नेपाल आइस हक्की संघको विशेष वैठकले संघका अध्यक्ष लोकबहादुर शाहीलाई निलम्बन गरेको छ । संघले शाहीलाई निलम्बन गरेको पत्र बैशाख ९ गते आइतबार राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरेको छ । परिषदमाा दर्ता गरेको उक्त पत्रमा संघका महासचिव गणेश रिमालले हस्ताक्षर रहेको छ ।
शाहीले क्यानडालगायत युरोपका विभिन्न राष्ट्रमा मान्छे पठाइदिन्छु भनि केहि व्यक्तिसंग गैरकानुनी रुपमा रकम उठाएको संघले परिषदमा दर्ता गरेको पत्रमा उल्लेख गरेको छ । साथै संघका महासचिव रिमालले परिषदमा दर्ता गरेको पत्रमा प्रहरीले शाहीलाई ठगि काण्डमा फौजदारी अभियोगमा पक्राउ गरेर तीन महिना कारागारमा राखि धरौटीमा छोडेको पनि जानकारी गराएको छ ।
यतिबेला शाहीमाथि ठगी काण्डमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । शाही धरौटीमा छुटेपछि यो विषयमा छलफलका लागि बैठक राख्न पटपटक संघका पदाधिकारीले अनुरोध गरेपनि उनले आलटाल गर्दै आएका थिए । तसर्थ संघको विधानअनुसार फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा चलिरहे व्यक्ति अध्यक्ष पदमा बस्न अयोग्य ठहरिने भएकोले कार्यसमितिको सर्वसम्मतिको विशेष वैठकले शाहीलाई निलम्बन गरेको पत्रमा उल्लेख छ ।
साथै अदालतको अन्तिम निर्णय नआएसम्म शाहीलाई निलम्बन गर्ने र कार्यवाहक अध्यक्षको जिम्मेवारी संघका वरिष्ठ उपाध्यक्ष भुवन पाठकलाई दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया