—मुक्तिनाथ भुसाल
पुग्नलाई कठिन महसुस भए पनि पुगिसकेपछि स्वर्गीय अनुभूति हुने स्थान अनेक हुन सक्छन्, त्यस्तैमध्येको एउटा हो– बाग्लुङ जिल्लाको बोबाङ गाविसमा अवस्थित ढोरपाटन । वर्तमान परिवेशमा बाग्लुङ जिल्लाको बुर्तिवाङ बजारबाट एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । अग्ला–अग्ला पहाड, समथर मिलेका खेत अनि नजिकै देखिने हिमालको अलावा सिकार आरक्षक यो स्थानका आकर्षक विषय हुन् । सामुद्रिक सतहदेखि आठ हजार पाँच सय फिट उचाइमा रहेको ढोरपाटन सिकार आरक्षको स्थापना ०३९ सालमा भए पनि ०४४ साल वैशाख १४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको हो । यसको क्षेत्रफल १३२५ वर्गकिलोमिटर फैलिएको छ । जसमध्ये ६० प्रतिशत भूभाग स्कुममा, १४ प्रतिशत भूभाग म्याग्दीमा र २६ प्रतिशत भूभाग बाग्लुङ जिल्लामा पर्दछ र तीनवटै जिल्लाको करिब दुई हजार मिटरदेखि ७ हजार दुई सय ६४ मिटरसम्मको उचाइमा आरक्षक फैलिएको छ ।
आरक्षकको करिब २६.३८ वर्गकिलोमिटर अर्थात दुई प्रतिशत भूभागमा कृषि एवम् बसोबास क्षेत्र रहेका छन् । विश्वकर्मा, मगर, नौथर, छन्त्याल र तिब्बती जातिहरू यहाँ बसोबास गर्दै आएका छन् । आरक्षकको एकतिहाइ भूभागमा हिमाली चरन क्षेत्र/खर्कले ढाकेको छ । त्यसैगरी वन र चट्टानले ढाकेको भूभाग एकतिहाइ रहेको स्थानमा बसोबास गर्ने बासिन्दाहरू हिउँदमा तल्लो भागमा बसाइँ सरी आलुखेती गर्छन् । दुर्गम भौगोलिक क्षेत्र भएको कारण साक्षरता न्यून रहेको यो स्थानमा सामाजिक पछौटेपनका कारण जनसङ्ख्या वृद्धिदर उच्च र गरिबी बढ्दै गएको कारण आलु खेती र बस्ती विस्तार तीव्र रूपमा पाउन सकिन्छ ।
आरक्ष क्षेत्रभित्र बोबाङ, अधिकारीचौर, निसी, तकसरा, रन्मामैकोट र हुकाम गाविस गरी ४७ वटा बस्तीमा २८३७ घरधुरी बसोबास गर्छन् । ढोरपाटन सिकार आरक्ष सिकारी पर्यटकहरूका लागि नेपालको एक मात्र गन्तव्यस्थल हो । मुख्यतया नाउर र झारलको कानुनी सिकार गर्न विश्वबाट सिकारी पर्यटकहरू यहाँ आउने गर्दछन् । यो आरक्षणमा सिकार गर्न जाने पर्यटकले विभागबाट लाइसेन्स लिई वन्यजन्तु संरक्षण समिति ढोरपाटनसँग सम्झौता गरी सिकार खेल्छन् । यसरी सम्झौता गर्ने क्रममा एउटा नाउर मारेबापत एक लाख र झारल मारेबापत ५० हजार उनीहरूले तिर्छन् ।
गएको आर्थिक वर्ष ०६६/६७ साल असोज, कात्तिक, चैत, वैशाखमा अमेकिाबाट १३ जना, अस्ट्रेलियाबाट तीनण्जना, रसियावाट दुईजना, फ्रान्सबाट दुईजना बुल्गेरियनबाट एकजना, स्पेनबाट एकजना र बेल्जियमबाट एकजना गरी जम्मा २४ जना सिकारी पर्यटकले कानुनी सिकार गरेका थिए । यसरी सिकार खेल्न आउने सिकारी पर्यटकको लागि सुनदह, सेङ, दोगाडी, घस्तुङ, बासै, फागुने, सुर्तिवाङ गरी सातवटा ब्लक राखिएको छ । जसलाई सिकार मार्न तोकिएको क्षेत्र भनेर बुझ्न सकिन्छ ।
