तेक्वान्दो संघद्वारा खेलकुदमन्त्रीलाई बधाई

तेक्वान्दो संघद्वारा खेलकुदमन्त्रीलाई बधाई


नेपाल तेक्वान्दो संघले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई स्वागत तथा बधाइ दिएको छ । संघले मन्त्री विश्वकर्मालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको बहुउद्देश्यीय भवनमा स्वागत गर्दै बधाइ ज्ञापन गरेको हो ।

संघका अध्यक्ष प्रकास शम्सेर राणा, उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भोजबहादुर शाह र भानुु चन्द लगायतले खेलकुद मन्त्री विश्वकर्मालाई फुलमाला लगाई स्वागत तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष राणाले मन्त्री विश्वकर्माको कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा खेलकुद क्षेत्रले ठूलो परिवर्तनको आशा लिएको बताए ।

सो अवसरमा तेक्वान्दो संघले अन्तर्राष्ट्रिय पदक जित्ने ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । संघले अन्तर्राष्ट्रिय खेलमा कांस्य पदक विजेता निमा गुरुङ, सुमित्रा खत्री, अस्मिता खड्का र २ फरक अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा २ कांस्य विजेता रञ्जना धामीलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

मन्त्री विश्वकर्मा र संघका अध्यक्ष राणाले चारै खेलाडीलाई नगदसहित सम्मानपत्र प्रदान गरे । चारै खेलाडीलाई नगद ५ हजारद्वारा सम्मान गरिएको थियो । रञ्जनाले भने २ खेलमा गरी नगद १० हजार प्राप्त गरिन् ।

स्वागत तथा बधाइ कार्यक्रममा तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, ओलम्पियद्वय संगिना बैद्य र दीपक विष्टलगायत राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीको उपस्थिती रहेको थियो ।