—त्रिभुवनचन्द्र वाग्ले
एउटा नगरबधूको तिलस्मी चरित्रमा आधारित उपन्यास लेखिएको भए सम्भवतः बजारमा त्यस्तो कृतिको निकै चर्चा–परिचर्चा हुन्थ्यो । त्यसमाथि पनि अलिकति सेलेबल नामधारी लेखक र प्रकाशनबाट प्रकाशित पुस्तक भएको भए त त्यसको झर्कोलाग्दै चर्चा हुन सक्दथ्यो । सञ्चारकर्मीका यस्ता पुस्तकलाई पुरस्कृत गर्दा पुरस्कार स्वयम्ले प्रचारप्रसारको मौका पाउने मनोविज्ञान भएका पुरस्कारदाताहरूले यस्तो बाटर सिष्टमलाई आफ्ना पक्षमा उपयोग गर्न निकै ध्यान दिन्थे । दिएका पनि छन् नेपाली अनुभवमा ।
कृषकहरूको देश, कृषि अर्थतन्त्रको देश नेपाल भएर पनि कृषिको विकास तथा विस्तारमा चिन्तन र चिन्ता गरी तयार गरिएका कृतिहरू ओझेलमा पर्ने रहेछन् भन्ने उदाहरण केही हप्ताअघि नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल लिखित ‘कृषिक्रान्ति र समाजवाद’ पुस्तकलाई नेपाली बौद्धिक तुषारोले छपक्कै ढाकेपछि स्पष्ट भएको छ । कृषकलाई पढ्ने फुर्सद छैन, धेरै कृषकले त पढ्न पनि सक्दैनन् । कृिषका चिन्तनमनन पढेर बौद्धिक ठहरिन सकिँदैन भन्ने मानसिकताको कोपभाजनमा यो पुस्तक परेको हुन सक्दछ । किनभने नेपालमा बुद्धिजीवी ठहरिन विदेशी लेखक, तिनका पुस्तकको नाम, केही शीर्षक र भनाइहरू कण्ठस्थ गर्नुपर्ने सनातनी परम्परा रहिआएको छ । रामचन्द्र पौडेल नेपाली राजनीतिको यति माथिल्लो तहमा पुगेका व्यक्ति हुनुहुन्छ जसले राजनीतिसँगै कृषिका बारेमा दिलचस्पी दिइरहनुभएको छ । यो स्तरका कोही पनि नेताले नेपाली कृषिबारे यसरी पुस्तक नलेखिएकाले पनि पौडेललाई कृषि चिन्तनका एक्लो वृहस्पति भन्नुपर्ने भएको छ । साँचै भन्ने हो भने नेपालको राजनीतिलाई कृषिसँग टाइअप गर्नुपर्ने मान्यतालाई पौडेलले सो पुस्तकमा पुनः दोह-याउनुभएको छ, ‘कृषिबाट पलायन भएको मनलाई सेवा र सुविधा पु-याएर पुनः कृषिमै स्थापित गर्न म राजनीतिमा लागेको हुँ ।’ यो भनाइ पौडेलको कृषि क्रन्दनमात्र होइन, उहाँको चुनावी नारा पनि हो भन्ने जान्नेले पौडेललाई दुईवटा पाटाबाट चिन्न सक्दछ– एउटा पाटो कृषि र अर्को पाटो राजनेता ।
राष्ट्रपति डा. रामवरण यादवले विमोचन गर्नुभएको सो पुस्तकबारे उल्लेख गर्दै लेखक पौडेलले भन्नुभएको थियो– पुस्तकलाई कुनै ठूलो चिन्तनसँग जोड्नु आवश्यक छैन, यो चिन्तन होइन, केवल कृषिबारे गरिएको चिन्ता मात्र हो । उहाँको यस्तो दाबीलाई पुस्तकका सामग्रीले पुनर्पुष्टि गरेका छन्–दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच अवस्थित नेपालले उद्योगधन्दा, व्यवसाय वा व्यापार प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उससँग कृषिको उत्पादन र त्यसको क्रान्तिमार्फत अर्थतन्त्र सुदृढ गर्नुको विकल्प छैन ।