नाउर, झारल, ब्वाँसो, थार, घोरल, रतुवा, बँदेल, स्याल, कस्तुरी, फ्याउरो, चरीबाघ, रातोपान्डा, डाँफे, कालिज, फोक्रासलगायतका थुप्रै जनावर यो आरक्षकमा पाउन सकिन्छ । आरक्षकको अधिकांश क्षेत्र घना बन तथा चाक्ला खर्कहरूले ढाकेको हँदा नेपालका अन्य उच्च पहाडी क्षेत्रका संरक्षित क्षेत्रहरूको तुलनामा यहाँ वन्यजन्तुको घनत्व बढिरहेको पाइएको छ । आरक्षकको वन क्षेत्रमा कालिजको वासस्थानको लागि विश्व प्रसिद्ध रहेको छ भने डाँफे र हाब्राको सङ्ख्या अन्यत्रभन्दा बढी सङ्ख्यामा रहेको अनुमान गरिएको छ । त्यसैगरी सल्ला र खस्रु वनमा चिर कालिजका १००–२०० वटा प्रजनन् समूह फेला परिरहेका छन् । जुन विश्वमै बढी सङ्ख्यामा रहेका प्रजनन् समूहहरूमध्ये एकमा पर्दछन् । त्यस्तै मैकोटको खर्क नेपालमै उत्कृष्ट यार्सागुम्बा उत्पादन हुने क्षेत्र र गुर्जाखानी क्षेत्र भिरमौरी मह उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।
आरक्ष व्यवस्थापनका लागि हेड अफिस ढोरपाटनमा र शाखा अफिसहरू स्कुमको मैकुट–तकसेरा, बाग्लुङको निसेलढोर र म्याग्दीमा गुर्जाघाट–गुर्जाखानीमा रहेका छन् । ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगंगा, रुद्रताल, मैकुट अनि सुनदह त्यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । नेपाल सरकारले ढोरपाटन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा सूचीकृत गरिसकेको छ । रूपन्देहीको सालझन्डी चोकदेखि ढोरपाटनसम्म एउटै गाडीमा बसी स्वदेशी र विदेशी पाहुनाहरू उक्त क्षेत्रमा भित्याउने मनसायका साथ करिब १८० किलोमिटर सडकमा ट्रयाक खोली बाटो पिचका लागि राष्ट्रिय योजना आयोगमा परेको उक्त सडकखण्डमा गएको आर्थिक वर्ष २०६७/०६८ मा तीन करोड र ०६८/६९ मा १० करोड ८३ लाख र ०६९ र ०७० मा आठ करोड ८२ लाख ५० हजार बजेटमा सालझन्डी ढोरपाटन सडकमा काम भइरहेको र अबको एक वर्षभित्र सालझन्डीबाट ढोरपाटन एउटै गाडीमा पुग्न सकिने कुरा सालझन्डी–ढोरपाटन सडक कार्यालयका प्रमुख बेलबहादुर भुजेल बताउँछन् । रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान जिल्लालाई प्रभावित पार्दै बाग्लुङको रमणीय स्थान भनौँ स्वर्गको टापु जस्तै यो ढोरपाटनमा अहिले घडेरी खरिद–बिक्री हुने कामले पनि तीव्रता लिएको छ । रु. एक लाखदेखि सोह्र लाख रोपनीसम्ममा जमिनको कारोबार भएको स्थानीय तुलबहादुरले घटना र विचारलाई जानकारी गराएका छन् ।
