिंह, फिरोज शाक्य, राकेश भोछिभोया र श्रीजन महर्जनको टोली राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गरेका थिए । उनीहरुले नेपाल तेक्वान्दो संघमा ब्यक्ति हावी भएको र दास प्रबृति बढेको आरोप लगाउँदै आफुले संघ छोडेको जानकारी गराएका थिए । साथै राष्ट्रिय तेक्वान्दो संघमै तेक्वान्दो भविष्य देखेको खुलासा गरेका थिए ।
यतिबेला नेपाल तेक्वान्दो संघले आधिकारिक धारणा सार्वजनिक गरेपछि तेक्वान्दो संघको विवादमा ध्यू थप्ने काम भएको छ । अव यो विवादले भविष्यमा कस्तो रुप लिन्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।
प्रतिक्रिया