पुस्तकमा पौडेलले नेपाली कृषिलाई औद्यागिकीकरण र जीवन निर्वाहका रूपमा अघिबढाउन सकिने र त्यो गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । यसका लागि राष्ट्रिय र सामुदायिक प्रयोग गर्नुपर्ने भन्दै उहाँले आधुनिकीरण गरिएको तर मौलिक नेपाली कृषि प्रणालीको पक्षपोषण गर्नुभएको छ । पुस्तकमार्फत उहाँ युरोप वा इजराइलमा भएका कृषि विकासबाट ज्यादै प्रभावित हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ । तर, त्यहाँको नक्कल गरेरभन्दा नेपालमा विद्यमान कृषिज्ञान र प्रविधिलाई आधुनिकीकरण गरेर विदेशिएका युवापुस्ताको अनुभव र जाँगर कृषिमा आबद्ध गर्नुपर्दछ भन्नुहुन्छ । यसो गरेर नेपाली श्रमशक्तिलाई नेपालमै रोजगारी/स्वरोजगारी दिन सकिन्छ भन्ने मान्यता राख्नुहुने उहाँ पुस्तकभरि कृषिको अवस्था र कल्पनामा चिन्तित देखिनुहुन्छ । नेपाली कृषिको विकासका लागि उहाँले धेरै ठूला महत्वकाङ्क्षा राख्नुभएको छैन, केवल यति भन्नुभएको छ कि, कृषि नै नेपालको अन्तिम विकल्प हो ।
पुस्तकमा कृषि विकासको कोरा कल्पना गरिएको छैन, त्यसलाई सम्भाव्य बनाउन गर्नुपर्ने यातायात र सञ्चारको विकासलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ । उहाँले उत्पादन मात्र होइन वितरण र उपभोक्ताको खाद्य स्वभाव (फुड ह्याबिट)का पक्षमा पनि ध्यान दिनुभएको छ । पछिल्लोपटक नेपालमा कृषिको उत्पादनभन्दा त्यसको वितरण पो समस्या हो कि भन्ने पनि देखिएको छ । यस्ता पक्षमा पौडेलको पुस्तकले व्यापक चिन्तन गरेको छ । मूलतः पुस्तकले कृषिनीति, बेरोजगार नेपाली कृषि वैज्ञानिक, कृषि जनशक्ति, भूउपयोग, राज्यले लिनुपर्ने नीति र कृषिमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेमा सुनिश्चित गराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कृषिलाई दोहोरो बाटोबाट विकास गर्नुपर्ने भन्दै पहिलोमा विगतको तुलनामा आधुनिक प्रणाली अपनाई सामूहिक/सामुदायिक प्रयासबाट कृषि उत्पादन गर्ने जसले मुलुकको आर्थिक विकास र स्वरोजगारी वृद्धि गर्नेछ । यस्तो उद्देश्य प्राप्त गर्न राज्यले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्दछ भन्नुहुने पौडेलले यतिले मात्र कृषि क्रान्ति नहुने भन्दै क्रान्तिका लागि राष्ट्रियस्तरमा सामूहिक खेती र भूउपयोग नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कृषिमा अत्यन्त आशावादी पौडेलले प्रत्येक नेपालीमा कृषि संस्कृति स्थापित गराउन यो पेसामा गर्व गर्नसक्ने वातावरण बनाउनुपर्ने पुस्तकमार्फत जोड दिनुभएको छ । उहाँले एउटा चिकित्सक आफ्नो निजी क्लिनिक चलाएर काम गर्दा गर्व गर्छ तर किन एउटा कृषि वैज्ञानिकले कृषिलाई पेसा बनाउन चाहँदैन भन्ने प्रश्नको सेरोफेरोमा नेपालको कृषिका समस्यालाई बुझ्ने–बुझाउने प्रयास गर्नुभएको छ । पशु व्यवसायको विकासका लागि उत्पादन गरिएका भेटेरेनरी चिकित्सकहरू गाउँ नगएर सहरमा क्यानल क्बलमार्फत कुकुरको सेवा गर्न सीमित भएकाप्रति पौडेल चिन्तित रहेको पुस्तक पढेपछि स्पष्ट हुन्छ ।
पुस्तकमा कृषिका लागि स्वदेशी र विदेशी अनुभव तथा दृष्टिकोण प्रस्तुत गर्न उहाँले जे–जस्ता तथ्याङ्क र जानकारीहरू उल्लेख गर्नुभएको छ त्यसले नेपालको कृषिले मुलुकको कुल अर्थतन्त्रमा पु-याएको योगदान, यसमाथि राज्यले गरेको लगानी र अपेक्षाबारे स्पष्ट हुन सकिन्छ । नेपाली काङ्ग्रेसभित्र समाजवादी विचारलाई व्यवहारमा उतार्ने प्रयोगवादी चिन्तकका रूपमा पौडेलले यो पुस्तकमात्र प्रकाशन गर्नुभएको होइन, उहाँले आफूलाई सदैव कृषक, कृषि र यसका सवालमा केन्द्रित गर्दै आउनुभएको पनि छ ।
प्रतिक्रिया