नेपालको हिमाली क्षेत्रमा अवस्थित निकुञ्ज एवम् संरक्षण क्षेत्रको सुरक्षा नेपाली सेना र स्थानीय बासिन्दाको सहभागितामा गरिएको भनिए पनि ढोरपाटन सिकार आरक्ष सुरक्षाका लागि उपयुक्त उपायहरू अवलम्बन गरिएको छैन । जसले गर्दा व्यवस्थापनसम्बन्धी चुनौतीहरू बढ्दै गएका छन् । आरक्ष व्यवस्थापनका मुख्य चुनौतीमा हेडअफिसका जिम्मेवार कर्मचारीहरू दुर्गमका कारण नियमित रूपमा कार्यलयमा बस्न मन नपराउनु र राज्यको नियमित निगरानी हुन नसक्नु, वन एवम् खर्क क्षेत्र अतिक्रमण, वन पैदावारको बढ्दो माग, डढेलो चोरी सिकार अव्यवस्थित चरिचरन र कानुनी सिकारलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नेसम्बन्धी अध्ययन–अनुसन्धानको कमी रहेका छन् ।
ढोरपाटनमा बोबाङ र बुकीका बासिन्दा दुई तहमा बसोबास गर्छन् । अनुमानित पाँच सय घरधुरी बसोवास गर्ने उक्त स्थानमा ठण्डीको समयमा हिउँ पर्ने कारण बसाइँसरी बोबाङ र बुकीतर्फ लाग्छन् । प्रमुख आम्दानीको स्रोत आलु भएको कारण आफूले उत्पादन गरेको आलु खच्चरको माध्यमद्वारा बुर्तिबाङ लगी आफूलाई आवश्यक समान खरिद गर्छन् । ढोरपाटनवासीले आलुखेतीको अलावा पशुपालनअन्तर्गत गाई, भैंसी, भेडा, बाख्राबाट आ–आफ्नो जीविकोपार्जन गर्दै आइरहेका छन् ।
५० प्रतिशत दलित र ५० प्रतिशत जनजातिको बाहुल्य रहेको ढोरपाटनमा खानेपानी, बिजुली, मोटरबाटोलगायत शिक्षामा विकट मानिन्छ । खानेपानी र शिक्षाको कमी भएको कारण लागूपदार्थ सेवन गर्नेहरूको बाहुल्य भएको बोबाङ गाविसमा हालसम्म गाविस भवन निर्माण हुन नसकेको कारण सम्पूर्ण कागजात ब्यागमा बोकी हिँड्नुपरेको पीडा गाविससचिव लोकबहादुर कुँवर बताउँछन् ।
बुर्तिबाङ बजारबाट सुप्राङसम्म कच्ची मोटरबाटो पुगिसकेको र गत वर्षमा फलियाघरसम्म मोटरबाटो पु-याउन गाविसले १५ लाख बजेट छुट्याएको कुरा गाविससचिवबाट थप जानकारी भए पनि उक्त बजेट पर्याप्त नभएको गाविससचिव गुनासो गर्छन् । यदि फलियासम्म मोटरबाटो पुग्यो भने चार घन्टा मात्र पैदलयात्रामा ढोरपाटन पुग्न सकिन्छ । अग्ला–अग्ला पहाडको माझमा रहेको समथर खेत अर्थात् ढोरपाटनदेखि म्याग्दी हुँदै ढोल्पा जान उत्तम मानिन्छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि ठीक पाँच सय ५० रोपनी जमिनमा करिब ५० लाख बजेटमा पाँच सय ५१ वटा पिल्लर र काँडेतार लगाउँदै एयरपोर्ट निर्माणकार्यलाई अगाडि बढाइएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि साम्ने निर्माणाधीन एयरपोर्ट दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ तिब्वतीयन शरणार्थी बसोबास गर्दै आइरहेका छन् । ठीक ३५ घरधुरी बसोबास गर्दै आएका तिब्वतीयन शरणार्थीको प्रमुख आम्दानीको स्रोत आलु खेती र घोडा व्यवसाय भएको तोसी लामाबाट बुझिएको छ ।
प्रतिक्रिया